(विदेशबाट फर्किएको अन्दाजी ३२ वर्षे युवा मनोज पलाङमा पल्टिरहेको छ। युरोपेली मुलुकबाट फर्किएको युवा भएर पनि होला सानदार कोठामा विदेशी पर्फ्युमको बास्ना कोठाभरी फैलिएको छ। छेउको टेबलमा महङ्गो विदेशी हुस्की छ। समुन्द्रको नुनिलो पानीमा खेलेको भएर होला केही कपाल झरेको छ। पलाङको माथिपट्टि रहेको खापामा चुरोटको डब्बा छ। मनोज आफ्नो मनमा काउकुती लगाउँदै मनमा कुरा खेलाइरहेको छ)
ओहो! समीक्षा (भोलिकी बेहुली) को दुई मिस्कल आइसकेछ। किन फोन गरेकी होलिन् फोन गर्नुपर्यो। (यतिकैमा उतिबेलै समीक्षाको नम्बर आफ्नो मोबाइलमा डायल गरी पुनः कल ब्याक गर्छ र केहीबेर कुराकानी गर्छ अनि छेउमा रहेको इलेक्ट्रिकल जगबाट पानी पिएर फेरि पलाङमा पल्टिन्छ।)
सानीमाकी छोरीले पोल्यान्डको बसाइको अन्तिमतिर फोन गर्दा काम सकेर नुहाएर कोठामा बसिरहेको थिएँ। बसाइ बाहिरी मुलुकमा भए पनि हरेक दिन नेपाली समाचार नछुटाइ पढ्ने मेरो आदत थियो। त्यस दिन बहिनीले फोन गरेपछि म निकैबेर ऊसँग फोनमा बोलेको थिएँ। उसकी साथी समीक्षाको प्रशंसाले म पुलकित भएको थिएँ। नजानिँदो पारामा समीक्षा नामले मात्र पनि मलाई नेपाल फर्कने हुटहुटी बढ्यो अनि १० महिना बसाइ छोट्याएर म नेपाल फर्किएँ। नेपाल फर्किएको पनि आज झन्डै २३ दिन पुगिसकेछ। (पलाङको माथिल्लो खापाबाट चुरोट निकालेर ओठमा च्याप्छ र सल्काउँछ।)
अमृता (सानिमाकी छोरी) कुरा मिलाउन औधी सिपालु छ, उसले उता समीक्षासँग पनि मेराबारे के के गफ दिई कुन्नी!
समीक्षा पनि जति बेलासुकै मेरो मेसेजको रिप्लाइ दिन तयार देखिन्थी। एक महिना फेसबुकमा बोल्यौं। पारिवारिक पृष्ठभूमि र रुचि मात्र साट्न नपाउँदै म नेपाल फर्किएँ। (टेबलमा रहेको स्ट्रेमा चुरोटको खरानी फाल्छ)
अमृताले उसका बुवासँग कुरा गरेपछि नेपाल आएको पर्सिपल्ट नै नेपाल आउने बेला सपिङ गरेका कपडा लगाएर उसलाई हेर्न उसको घरमा गएको थिएँ। मसँगै बुवा मामा र दाइ पनि सँगै जानुभएको थियो। उसको घरमा गएको धेरै बेरपछि चर्न लागेको कस्तुरीको चालमा ऊ भित्रबाट बाहिर निस्किँदा म आफैंसँग जिन्दगीमा पहिलो पटक लजाएको थिएँ।
ओहो! चुरोटको धुवाँ (झ्यालको पर्दा खोल्छ र बन्द रहेको पङ्खाको बटन अन गर्छ)।
अबेरसम्म ऊ बाहिर नआउँदा बेवास्ता गरेको जस्तो लागेर मलाई हल्का रिस नउठेको होइन तर जब ऊ बाहिर निस्किएर हामी सबैलाई दुई हात जोडेर कोकिल स्वरले अभिवादन गरेर चिया पकाउन भान्सातिर लम्किई त्यस बेलै मेरो रिस कोमामा पुगिसकेको थियो।
केहीबेरमा उसले चिया ल्याएर हामी सबैलाई दिई। जब उसले मेरो अगाडि ट्रेमा चिया ल्याएर मेरा अगाडि टक्रयाएकी थिई र सोही चिया दिने बेला मेरा आँखामा उसले हेरेकी थिई संयोगवश त्यही बेला मैले उसको आँखामा हेरेको थिएँ। केही सेकेन्ड हाम्रा आँखा जुधेका थिए। यही नै मेरो जिन्दगीको पहिलो प्रेमिल आँखा जुधाइ थियो। ऊ लजाउँदै पुनः भान्सामा जाँदा म पनि प्रेमिल डरलै पूरै रातो भइसकेको थिएँ।
