त्यस बेला भर्खर असोज सकिएर कात्तिक लागेको थियो। चैत-वैशाखदेखि रापझैं तात्तिएको धर्ती केही चिसिन थालेको थियो। बिहानपख रमाइलो खालको ठन्डा हुन्थ्यो। हामीलाई दसैं आएको थाहा पाउन पात्रोको आवश्यकता नै पर्दैन थियो।
तराईको गर्मीले दिने पीडाको साटो केही ठन्डापन, बिहानपख झरेर भुइँभरि हुने पारिजातका फूलका महक, लहलह खेतमा काट्नलाई तयार धानका बाला वा धान काटिसकेपछिका ठुटाहरू र ती ठुटाहरूबीच खुट्टा जोगाउँदै चंगा उडाउन व्यस्त हुने केही मनुवाहरू।
यिनले हामीलाई दसैं आइसकेको आभास दिलाउथे।
त्यसबाहेक पनि केही गौण संकेत हुन्थे। सहरबाट गाउँ सम्झी आउने केही सहरियाहरू, उनीहरूले आफ्ना केटाकेटीका लागि ल्याइदिएका लुगा!
हामीलाई नयाँ लुगा देख्दा कोही सहरबाट आयो भन्ने वा कोही सहरबाट आउँदा नयाँ लुगा ल्यायो भन्ने कुरा अड्कल काट्न समय लाग्दैन थियो। दसैं आयो कि लुगाफाटो किन्ने चलन व्यापक थियो जे होस्।
तर त्यसताका अहिलेको जस्तो उपभोगमा रमाउने चलन भने थिएन।
एकपल्ट बुवाले दसैं किनमेलमा लग्दा स्पोर्ट्स जुत्ता किन्ने कि स्कुलको जुत्ता भनेर सोध्दा दुई-चार दिनको तडकभडक रोज्नुभन्दा बरू स्कुलको जुत्ता नै रोजेको थिएँ। कारण, स्पोर्ट्स जुत्ता स्कुलमा चल्दैन थियो। बरू स्कुलको जुत्ता जता पनि चल्थ्यो। तर यो म जस्तो चिची कि पापा गर्नु नपर्ने, चिची र पापा दुवै रोज्न पाउने मेरा साथीहरूले पनि अपनाउने शैली त्यही थियो। त्यसताका स्कुलको जुत्ता, बेल्ट र झोला जस्तो अवस्थामा पनि प्रयोगमा आउँथ्यो।
घटस्थापनाको भोलिपल्ट म चंगा किन्न भनेर निस्केको थिएँ। त्यस बेला पाँच रूपैयाँमा राम्रै चंगा आउँथ्यो। त्यो पनि कागजको! प्लास्टिकको झनै सस्तो आउँथ्यो क्यार! जाँदै गर्दा बाटोमा सविन भेट भयो। ऊ पनि चंगा किन्न आएको रहेछ। उसले प्लास्टिकको चंगा किन्ने भयो। मैले कारण सोधेँ।
'काकाको छोरालाई हो। त्यसलाई उडाउन आउँदैन। सहरबाट आको। मेरो अर्को चंगा छोड्दै छोडेन,' उसले भन्यो।
मैले ठट्यौली पारामा भनेँ, 'ए त्यो कालो चस्मा लगाई हिँड्नेवाला! सबै प्लास्टिकको मनपर्ने रहेछ त्यसलाई त।'
सविनले भन्यो, 'मनपर्ने हैन। उसलाई जे देख्यो त्यही चाहिन्छ। एउटा कुरामा चित्त बुझ्दैन। त्यही भएर प्लास्टिकको भिडाउँछन्।'
चंगा उडाउन धान काटिसकेको खेत खोज्नुपर्ने हुन्थ्यो। अलि ठूला केटाहरूले हामीलाई उनीहरूसँगै बसेर उडाउन दिँदैन थिए। दिए पनि उनीहरूले हाम्रो चंगा उडाउने, हामी १३-१४ उमेरका चाहिँ दर्शक बनेर बस्नुपर्ने हुन्थ्यो।
