'यहाँ सुन्नु त! हजुरकी बहिनीलाई यो पटकको दसैंमा केही दिन बस्ने गरी काठमाडौं नै बोलाऔं है! आखिर बिचरीको को नै छ गाउँमा! एउटा भएको छोरो पनि फर्किएर आउँदैनन् रे। तँपाईका बाआमा बाँचुन्जेल प्राण नै छोरीमा थियो। आज हामीबाहेक अरू को नै छ र बिचरीको!'
रमाको कुरा सुनेर उमेश पनि एकछिन तीनछक खायो।
फेरि केही सोचेको जसरी मनमनै गम्न लाग्यो – ए मेरा बा! आज भुइँचालो नै आउँछ कि क्या हो! यसको छद्म रूपले मलाई पागल नै बनाइसक्यो। घरपट्टीका नातेदारको नाम सुन्नेबितिकै उनीहरूको पसिना पनि तीन कोशबाटै गनाउँछ यो आइमाईलाई। आज फेरि यसको मगजमा के नयाँ योजना फुरेको छ? हे भोलेनाथ! के के सोचेकी छ यसले? मेरी बहिनीलाई माया गरेर त पक्कै बोलाउन लागेकी होइन!
उमालाई किन बोलाउने? के भयो? भनेर सोध्यो भने उखपातै गर्छे? यतिका वर्ष मेरी बहिनीको नाम लिनेबित्तिकै ज्वरो आउने मान्छेले, आज मेरी बहिनीलाई दसैंको पन्ध्र दिनअगाडि नै बस्ने गरी बोलाउँदै छे। पक्कै यसको योजना ठूलै छ। तुईँत खाएर रेसम हगाउनले कला त यो आइमाईबाट कसैले सिकोस्!
'के भयो कता एकोहोरो भएर टोलाउनुभएको? हेर्नु त, उमाको नम्बर मेरो मोबाइलमा छैन। हजुरसँग छ कि? एकचोटि फोन गर्नु त उमालाई।'
स्वास्नीका कुरा सुनेर निकै गम्भीर हुँदै उमेश बोल्दै गयो, 'कुन मुखले गर्नु उमालाई फोन? बाआमा बितेको पाँच वर्ष भएछ। उमासँग भेट नभएको पनि वर्षौं भयो। ज्वाइँसम्म नभएका। छोराले छोडेर हिँडेको एक्ली बहिनीलाई मैले कहिले कुन चाडबाडमा सम्झेर बोलाएँ? कुर्कुच्चा फुटेकी मेरी बहिनी मार्बल ठोकेको उसैको बाउको घरमा भित्र र बाहिर गर्दा तिम्रो पनि इज्जत जाने। बहिनीलाई अलिकति माया गर्दा तिमीलाई प्रेसर बढ्ने। आजसम्म कहिले हालखबर पनि नसोध्ने म जस्तो दाजुले आज अचानक फोन गर्दा के सोच्ली?'
रमा च्याठ्ठिँदै बोली, 'उमाको त्यति सोच्ने गिदी पनि हुनुपर्यो नि! एक छाक मीठो खान र मेरा जडौरी लुगा दुई-चार जोर दिए मख्ख परेर जान्छिन्। अझ काठमाडौं घुमाइदिनुपर्छ, बतासमै उड्छिन्। एक जोर नयाँ लुगा पनि किनिदिनुपर्ला। हजुरकी बहिनी हाँस्याहाँसै गर्छिन्। मेरो घरमा आउँदा गाँसैपछि कति मीठो मेरी भाउजूले पकाएको भनेर थालै दुलो पर्ने गरी चाटीचाटी खान्छिन्। बरा पेटभरि मीठोमसिनो खान पाएकी भए पो!'
