उमेरले २७ औं बसन्त पार गरेको पत्तै भएनछ।
घर, छरछिमेक र इष्टमित्रको एउटै कुरा हुन्थ्यो — बिहे गर्ने होइन, समय भयो त, हाम्रो बाजेबजै सत्ताइस वर्षमा त तीन बच्चाका बुबाआमा भएका थिए, सुरसार छैन?
उनीहरूलाई हतार भइसकेको थियो।
मलाई पनि उमेर भइसकेको महसुस भएको थियो। समयमै घरजम गरेर 'दुई सन्तान इश्वरको बरदान' भन्ने नारालाई आत्मसात गर्न मलाई पनि रहर थियो।
प्लसटु र ब्याचलर पढ्ने बेला मायाप्रेमको कुनै चासो भएन। साथीहरू परेवाको जोडी जस्तो गुमपा-कुम-गुम गर्दै हिँड्थे। आफू भने यी निर्दोष नयनलाई दोष दिँदै हिँडियो।
२७ औं वर्षमा मैले मास्टर्स गर्ने निर्णय गरेँ। बल्खुको जनप्रशासन क्याम्पस भर्ना भएँ। दैनिकी बिहान क्याम्पस र दिउँसो लोक सेवा पढ्ने थियो।
घर, छरछिमेक र इष्टमित्रलाई मेरो बिहेको पिरलो थियो भने मलाई नेपाल सरकारको 'सुब्बा साप' बनेर नेपालको दरबार अर्थात सिंहदरबारमा राजकीय शैलीमा हुकुम चलाउन मन थियो। सुब्बा सापको 'पावर' देखाउन मन थियो।
धेरै प्रयास गरेँ, सुब्बा भएर मन्त्रीको आडमा सिंहदरबारमा राज गरौंला भनेर। हरेक वर्ष लोक सेवा प्रश्नहरू गाह्रो सोध्न थालियो। प्रथमपत्र नै पास गर्न हम्मे हम्मे हुन थाल्यो। घुम्ने कुर्सीमा टावेल राखेर, सिसाको गिलासमा मिनरल वाटर पिउने रहर अधुरै रहने महसुस हुन थाल्यो। धेरै परीक्षा दिएँ, नाम निस्केन।
करारमा जागिर खान मन्त्रीहरूको अघिपछि दौडधुप गरेँ। प्रयास जारी रह्यो।
करिब पाँच महिनापछि सिंहदरबारमा सुब्बासरह करारको जागिर पाएँ। राजनीतिक नियुक्ति थियो। माननीयज्युको नजिक थिएँ। चुनावमा झन्डा बोकेको थिएँ। त्यही भएर पनि मन्त्रीज्युको सचिवालयमा बस्ने मौका पाएँ।
दिन बित्दै गए। सरकार परिवर्तन भइरहे। तर जागिर करिब ७ वर्ष बचाउन सफल भएँ।
सात वर्षमा करिब दस जना मन्त्री फेरिए। आफ्नै पार्टीमा करिब पाँच जना मन्त्रीको सचिवालयमा बसेँ। समय बित्दै गयो, पहुँच बढ्दै गयो। उमेरले डाँडा काट्न लागिसकेको थियो। लोक सेवाका निम्ति ३५ वर्ष उमेरहद थियो।
आफूलाई श्रेणीबिहीन भए पनि लोक सेवामै नाम निकालेर सरकारी जागिर खाने ठूलो रहर। परीक्षा दिँदै गएँ। कोठामा किताबहरू भरिएर लाइब्रेरी जस्तै भएको थियो। निजामती, संस्थान, प्राधिकरण, बोर्ड, निगम, प्रदेश, स्थानीय तह जताततै फारम भर्दा हजारौं रूपैयाँ राजस्व मात्र खर्च भयो। नाम भने आएन।
यसै गर्दागर्दै उमेर ३४ औं वर्षमा प्रवेश गर्यो। अब मलाई लोक सेवा आयोगले अयोग्य घोषणा गर्न मात्र एक वर्ष बाँकी थियो। सरकार परिर्वतन भइरहँदा करारको जागिर जोगाउन हम्मेहम्मे हुन्थ्यो। अन्तिम वर्षमा नाम ननिकाले म विदेश पलायन हुनुपर्ने बाध्यता थियो।