बिहान-बेलुका शीतल भए पनि दिउँसो त गर्मी हुन्थ्यो। बेलुका खेत खोज्न जाने सल्लाह भयो। सुजन पनि आउने भयो हामीसँग।
बेलुकापख म घरबाट निस्किएँ। चोकमा भेटेर भग्गड दादाको घर पछाडितिरको खेतहरूमा जाने कुरा थियो। सुजन चंगा लिएर आइपुग्यो। एउटा ठूलो लट्टाइ पनि रहेछ ऊसँग। बुवाले पल्टनबाट छुट्टी आउँदा ल्याइदिनुभएको रे। हामी चोकमा भटेर कुरा गर्दै गर्दा सविन पनि आइपुग्यो।
भग्गड दादाको घर पछाडिबाट एउटा गल्ली खेतको ठूलो फाँटसम्म जान्थ्यो। रोपाइँ गर्न हिँडेका रोपार, धानका मुठा बोकेर कुनिउ लगाउन निस्किएका खेताला हिँड्ने बाटो। त्यही बाटोबाट हामी अगाडि हिँड्दै जाँदा धान खेतको पानीमा झुलको जाली चढाएर माछा मार्न बसेको शेर खानलाई परैबाट देखियो।
'का करथो बेरू सिद्रा आवा हे कि भोटि?' भनेर जानी नजानी बोलेँ।
शेर खानले भन्यो, 'अभी तक एक्को आवा नाही हे। कहाँ हिँडेको तिमीहरू चंगा लिएर?'
'तेता खेत खाली छ कि भनेर हिँडेको चंगा उडाउन। कसैले धान काट्या छ?,' मैले सोधेँ।
'अँ, हिजो नन्कु थारूले काटेथ्यो। अलिकति धान ढोइसक्यो और बाँकी छ। त्यतै जा न बरू। अरूतिर त काटे छैन कोइ,' शेर खानले भन्यो।
'तेरो माछा जालमा पर्दै गर्छ, हिँड् हामीसँग। मसँग अर्को चंगा पनि छ,' सविनले भन्यो।
सुजनले पनि आग्रह गर्यो।
सविनले भन्यो, 'माछा आधा आधा त होला?'
शेर खानले भन्यो, 'कोही के एक्को नदेब।'
'मान्छेलाई हैन बे, बकुल्ला घुमिरहेछ ऊ हेर्,' सविनले भन्यो।
शेर खानले भन्यो, 'यही मांजाले तेस्को पखेटा काट्दिन्छु अगर खायो त।'
सबै हाँस्दै नन्कु थारूको खेततिर लाग्यौं।
नन्कु थारूको खेत पुगेर खाली खेतमा चंगा उडाउन लाग्यौं। केही केटाकेटी त्यहाँ सिला बुनिरहेका थिए। धानको स-साना खसेका बाला उठाउने कामलाई उनीहरू त्यसै भन्थे। हामी चंगा उडाउन थाल्यौं। सुजनको लट्टाइ भएको चंगा शेर खानको माछा खान कुरिरहेका बकुल्लाभन्दा माथिमाथि उडिरहेका थिए। हामी काठमा बेरेको धागोको सानो डल्लोले भँगेरा जसरी हावामा फरफर गर्दै उडाउँदै थियौं धेरै तल।
'त्यहाँ माथि उडेको चंगा कसको हो? त्वार ह्वे काहो शेर खान?,' त्यही दुलो भएको ठाउँमा खन्दै मुसा खोज्दै गरेको नन्कु थारूले सोधे।
'नाहीँ हमार नाहीँ ह्वे। यो सुजनको हो के लट्टाइवाला,' हावाले बटारिरहेको चंगाको धागो तान्दै शेर खानले भन्यो।
'पर्वटिया कट्रा उपर लैगा हो, मै पहिल बार देखटु,' निधारमा धारे हात लगाउँदै माथि हेर्दै नन्कु बर्बराए।
'म पनि उडाउँछु तेरो चंगा दे त सविन,' नन्कु दाइ हामीतिर आउँदै भने।