कुटिल हाँसो रमाको अनुहारमा मडारियो।
रमाले आफ्नी बहिनीलाई हेपेर बोलेको सुनेर उमेशको मन चसक्क भयो। मन चसक्क के पार्नु, समयमा व्यवहार मिलाउन नजान्नेले। मन दुखे पनि न्यायका लागि उमेशका ओठ रमाको अगाडि कहिल्यै खुल्न सक्थेनन्।
रमाको व्यवहारले उमेश मनमनै बोल्न चाहिँ निकै सिपालु भएको थियो, आज पनि मनमनै बोल्न थाल्यो – यही घरमा जन्मिएर हुर्किएकी छोरी हो उमा। आज तेरै अगाडि खान नपाएकी, लाउन नजानेकी, केही नदेखेकी भई। रमा तैंले बुझ्नुपर्ने हो उमाको पीडा। यो रामराज्यको जग उमाकै बाआमाले निर्माण गरिदिएको हो। आज तँ देखेकी, खान पाएकी भइस्। त्यो पढ्न नसकेकी मेरी सोझी बहिनीलाई कति खेदो गर्छेस्!
उमेशका आँखा जलमग्न भए।
'खोइ खोज्नुभयो उमाको नम्बर?,' रमा अझ च्याँठ्ठिएर आई।
उमेशले पनि बहिनीको नम्बर 'सेभ' गरेर राखेको रहेनछ। गाउँमा बसेकी साधारण गाउँले बहिनीसँग कसैलाई केही सरोकार थिएन। उमेश पनि स्वास्नीको कुरामा रूमलिन विवश थियो। उमा नभए पनि उमेशलाई केही फरक पर्दैन थियो। तर रमा नभए त उमेशको जिन्दगी नै चौपट हुने देखेर उमेश गान्धारी बन्दै गएको निकै वर्ष भएको थियो।
तर पनि बहिनीको माया त हृदयमा कताकता लुकेर बसेको रहेछ। उमेशले हतार हतार पुरानो डायरीबाट उमाको फोन नम्बर खोज्न थाल्यो। धन्न डायरीमा भए पनि बहिनीको नम्बर चाहिँ रहेछ।
उमेश खुसी, हाँसो र पीडा लुकाएर रमाको अगाडि बोल्दै थियो, 'तिमी नै फोन गर न उमालाई। ऊ दंग पर्छे। भाउजूले बोलाएको भनेर गाउँभरि भन्दै हिँड्छे। गाउँलेका अगाडि तिम्रो प्रशंसा गर्छे। तिमी नै फोन गर है।'
नौनी जस्तै बोलीमा रमाको अगाडि उमेश पोखियो।
मनभरि रमाका गलत व्यवहारको बिरोध गरे पनि रमाको अगाडि उमेशको हालत बिनको धुनमा लठ्ठिएको सर्प जस्तै हुन्थ्यो। उमेशलाई रमाको बानीदेखि घृणा थियो। तर पनि रमाको चित्त दुखाउन कुनै हालतमा चाहँदैन थियो।
रमा ज्वालामुखी थिई। कुन कुरामा विष्फोट हुन्थी, उमेशले पत्तै पाउँदैन थियो। असत्य कुरा पनि रमाले बोलेपछि उमेशले सत्य नै हो भन्नै पर्थ्यो। नत्र घरमा बसी साध्य हुँदैन थियो।
फोन एक घन्टीमै उमाले उठाई।
'हेल्लो! को बोलेको?' उमाको आवाज भारी थियो।
रमा भिडिओ कलमै बोलेको जसरी कपाल मिलाउँदै, ओठ चम्काउँदै बोल्दै गई, 'उमा मैयाँ! म क्या, भाउजू बोल्दैछु। चिनिसिएन? मैयाँ, भोलिको नाइटबस चढेर तुरून्त काठमाडौं आउनू है! कति वर्ष भयो दसैंमा हामीसँगै नबसेको। योपालि सँगै बसेर दसैं मनाउनुपर्छ। दाजुले पनि भन्दै हुनुहुन्थ्यो उमालाई जमरा राख्न काठमाडौं नै बोलाउनु भनेर। भोलिको नाइट चढनू। ल पक्का भयो है त!'