मेरा बुवा, मामा उसको बाबा ममीसँग सल्लाह गर्दै हुनुहुन्थ्यो उताबाट पनि मन्जुर भइसक्नु भएको थियो।
यत्तिकैमा हामी दुबै जनालाई एकछिन एकान्तमा गफ गर्न पठाउने कुरा भयो।
हामी दुई कुराकानीको लागि कोठामा गयौं। मुटुले ठाउँ छोडिसकेको थियो। प्रेसर हाइ भयो। रगत तातेर उम्लिएला जस्तै भएको थियो। म पूरै रातै भएको थिएँ। (बिजुली आउँछ)
म मेरो पुरूषार्थबाट विचलित नभई उसलाई प्रश्न सोध्ने हिम्मत गरेको थिएँ। ऊ पनि लाजले रातै भएकी थिई। झुलुक्क मेरो अनुहारमा हेर्थी अनि मन्द मुस्कान छाड्थी।
लुरीलुरी, पातली, गहुँगोरी, हलुका मेकअप, गुलाबी ओठमा फिक्का लाली, निदारमा सानो टिकी, देब्रे गालामा सानो कोठी, कुर्थाबाट थोरै बाहिर निस्किएका वृक्षस्थल, थोरै दबिएको पेट, मृगका जस्ता नयन।
ओहो! मेरो भाग्य! साँच्चिकै म भाग्यमानी रहेछु जस्तो त्यही बेला लागेको थियो। केहीबेर हामी मनले मनसँग बोल्यौं। नजानेर बोल्यौं, खै के बोल्यौं तर जे बोल्यौं हाम्रै हितको लागि बोल्यौं। सुखको सगुन लिएर हामी घर फर्किएका थियौं।
घर आएपछि सुरूकै कलमा मैले सोधेको थिएँ, 'किन ढिलो निस्किएकी नि अघि तिम्रो घर आउँदा?'
उसले भनेकी थिई, 'जब घर अगाडि आएर गाडी रोकियो तब मेरो मुटुको धड्कन दश गुणा बढी धड्कन सुरू गर्यो। हजुर गाडीबाट ओर्लिएपछि म कोठाभित्र छिरेकी थिएँ। बिहानै कपाल कोरेकी थिएँ तर ऐना हेर्दा कस्तो नमिलेजस्तो लाग्यो अनि कपाल कोरें, कपाल कोरेर सकेपछि ढोकाको सानो प्वालबाट चिहाएर हजुरलाइ हेर्दा असाध्यै ह्यान्डसम लाग्यो। बिहानबाटै मेकअप गर्दै गर्दिनँ भनेर बसेकी मान्छे हजुरलाई देखेपछि त्यो ह्यान्डसम सग सुट हुनपनी मेकअप गर्नैपर्छ जस्तो लाग्यो मेकअप गरें।
मेकअप सकेपछि जिउलाई शिरबाट पाउसम्म दराजको ऐनामा हेर्दा म आफैसँग लजाएकी थिएँ। फेरि एकचोटि हजुरलाई हेर्दा ममीसँग गफिँदै हुनुहुन्थ्यो।
मैले ऐना हेरेर ओठमा लिपिस्टिक लगाएँ, ओठको लिपिस्टिक अलि गाढा भएजस्तो लागेर माथिल्लो ओठले तल्लो ओठलाई च्यापेर ठिक्क बनाएँ। यति गर्दैगर्दा आमाले फेरि मलाई बोलाउनुभयो र म बाहिर निस्किएकी थिएँ।' उसले यति भन्दा म पनि मख्खै थिएँ।
बिहेका लागि गहना अनि लुगाका लागि समीक्षा र मसँगै बजार गएर किन्यौं। यतिकैमा बिहेका दिनहरू पनि नजिकै आइपुगे।
(बिजुली जान्छ) छ्या नेपाल त्यस्तै छ के! जतिबेला बत्ती काट्ने! (नजिकै रहेको सोलार अन गर्छ)
बिहेको अघिल्लो दिन, सुरज भाइले बिहेको निमन्त्रणा कार्डहरू बाँडेर सके है दाइ भनेको थियो। मामा, फुपू, भिनाजु आइसक्नु भएको छ भने अरू आफन्तीहरू भोलि बिहानै जन्ती हिँड्नुभन्दा पहिले नै आइपुग्ने कुरा भइरहेको छ। कान्छा मामा अलि टाढैबाट आउने भएको हुनाले अघि भर्खरै बटौलीको लागि नाइट बस चढिसकेको भनेर फोन गर्नुभएको छ।