३४ औं बसन्त पार भइसकेको थियो। छिमेकीले 'न त बिहे गर्छ, न जागिर नै खान सक्छ' भनेर गिज्याउँथे। उनीहरूको कुरा सुन्दा मलाई हरेक वर्षको दसैं कालो जस्तो लाग्थ्यो।
बर्सेनि दसैंमा टीका लगाउन जाँदा पाका बाआमाले छिट्टै सरकारी जागिरे हुनु भनेर आशीर्वाद दिन्थे। त्यो आशीर्वाद सुन्दा मुटु चसक्क हुन्थ्यो।
२४ औं बसन्तसम्म यी आशीर्वाद किन लागेनन् भनेर भगवान पुकार्थेँ पनि। मन्दिर देख्दा फूलपाती चढाउँथे।
अन्तिम वर्ष भएर होला, यो वर्ष कति छिटो गएको होला भन्ने हुन्थ्यो।
सयभन्दा बढी परीक्षा दिएँ होला।
एक दिन करिब राति दस बजे छिमेकी भाइले फोन गरेर बधाइ दिए।
म अचम्म परेँ। किन भनेर प्रस्न गरेँ।
'तपाईंको नाम निस्केछ, मैले फेसबुकमा पठाइदिएको छु, हेर्नु त' भनेर फोन राख्यो।
मैले हेर्दा नाम निस्केको पाएँ। आशा मरिसकेको थियो। नाम हेर्दा तीनपुस्ते सबै मिलेको पाएँ। जलेश्वरबाट खरिदारका लागि दिएको परीक्षाको नतिजा थियो त्यो।
म झसंग भएँ।
रातभरि निद्रा लागेन।
होइन जस्तो लाग्यो। फेरि हेरेँ। सबै मिलेको पाएँ। राति तीन बजेसम्म मेरो मन हर्षले अत्तालिए जस्तो भयो। चिडचिड पसिना आए जस्तो भयो। शरीरमा कामज्वरो आएजस्तो महसुस भयो। दसैंमा छरछिमेकले दिएको आशीर्वाद लागेको महसुस गरेँ।
अन्तर्वार्ता दिएँ। दस जना मागिएको थियो। पच्चीस जना अन्तर्वार्ताका लागि छनौट भएका थियौं। डर धेरै थियो। करिब बीस दिनमा नतिजा प्रकाशन भयो। तर नाम वैकल्पिकको तेस्रो नम्बरमा आयो।
त्यो मेरा लागि कालो दिन साबित भयो। आशा मर्यो। दुई-चार दिन पागल जस्तो भएको महसुस गरेँ।
उमेर ३५ औं वर्ष पूरा भयो। सपना तुहियो।
अब म लोक सेवाका लागि योग्य रहिनँ।
विदेश जानेबाहेक विकल्प रहेन। धेरै सोचेँ। धेरै व्यक्तिसँग सल्लाह गरेँ। विदेश जाने नै निर्णय गरेँ।
आइएलटिएस गर्न पनि उमेर धेरै भइसकेको थियो। सरकारी स्कुलमा पढेको, अंग्रेजी राम्रो थिएन। के गर्ने, कुन देश जाने भन्ने दोधारमा परेँ। छिमेकी तीन-चार जना जापानमा थिए। उनीहरूले मलाई जापानको बारेमा पहिल्यै कुरा गरेका थिए। अनि मैले पनि जापानी भाषा पढ्ने निर्णय गरेँ।
काठमाडौंको बानेश्वरमा जापानी भाषा कक्षाबारे बुझ्न गएँ। दुई दिनपछि भर्ना भएँ। करिब दुई महिना पढेँ। एक जना आफ्नै जिल्लाको छिमेकी गाउँपालिकाको एक जना महिला पनि त्यहीँ पढ्दै गरेको पाएँ। चिनजान हुँदै गयो, दुरी नजिक हुँदै गयो।
करिब पाँच महिनापछि लोक सेवा आयोगबाट फोन आयो।
'रमेशजी, तपाईं वैकल्पिकबाट सिफारिस हुनु हुँदैछ। त्यहीअनुसार तयारी गर्नुस्। एक हप्ताभित्र लोक सेवा आयोग, जलेश्वरमा सम्पर्क गर्नुहोला।'
यति भनेर उताबाट फोन राखे।
म अचम्म परेँ। छक्क परेँ। झसंग भएँ।