भाउजूसँग फोनमा कुरा गरेपछि वर्षौंदेखि हराएको खुसी अचानक फर्कियो उमाको मुहारमा।
दाजुले जमरा राख्नै काठमाडौं बोलाएको खबर पाएपछि उमाको खुसी छताछुल्ल पोखिएको थियो गाउँभरि। सम्पूर्ण शरीरमा बालापन फर्किएको थियो। वसन्तका अनगिन्ती मुजुरा पलाएझैं उमाका आँखामा पनि खुसीका मुजुराहरू मुस्कुराएका थिए।
एक कलमा दाजु र भाउजूका तमाम अपमान बिर्सिएर उमा उमंगमा रमाउन थालिहाली।
माइती भनेको आखिर माइती नै रहेछ। भाउजूले बारम्बार अपमान गरेको कुरा भुसुक्कै बिर्सिएर पाइलाहरू काठमाडौंतिर उडेका थिए उमाका। भाउजूले आफूले लगाएका पुराना लुगा नयाँ हो भनेर दिएको यादै भएन। माइत जाँदा भान्सा कोठामा ताल्चा लगाएको, छोराछोरीले नखाएका खाना खुसुक्क उमाको भागमा हाल्देको सबै कुरा हिउँ पग्लिएर माटोमा मिलेको जसरी उमाको हृदयबाट एकैछिनमा बिलुप भए।
वर्षौंपछि उमाको बोलीमा खुसीको लहर उठेको थियो। उमाका गोडामा चरीका पखेटा गाँसिएका थिए। दाजुले जमरा राख्न काठमाडौं नै आइपुग्नु भन्नुभएको छ भनेर सारा गाउँलेहरूलाई सुनाउँदै हिँड्न थाली।
यता दाजुको भने स्वास्नीका डरले वाक्य फुट्दैन थियो। रमा उमेशभन्दा प्रतिष्ठित संस्थामा काम गर्थी। महल जस्तो घर बालुवाटरमा गजधम्म उभिएको थियो। घरमा बस्ने प्राणी रमा र उमेश मात्र थिए। छोराछोरी दुवै नैनिताल राखेर पढाएको।
रमाको नजिकैको नातेदार भनेको दुइटा घोर्ले कुकुर मात्र थिए घरमा। रमाको आम्दानी उमेशको भन्दा चौगुणा बढी थियो। त्यसैले घमण्डले बेलुन भएकी थिई रमा। पद, प्रतिष्ठा र मानसम्मानको भारीले रमाको मानवीय गुणहरूमा खिया लाग्दै थिए।
रमाको कमाइको दास उमेश पहिलेदेखि नै भएको कुरा सबैलाई थाहै थियो। बाआमा र दाजु सम्झिएर उमा माइत आउँदा सधैं रमाको मुहारमा बाह्र बज्थ्यो। गाउँले नन्दलाई रमाले किन देख्न सक्थी र! सासूससुरा हुँदासम्म उमा माइत आउँदा घरमा महाभारत मच्चाउन कहिल्यै छोड्दिन थिई रमा। नन्दको नाममा त्यही एउटी उमालाई पनि रमा फुटेको आँखाले सहन्न थिई।
उमा उत्साहको ठूलो पोको बोकेर बालुवाटारको बाआमाले बनाएको घरभित्र छिरी। आफ्नै गाडी लिएर धन्न दाजु बसपार्क पुगेको थियो उमालाई लिन। रमाको मिटिङ भएकाले बिहानै घरबाट हिँडिसकेकी थिई। दाजु पनि केही बेरमा हिँड्ने तरखर गर्दै थियो।
उमालाई भान्साकोठामा राखेको सहयोगीको खाटमा आराम गर्दै गर् भनेर दाजु भान्सामा खानेकुरा नियाल्न थाल्यो। भान्सामा पाउरोटी मात्र रहेछ।
जाम र पाउरोटी लिएर उमेश उमा बसेको खाटमा आएर स्पष्टीकरण दिन थाल्यो, 'हेर् नानी, भाउजू भरे आउँछे। पाउरोटी र जाम खा। रातभरि गाडीमा आएकी, थकाई लागेको होला, मज्जाले सुत्नू। बाहिर कुकुर खुल्ला छ। बाहिरतिर नजानू। एक-दुई दिनमा तँसँग पनि कुकुरहरू झ्याम्मिन्छन् अनि मात्र निस्किनू। लु, अहिले म पनि जान्छु। ढोका बाहिरबाट लगाएर जान्छु। भाउजूसँग पनि साँचो छ। तँ सुत्।'