नन्कु दाइ चंगा राम्रो उडाउँथे। उनले चंगा लुटेका थुप्रै किस्सा गाउँमा सुन्न पाइन्थ्यो।
'सुजनको चंगा लुट्नुपर्छ है नन्कु संघरिया,' उत्सुकताका साथ नन्कुलाई धागोको डल्लो दिँदै सविनले भन्यो।
नन्कु पनि धागोको डल्लोले नै चंगा उडाउने भएर हामीलाई जस्तो समस्या उनलाई थिएन। एकै छिनमा काठको ठुटोमा बेरेको धागो पातलो हुँदै गयो। माछा खान लम्किसकेको बकुल्लाले साथ छोडेर एक्लो भएको सुजनको चंगालाई साथ दिन पुगिसकेका थिए नन्कु। भिष्म र परशुरामको युद्ध जस्तो दुईको चंगाचेट सुरू भयो।
सुजनले चंगा उडाउन नन्कु थारूबाटै सिकेको थियो। पहिला नन्कु थारू उसैको खेत गरेर खान्थे। ती दुईबीच घमासान चंगा युद्ध चल्यो। हामी हाम्रो चंगातिर ध्यान नदिई त्यता हेर्न थाल्यौं। एकै छिनमा हल्लिँदै एउटा चंगा तल झर्न थाल्यो। सिला बुन्ने केटाकेटी आकाशमा चंगा हेर्दै खस्न सक्ने ठाउँतिर तँछाडमछाड गर्दै कुदे।
'जो पाई ओही लैजाई' भन्दै नन्कु थारू उनीहरूलाई हैसला दिन थाले। सुजन भने निराश हुँदै लट्टाइको धागो बेर्न थाल्यो।
सविनको हातबाट कोदालो फिर्ता लिँदै नन्कु दाइले भने, 'भोलि बिहान चोकमा आऊ, त्या झन्डीबुर्जा खेल चल्छ।'
हामी खेतबाट फर्किँदै, भोलि हुने झन्डीबुर्जा खेलबारे सोच्न थाल्यौं। पैसाको जोहो गर्नु हाम्रो चुनौती थियो। शेर खान भने टाढैबाट बकुल्लालाई ढुंगाले हान्न थाल्यो। ऊ जाल भएतिर दगुर्यो।
'भोलि बाबाले बजार जाने भनेछन्, म त आउँदिनँ होला,' सुजनले भन्यो।
'बुग्ला हमार पुरे मच्छी खाई डारिस, भोलि त कतै नगै माछा मार्नुपर्छ। चट्नी भएन भने बप्पाले गाली गर्छ,' शेर खान झुलमा हात हालेर माछा खोताल्दै एक्लै कराउँदै थियो।
मैले बुझेँ, भोलि सविन र म मात्र हुने भयौं।
छुट्टिने बेला सविनले भन्यो, 'चिन्ता नगर मसँग पैसाको जुगाड छ। भोलि साधु बुढाको घरअगाडि आइज ८ बजे।'
साधु बुढाको घरअगाडि आइज भन्ने कुराले मलाई कौतुहल भइरह्यो। अर्को दिन बिहान अरू दिनभन्दा छिट्टै उठेँ। मसँग भएको १२ रूपैयाँ लिएर म निस्किन खोज्दै थिएँ।
दिदीले 'त्यो २ को डबल यता ले, मलाई काम छ' भनिन्। नदिई भएन। त्यस बेला राजा वीरेन्द्रको पालाको भिजिट नेपाल २०५४ लेखिएको २ को डबल पगालेर औंठी बनाउने चलन आएको थियो। खोसाखोस नै हुने गर्थ्यो। बाँकी १० रूपैयाँ लिएर म निस्केँ।
मभन्दा अगाडि नै सविन साधु बुढाको घरअगाडि पुगिसकेको रहेछ। म पुग्नेबित्तिकै किन ढिलो गरेको भनेर करायो।