बिहेको जिम्मा लिनुभएकी सानिमाले 'अब सबै काम सकियो बुहारी लिन जान तयार भएर बस' भन्दै जिस्काउनु भएको थियो।
यति भन्न नपाउँदै भाइ समीरले ठट्टा गर्दै भनेको थियो 'ममी त्यसो नभन्नु के यहाँ त रातभरी नसुति कपडा लगाएर जागाराम बस्नुहुन्छ फेरि।'
आज दिउँसै कसार बटार्ने बिहेको लागि गेट बनाउने बेला देखिनै साथीहरू जिस्काउन थालेका छन्, झन् भोलि त कतै केही ठाउँ नराखी जिस्काउने होलान्।
बिहान समीरले ठट्टा गर्दै भनेको छ, 'मेरो बिहेमा कस्तो गरेर जिस्काएको थिइस् पालाको पैंचो पनि त तिर्नुपर्यो नि केटा।'
समीक्षालाई अलि अघि फोन गर्दा फोन उठेन। पछि मेसेज गरेकी रहिछे 'भोलि त बिहानै ब्युटी पार्लर जानु छ अहिले छिट्टै सुत्न पर्यो हजुर पनि सुत्नुहोस् है' भन्दै गुड नाइटसहित लभ र किस सहितको इमोजी पठाएकी थिई सायद ऊ त सुतिसकी होला। (बत्ती आउँछ)
साँच्चिकै ब्युटी पार्लरबाट निस्किँदा ‘पुतली’ कस्ती देखिन्छे होला? (खुला झ्यालबाट मौरी बत्तीको उज्यालोमा घुम्छ) ओहो! माहुरीलाई कति मन परेको बिजुलीको उज्यालो जसरी मलाई मन परेको छ समीक्षा। अनि मौरीले बत्ती घुमेझैं घुमिरहन मन लागेको छ उसकै वरिपरि।
उसले पहिले नै घुर्की लगाएकी छ, 'सिन्दुर हालेपछि त म बेस्सरी रुने हो' भन्दै। ऊ रोइ भने मैले पनि आँसु थाम्न सक्दिनँ होला। आँसु निस्कियो भने फेरि देख्ने साराले के भन्ने होलान्? पण्डित बुढा बुवा हुनुहुन्छ भनेकी छ। बुढाले मण्डपको समय लामो बनाइदिने हुन् कि, टाढाको बाटो छ बुझिदिए पनि हुन्थ्यो नि।
बिहान घरमा सबै जना चिटिक्क परेर मेरो बिहेमा जन्ती जानका लागि आउँदाको पल कस्तो होला, आमाले पछ्यौराले ढाकेर दूध छुटाउँदाको त्यो पल कति पीडादायी होला, आमाको काखबाट श्रीमतीको काखमा जाँदै गर्दा! सबैतिरबाट हामीतिर फर्किएका क्यामेरा देख्दा नर्भस फिल हुने होला, ह्या जे सुकै होस्। (टेबलबाट जग सारेर पानी पिउँछ)
उसलाई लिएर फर्किंदा घरमा रत्यौली घन्किएको हुनेछ।
‘लेकाली मुलाका चाना, बल्ल भए बाबुका दुई जाना’ ल्यायो भन्दै यस्तै–यस्तै खालका रत्यौली गाउँदा मेरो नाक खुसीले फुल्ने होला।
साँझ विवाहको काम सकिएपछि हामी हाम्रो कोठामा जानेछौं। बहिनीले हिजैबाट 'दाइको कोठा त मैले सजाइदिने हो' भनेकी छे कस्तो पो बनाउली? त्यही कोठामा समीक्षा र मेरो पहिलो रात (सुहागरात) कसरी बित्ला?
उसले कोठामा पुगेपछि सुरूमा के भन्ली, के गर्ली र मैले पनि के गरौंला? अंकल/दाजुहरूले सुहागरातका कुरा गर्दा लुकीलुकी खुब चासो दिएर सुन्ने मान्छे म भोलि त मेरो नै सुहागरात के के होला ? अंकल/दाजुहरूले भने जस्तै होला त?
मनमा काउकुली लागिरहेको थियो। लाजले हो कि डरले ज्यान लल्याकलुलुक भइरहेको थियो। कोठामा छिरेपछि बत्ती निभाउने बेलासम्मको समय जे हुनेछ साच्चिँकै जिन्दगीभर यादगर हुनेछ।
(घडी हेर्दै) ओहो ! १२ बजिसकेछ। सिंगल लाइफको आज अन्तिम दिन रात अब सुत्नुपर्छ। (सुत्छ)