उमालाई फिटिक्क निद्रा परेन। कुकुरको आवाजले उमाको सातो लियो। दिउँसो दिक्क लागेर घर घुम्न खोजी। सम्पूर्ण कोठामा ताल्चा मारेको देखेर फेरि मन कुटुक्क पारी। फ्रिज खोल्न खोजी। त्यहाँ पनि ताल्चै लगाएको रहेछ। एक्लै भएपछि उमालाई निकै छट्पटी हुँदै गयो। चिया खाने तलतल पनि लाग्यो। ग्यास खोल्न जानिन। अतीतको दाइँमा मनको पराल दिनभरि माडिरही।
गेट बजेको आवाज झम्के साँझमा उमाको कानमा आयो। खुसीले झ्यालबाट पुलुक्क हेरी। दाजुभाउजू बोल्दै आएका थिए। पार्टी र खानाको कुरा गर्दै थिए।
दाजुभाउजूले रातीको खाना बाहिरैबाट खाएर आएकाले कुरा बुझ्न उमालाई समय लागेन। उमाको पेटमा भोकले लाप्पा खेल्दै थियो। तातो दालभात र पिरो अचार, तरकारी सम्झिएर उमाको जिब्रोले तुरूक्क पानी छोड्यो।
निकै थाकेको हाउभाउ गर्दै भाउजू साखुल्य पल्टेर बोली, 'नानी, दूध र कर्नफ्लेक्स खानू है। हेर्नु त नन्द आउने भनेर मीठोमीठो तरकारी ल्याएर फ्रिजमा राखेकी थिएँ। आज अफिसका साथीहरूले दसैं पार्टी खाने भने। दाजुलाई पनि उतै बोलाए। हेर्नु न, मेरो त टाउको फुट्ला जस्तो भएको छ। तपाईंलाई आजै भान्साको मेलोमेसो छैन। नत्र पकाएर खानू भन्ने थिएँ। भोलिबाट जम्मै सिकाउँछु। आज जे छ, त्यही खानू है! आखिर जे खाए पनि पेटै त भर्नु हो नि! होइन र नानी?'
उमालाई गुलियो फिटिकै खान मन थिएन। गाडीले मुखै तम्तम्याइँदो भएको थियो। तर भाउजूको अगाडि हुन्छ भन्न विवश भई।
उमाको कोठा भान्सा नै भयो। सहयोगी वीरे सुत्ने खाट नै उमाको खाट भयो। वीरे दसैं भएर गाउँ गएको थियो। रातभरि पनि उमाको मनको मदानी घुमिरह्यो।
बिहान भाउजू निकै मीठो बोलीमा प्रस्तुत भई, 'नानी हेर्नु त, तपाईंलाई ल्याइदिएको दसैंको लुगा। कस्तो छ? राम्रो लाग्यो?'
उमाले लुगा नियालेर हेरी। भाउजूको बानी पुरानै भएको कुरा उमाले स्पष्ट बुझी। जमरा राख्ने दिनदेखि भाउजूले नै बोलाएको कुरा पनि उमाले राम्रोसँग बुझ्दै गई। हेर्दाहेर्दै उमाले कुकुरको गुहु सोहोर्ने, कुकुर रूङ्ने, कुकुर डुलाउने काम पाई।दाजुभाउजू पढेलेखेका, ठूलै 'सर्कल'। हरेक दिन पार्टी। हरेक दिन भोज। माइत। मावल। समूह। साथीभाइ। भ्याइनभ्याइ थियो।
'नानी, दसैंपछि तपाईंलाई म मज्जाले काठमाडौं घुमाइदिन्छु। वीरे तिहारपछि मात्र आउँछ रे। पाँच वर्षमा घर गएको विचरा। दसैंका बेला घरमा ताल्चा लगाएर हिँड्दा चोरी हुन्छ काठमाडौंमा। के गर्नु! मेरी नन्दलाई के खान मन छ, म भोलि पकाएर खुवाउँछु। तर आज पनि हाम्रो गेट-टुगेदर छ। हिजोकै भात, तरकारी र दाल छ, तताएर खानू है। मेरी नन्द कति स्मार्ट! कति चाँडै सबै सुविधाका सामान चलाउन आइसक्यो। यस्ता कुकुरलाई त कति मज्जाले हेर्नुभएको छ।'
उमाले सबै कुरा बुझेर पनि चुपचाप सुन्दै गई। कुकुर हेर्दै गई। सहरको नातालाई जोख्दै गई।