कविता
हरेक वर्ष
कोठेबारीमा केरा पसाएपछि
दसैं घरमा जमरा टुसाउँदा
निर्धक्क मूलढोकाबाट घर भित्रिने दसैं
यसपालि यो कोलाहालभित्रको सहरमा
दिन छिप्पिएपछि अल्छी मानी मानी
चोर घामले जस्केलाबाट चिहाएजस्तै
लुसुक्क भित्रिएको छ छिँडीमा दसैं।
छैनन् टाढा–टाढासम्म
यहाँको आकाशमा उमङ्गका भाकाहरू
छैनन् कुनै पनि बस्तीहरूमा
शंखध्वनि र मालश्रीका लयहरू
निर्वासित मनहरूमा केवल
आफ्नो गाउँ कोट्याएर
परदेशी मान्छेहरू
सही नसक्नु पीडा दुखिरहेछन्
सहरमा कहाँ पाउनु मल्हम
ती गाउँको सम्झनामा उप्किएका घाउहरूमा
के लगाउनु औषधी
घरको सम्झनामा बल्झिएका ती व्यथाहरूमा
बच्चाहरू अब
चाकाचुली, रोहटे र लिङ्गे पिङ्गको चचहुइ बिर्सेर
मोटरको कर्कस आवाजसँग
आफ्नो बालापन साटिरहेछन्।
छिमेकीहरू
मादल र मारूनीको फन्को भुलेर
बन्द कोठाभित्र
सेकुवा र दारुको नशासितै
म्यारेज र टिभीमा मस्त उग्राइरहेछन्
हो उनीहरू दसैं मनाइ रहेछन्
यस्तो बेला म अलिकति एकान्तमा
मेरो गाउँको पोखरीमा टल्किने
हिमाल खोजिरहेछु,
गोधूलिमा चरनबाट फर्किंदै गरेका
गाई वस्तुहरूको खुरबाट उडेको
धुलोको गन्ध सम्झि रहेछु,
र सहरको कोलाहलमा दबिएको
मेरो आफ्नै मनको आवाज
सुनिरहे छु|
यता सडकमा
भुस्याहा कुकुरहरूको बिगबिगी छ,
निर्वासित मान्छेहरू
निर्दयी सहरको अभावको कुवाभित्र
आफ्नो जिजीविषा खोजिरहेछन्
हो, उनीहरू दसैं मनाइरहेछन्।