मंसिरको महिना चिसो सिरिटो मुटु नै लुगलुग कमाउने जाडो। सिरकभित्र गुजुल्टिएको छु। मेरा हात खुट्टा चिसोले कठ्याङ्ग्रिएका छन्। घडीले पनि रातको २ बजाउन लाग्यो तर पनि म निदाउन सकेको छैन। मानौं म दमको रोगी हुँ, म पल्टिएर निदाउन सक्दिनँ उठिरहनुपर्छ।
यस्तै यस्तै हालत मैले धेरै दिनदेखि भोगिरहेको छु। हिमालको बरफजस्ता मेरा आँखाहरू पग्लिएर नदी बन्दैछन्। थाहा छैन यो नदीमा कति बाढी आउँछन्। कति भेल उर्लेर आउँछन्। जतिबेलादेखि म तिम्रो प्रेममा परें मेरा दिनरात कसरी बितेका छन् मलाई केही थाहा छैन। मैले के लेखिराखेको छु आफैंलाई थाहा छैन। कहिलेकाहीँ म के खाइरहेको छु आफैंलाई थाहा हुन्न। सायद मेरो मनको एक चिम्टी भाग तिम्रो कुर्ताको पकेटमा अल्झिराखेको छ।
उनी कतै अनलाइन देखिन्छिन् कि भनेर बेलाबेला फेसबुकको म्यासेज चेक गर्छु। १ घण्टाअघि, २ घण्टाअघि, देखाउँदै गयो फेसबुकले पनि। मलाई अनलाइन देखेर मिठा मिठा लामा म्यासेजहरूको चाङ थपिँदैछ।
हुन त म प्राय: अफलाइनबाट नै फेसबुक चलाउने गर्छु। मलाई कसैको लामो म्यासेजमा आँखा गएको छैन। अरूको सट्टा तिमीले हाइ मात्र लेखिदिएको भए पनि मेरो दुनियाँ बेग्लै हुन्थ्यो। उनको एक कल र म्यासेजको लागि म कति तड्पिएको छु, तिमीले यो कुरा महसुस गरिदिएको भए!
किन आउँछ याद तिम्रो सधैं सधैं सपनीमा बोलको गीत बज्दैछ रेडियोमा।
संगीत, आवाज र शब्द कसको होला केही थाहा छैन मलाई। जसले गाए पनि यो गीत मेरो लागि रेकर्ड गरिएको गीत रहेछ।
संगीत र शब्द तिम्रो कानसम्मै पुगे नि हुन्थ्यो भनी म भगवानसँग प्रार्थना गर्छु। त्यसो त मेरो भगवान आजकाल तिमी त भएकी छौ। बिहान ५:३० को अलार्मसँगै उठेर हातमुख धोएर भगवानको मुख हेर्दै पूजा गर्ने मैले अचेल आँखा खुल्नासाथ तिमीलाई हेर्छु। मैले भगवानलाई छोडेर तिमीलाई पूजा गर्न थालेको धेरै भइसक्यो।
हाम्रो प्रेमको सुरूआती दिनहरूमा प्रत्येक सेकेन्ड सेकेन्डमा ताजा खबर सुनाउनुपर्थ्यो, उनले पनि मैले पनि। टाउको दुखेको, खोकी लागेको, भोकै सुतेको, राम्रो नराम्रो सपना देखेको, खाना नरुचेको सबै थाहा हुन्थ्यो।
आजकल खै किन हो अनिँदोले महिनौं नसुतिरहँदा पनि सोधखोजसम्म गरिनौ है प्रिय।
तिमीलाई थाहा छ प्रिया ? मलाई छट्पटी भयो भने राति आकाशतिर फर्केर प्रिया भन्दै तिम्रो नाम लिन्छु। अनि चन्द्रमालाई हेर्दै खाली तिमीलाई पाम भनी प्रार्थना गर्छु। अनि म विगतमा फर्किन्छु र विगत सम्झन्छु। त्यो दिनको कुरा हो जुन दिन तिमी र म काठमाडौंदेखि सिन्धुली घुम्न जान भनी हिँडेका थियौं। जबकि तिमी मेरो नीलो पल्सरको पछाडि बसेर मेरो कम्मरमा जोड जोडले समातेकी थियौ। जब हामी सिन्धुली आइपुगियो तिमी मेरो छेउमै बसेर चियाको चुस्की तान्दै थियौं। अनि लिपिस्टिकको डोप पुछेर मलाई पनि खुवाएकी थियौं। अलिकति लाज मान्दै धेरै खुसी हुँदा यस्तो सोचाइले मलाई रोग लागेको छ। कमजोर हुँदैछु भने तिम्रै सम्झनाका कारणले हुँदैछु।
प्रिया मेरो मोबाइलका सेभ तस्बिरहरूले हामी प्रेमीप्रेमिका मात्र नभई श्रीमान श्रीमती नै भन्ने संकेत गरिराखेका छन्। मलाई थाहा छैन तिमी किन टाढियौ, के यो हाम्रो प्रेम थिएन? के यो हाम्रो आकर्षक थियो वा अरू केही?
