कविता
भित्तेपात्रोले दसैंले गृहप्रवेश गरेको संकेत गर्दै गर्दा
उहिले त-
मनमा आशाका बहाबहरू अङ्कुराउथे
लिङ्गे र रोटे पिङ्गसँगको सामिप्यताले खुब रोमान्चित बनाउथे,
आमा बाको मस्तिष्क हल्लिने गरि किचकिच गरेर ल्याइएका
नयाँ लुगाले त झन् मनै फुरुङ्ग पारिदिन्थे
अझै खाम भित्र कोचिएका चिप्ला ५ का नोट
हातमा पर्दा त ढंग बनाइदिन्थ्यो।
अहिले त -
आफैंले पुर्याउनु पर्ने भएर होला
बजारमा सामानको मोल सुन्दै गर्दा
भयभीत बनाउँछ-
कतै
भए जति जायजेथा अहिले नै पो लुटिन्छ कि
इच्छा आकांक्षाको हत्या गरिदिने भाइरस आफैंतिर सर्छ कि भनेर मन पिरोलिन्छ।
निकै अत्यास लाग्छ-
हामी जस्ता श्रमजीवी र भुइँमान्छेहरूको
घरको दाल र चामल हराउँछ कि भनेर
निकै पीडाबोध हुन्छ-
हराएको दाल र चामलले
खुसी र हर्षलाई पनि सँगै च्यापेर लिएर जान्छ कि भनेर।
अवस्थाले पराकाष्ठा नै नाघिसकेछ-
खल्तीमा कागजको खोष्टा हालेर जाँदा बजार
हिजो फालाफाल भेटिने चिनीहरूको-
पनि आज त दागबत्ती नै दिइसकेछन्
बजारका माफियाहरूले।
साँच्चै-
बजार भाउ सुन्दा उड्यो होस र हवास
परेको दाम हालेर किन्छु भन्दा पनि
मालिकहरू श्रमजीवीलाई भन्छन् 'इस् खालास्'।
चिनी त चिनी भइहाल्यो
ल नखाउला, बेकार डायबिटिजको बोझ किन बोक्नु।
तर
चामल र दालले पनि के किन्लास् र तैंले भनेर आँखा तर्छ
'तैंले किन्न सक्ने त कैले कैले?' भनेर बतारिन्छ।
ए सरकार!
साँच्चै अचाक्ली महंगी र कालोबजारीको बाढी आयो
यो बाढीले-
तिम्रा घरमा त चम्किलो उज्यालाको किरण पठाइदियो होला है?
तर
हाम्रो टहरोमा त अन्धकार र असन्तुष्टिको बहाब मात्र पठाइदिएछ।
अब भनिदेऊ न सरकार-
दसैं सम्झिएर मुर्छा परेका मेरा मस्तिष्कलाई
कसरी ठीक पार्छौ?
खाद्यान्न अभावले पेटका आन्द्रा भित्र कराइरहेका मुसाको कसरी हत्या गर्छौ?
बिन्ती गर्छु भनिदेऊ न सरकार-
मेरो सन्तानको थोत्रा लुगा कसरी फेरिदिन्छौ?
हामी सबै जनताको दसैं यसपालि कसरी टारिदिन्छौ?
जवाफ देऊ सरकार-
तिम्रोमा बले जस्तै गरी
श्रमजीवी जनताको चुलोमा पनि दनदनी आगो कहिल्ये बालिदिन्छौ सरकार?
ए सरकार-
तिम्रो मौनताले
जनतालाई सधैं सधैंका लागि मौन हुन बाध्य बनाइसक्यो
भन्दा नभन्दै
कयौंको ज्यान चितामा जलिसक्यो!