मलाई होइन होला भनेर पुनः त्यही नम्बरमा फोन गरेँ। सोधेँ। जवाफमा 'तपाईं नै हो, तपाईंको हजुरबुबाको नाम श्यामप्रसाद अर्याल होन र?' भनेर प्रश्न आयो।
मैले 'हो सर' भन्दै धन्यवाद दिएर फोन राखेँ।
बानेश्वर इन्स्टिच्युटबाट कीर्तिपुर कोठामा फर्केँ। छक्क परिरहेको थिएँ। घरमा फोन गरेँ। निराश भएर बसेका बाआमालाई सुनाएँ। आमाबुबा हर्षले भक्कानिएर बोल्नै सक्नुभएन। केहीबेर घरमा बुबाआमासँग कुरा गरेँ। छिमेकीलाई पनि यो कुरा सुनाइदिन भनेँ।
लाइब्रेरी जस्तै भएका किताबका चाङ र भित्तामा टाँसेका भगवानका फोटालाई ढोगेँ। 'धन्य प्रभु' भनेँ।
यता नाम निस्केका कारण म भाषा पढ्न गइनँ।
ती महिला साथीले 'किन क्लास नआएको' भनेर फोन गरिन्।
मैले 'भोलि आउँछु, अनि भेटेरै कुरा गरौंला' भनेर फोन राखेँ।
म उनलाई भेट्न नयाँबानेश्वर गए। कक्षा पढ्ने नजिकै एउटा क्याफे थियो। चिया खाँदै मेरो विगतदेखिका वैकल्पिक परेकोसम्मका कहानी उनलाई सुनाएँ।
मेरो कुरा सुनेर उनी पनि छक्क परिन्।
करिब दुई घन्टापछि हामी त्यहाँबाट छुट्यौं।
हरेक दिन फेसबुकमा कुरा हुन्थ्यो। समय समयमा भेट पनि हुन्थ्यो।
सातौं दिन म नियुक्तिपत्र लिन गएँ। हुलाक कार्यालयमा नियुक्त भएर करिब चार महिना काम गरेँ। उनले जापानी भाषालाई निरन्तरता दिइन्।
एकदिन काम विशेषले काठमाडौं आएको थिएँ।
उनलाई फोन गरेँ। उनले भेट्न भनिन्, बौद्ध स्तुपमा।
उनी उमेरले मभन्दा पाँच वर्ष सानी थिइन्। हामी दुवैको बिहे गर्ने उमेर भइसकेको थियो। हामी करिब आठ-नौ महिना सम्पर्कमा रहिरह्यौं। कुरा भइरह्यो।
उनले 'दुवै जना जापान जाऔं' भनेर मलाई पटकपटक कक्षा लिन आग्रह गरिन्। मैले पनि काठमाडौं सरूवा गर्छु र कक्षाबारे सोचौंला भनेँ।
रातदिन दुःख गरेर सरकारी जागिर खाएको विगत सम्झेँ। न मैले जागिर छोड्न सकेँ, न उनको प्रस्ताव।
जति भेट हुन्थ्यो, उनी 'जापान जानुपर्छ है, अनि उतै बिहे गरौंला' भन्थिन्।
उनले त्यसो भन्दै गर्दा मलाई लोक सेवा पढ्दादेखि वैकल्पिकसम्मकै दिनको याद आउँथ्यो।
मैले उनको कुरा काट्दै एक दिन भनेँ, 'तिमी जापान जाऊ। अनि नेपाल आएपछि बिहे गरौंला।'
उनी नेपाल नै नफर्की जापानमै बस्ने कुरा गर्थिन्। मलाई भने दुःखले खाएको जागिर र देश छोड्नै मन थिएन।
त्यो लाइब्रेरी जस्तो किताबको चाङ र त्यो कष्ट अनि त्यो वैकल्पिक अवस्था सम्झिँदा जापानको नाम नै नलिए हुन्थ्यो भन्ने लाग्थ्यो।
उनी जापान जाने तयारीमा लागिन्।
हाम्रो माया दुवैतर्फ थियो। पछिल्लो समय भने उनमा अलि परिवर्तन देखिन थाल्यो। भेटघाट पातलिँदै गयो। सम्बन्ध फितलो हुन लाग्यो। पहिले दैनिक कुरा हुन्थ्यो। पछि महिनामा दुईदेखि तीन दिनमा कुरा हुन लाग्यो।
अहिले उनी जापानी भाषा कक्षालाई पूर्णता दिँदैछिन्। म खरिदारकै जागिर खाइरहेको छु।