मेरो माया यतिसम्म सस्तो भयो कि मानौं ठेलामा बेच्न राखिएको बदाम हो। २-४ गेडा बाटो हिँड्ने जो कोहीले पनि खान सक्छ। तिमी के सोचेर बदलियौ प्रिया जान्न पाए कति जाति हुने थियो। अझै पनि लाग्दैन तिमी बदलियौ, तिम्रो त्यो मसिनो स्वर, त्यो हाँसो, तिम्रा ती नसालु आँखा र त्यो ठट्यौली बानीले मेरो मुटुको कुनासम्म घरजम गरिसकेका छन्।
तिमीसँग मिलेर दुनियाँलाई जित्ने चाहना थियो मेरो तर अफसोच तिमीले अर्कैसँग मिलेर मलाई नै हरायौ प्रिया। अझै पनि हार्नु छैन तिम्रो प्रेममा जित्नु छ।
तिमीले खाएको खाना लगाएको लुगा, बोलेको कुरा घुमेको दिनहरू सबै याद गरिरहनु छ मलाई सातै जुनिसम्म पनि। यदि मिल्छ भने आठौं जन्मसम्म पनि जिन्दगीको धावनमार्गमा मेरा चाहना र सपनालाई सफल अवतरण गराउनु नसके पनि कम्तीमा उड्न त उड्यो ती हाम्रो पिरतीको जहाज।
उडिसकेपछि पहाडसँग ठोक्किने कुरा, कुहिरोभित्र अल्मलिने कुरा, गति र उचाइ छुन नसकिने कुराको पूर्वानुमान गर्न सकिन्न रहेछ प्रिया। तर पनि मैले हाम्रो मायाको जहाज उडाइरहेको थिएँ। मलाई हम्मेहम्मे थियो खराब मौसम जस्तै मेरो जिन्दगीको परिस्थिति छिचोल्न। मैले सबै तिम्रो जीवन मागेको थिइनँ। थोरै खुसीमा पनि धेरै रमाउँथें। हाम्रो समाजले माया जस्तो पवित्र कुरालाई पनि अपमानित गरेको छ। माया जहाँ जहिले जोसँग पनि बस्न सक्छ। तर त्यसको अन्तिम रूप नै विवाह भनेर सिकाएको हाम्रो समाजले तिमिसँगको मायालाई पचाउने सामर्थ्य पक्कै पनि राख्ने छैन भन्ने कुरा जानेरै मैले प्रेम गरें।
तिमीबाट मलाई धेरै केही अपेक्षा थिएन। तर तिमीले के बुझेर मसँग प्रेम गर्यौ त्यो रहस्यकै गर्भमा लुकेको छ। मलाई त्यो सबै कुरा जान्न जरूरी पनि छैन तर तिमी मलाई तड्पाएर पनि खुसी छौ, खुबै रमाइलो छ है प्रिया। अस्ति फेसबुकमा बुढाबुढीको अंगालो हालेको फोटो प्रोफाइल पिक्चर बनाएर हालेकी थियौ। त्यो देख्दा निस्टुरी दुश्मनले दोबाटोमा उभिएर गुलाबको फूल उचालेको झैं लाग्यो। यसैबाट थाहा हुन्छ तिमीले बिताइरहेको जीवन कति फरासिलो छ, कति मजाको छ। तर प्रिया मलाई जस्तो धोका ..... लाई नदिनु है! यो मेरो बिन्ती छ। तर प्रिया विगतलाई भुलेर वर्तमानलाई कसरी इतिहास बनाउन सकिन्छ र बरै।
हुन त म एउटा गरिबको छोरा भएर होला, मैले काम गर्न पाइनँ भने मेरो घरको चुलो बल्न पनि धौधौ हुने कुरा थाहा पाएर छोडेर गयौ है। तर तिमीलाई मन र विचार ठूलो हुने रहेनछ है प्रिया। तिमीले त धनमात्र हेर्यौ है। तिमीलाई पैसाबाहेक अरू केही पनि चाहिँदो रहेनछ है। तर प्रिया तिमीले मलाई एक्लै जिउन र मेरै हैसियत चिन्न सक्ने गराएर गयौ।
तिमीले गर्दा आजकाल म धेरै फरक भएको छु। संसार जित्ने बाचा र अठोट लिएर हिँडेको छु। म तिमीलाई यति कुरा सिकाएकोमा धन्यवाद दिन चाहन्छु।