प्रतीक्षाको सप्को समातेर
बसिरहन्छ दिन
पटक्कै हिँड्दैन
हलक्क बाँस झैं बढेर
महिनौं लामो भएको छ एउटै रात
...
यसपालि पनि तिमी नआउने खबर सुनेदेखि
वेचैन छ हृदयपटल
आफूभित्र तिमीलाई सजाएर
एक निमेष झल्को मेट्न नपाउने कल्पेर
वर्षाइरहेछ अधरले साउने झरी
...
रौरव छ मनको आँगन
एकलास लाग्छ चहलपहल
कोइलीले गाउँदैन प्रितीको गीत
न्याउलीको चित्कारले रञ्जित छ अचेल मनमन्दिर
...
यादहरूले पगाल्न छाडेका छन्
तिम्रो अभावको हिउँद
सम्झनाको सिरेटोले हिर्काइरहन्छ हरसमय
तिमीले छाडेको ऊनीको स्वेटरले
दिन छाडेको छ न्यानो आभास
...
तिमीलाई पोल्ने गर्मीलाई छेक्न
गगनभरि ओच्छ्याएको मेरो निलो आँचल
फाटेर धुजाधुजा भएको छ
आँगनभरि खुश्बु बोकेर उभिएका फूलहरू
तिम्रा लागि सुवासिन नपाएर हताश छन्
बतासमा मिसिएको मेरो मायाको सुवास
पर्खाइको ऐंठनले फिक्का हुँदै गएको छ
...
तिमीलाई मसम्म ल्याइदिन
तम्सिएका बादलहरू छातीभरि
ओइलिएका फूल र माला सजाएर
रून्चे मुख लगाउँदै वर्षिन ठिक्क परेका छन्
तिमीमाथि पुष्पवर्षा गर्न बसेकी
इन्द्रेणी रिसाएर अलप भएकी छे
...
आगमनको खुसीयालीमा मालश्री धुन
गुन्गुनाउन बसेका ताराहरू टिमटिमाहट
धमिलो बनाएर उदास बसेका छन्
समय बताउँदा बताउँदा थाकेका
चन्द्र र सूर्य बादलको ओछ्यानमा
थकान मेट्न घुस्रिएका छन्
...
बेरंग छन् रंगहरू
निरश छन् चाडपर्व
खल्लो, निस्तो छ हाँसो
कोही खुसी छैनन् यहाँ
तिमी बिना...।