दिउँसो साधु बुढा घरमा एक्लै बस्थे। उनको परिवार तिवारी जिमदारको खेती कमाउँत्यो। परिवारका सदस्य बिहानै झिसमिसेमा खेतमा निस्किन्थे, साँझ परेपछि मात्र घर आउँथे। उनको बड्कौ (जेठो छोरा) भने दुई वर्षअघि मलेसिया गएको थियो। सविनले साधु बुढासँग एउटा भुड्की रहेको थाहा पाएको रहेछ। कतैबाट पाएको पैसा साधु बुढाले त्यसैमा जम्मा गर्थे रे।
सविनले मलाई साधु बुढाको घरअगाडि बुढाले देख्ने गरी लिएर गयो। उसले चोंगे बाबाले दिएको मयुरको प्वाँखको झुप्पो पनि लिएर आएको रहेछ। चोंगे बाबा झारफुक गर्ने मान्छे, बर्दियामा उनको नाम निकै चलेको थियो।
'यसले मलाई हानिराख है बिस्तारै। म ह्याँ डिलमा बस्छु आँखा चिम्लेर,' मयुरको प्वाँख मेरो हातमा दिँदै सविनले भन्यो।
मैले त्यसै गरेँ। मैले त्यो गर्न छाडेपछि उसले आँखा खोल्यो।
अनि सविनले साधु बुढाले सुन्ने गरी भन्यो, 'सुनिताले भोलि छोरा पाउँछे। बड्कौ मंगलबार घर आउँदैछ।'
सुनिताले छोरा पाओस् या छोरी, त्यो मतलबको विषय थिएन। तर बड्कौ मंगलबार घर आउँदैछ भन्ने कुराले साधु बुढाको ध्यान तान्यो।
'त्यो के हो तेरो हातको,' साधु बुढा जुरूक्क उठेर हामीतिर आउँदै गर्दा भने।
'चोंगे बाबाले दिएको मयुरको प्वाँख हो यो, यसले भविष्य हेर्छ,' सविनले भन्यो।
'अँ मैले पनि सुनेको हो। खै मलाई पनि गर त। म विचार गर्छु,' सविननिरै आएर डिलमा बस्दै साधु बुढाले भने।
मलाई आफैंमाथि विश्वास भएन- सविनले जे भन्यो, त्यो साधु बुढाले कसरी माने? यस्तो कसरी सम्भव हुन्छ?
'केटाकेटीलाई भन्दा बुढो मान्छेलाई धेरैबेरसम्म मयुरको प्वाँखले हान्नुपर्छ। मलाईभन्दा धेरै बेरसम्म हान्नुपर्छ यिनलाई। ल साधु आँखा बन्द गर त,' सविनले भन्यो।
उसले भने जसरी नै साधु बुढा आँखा बन्द गरेर बसे। म उनलाई प्वाँखले हानेरै बसेँ। उता सविन साधु बुढाको घरनजिक पुग्यो, उनको कोठाभित्रै गयो। मलाई साधु बुढाले आँखा खोले भने मार्छन् भन्ने थाहा थियो। म निरन्तर साधु बुढालाई प्वाँखले हानेरै बसेँ। सविन भित्रबाट साधुको भुड्की लिएर निस्कियो।
त्यहाँ घरबाहिर साधु बुढा आराम गर्ने खटिया थियो। त्यहाँबाट उनको धोती समायो र त्यसमा भुड्कीलाई बेर्यो। सविनले भुड्की पोको पारेर धोती भुइँमा पछारेको आवाजले साधु बुढाको आँखा खुल्यो। सविनले हतार हतार भुड्कीको टुक्रा त्यहीँ फाल्दियो र त्यहाँबाट भाग्यो।
म अलमल्ल परेँ। एकैछिन अड्किएर बेतोड भागेँ। चोंगे बाबाले दिएको मयुरको प्वाँख त्यहीँ फालेर। पछिपछि साधु बुढा लौरो लिएर हामीलाई लखेट्दै थिए।
भाग्दै गर्दा मैले सविनलाई सोधेँ, 'तैंले भनेको कुरा साधु बुढाले कसरी पत्यायो?'
'बड्कौ साँच्चिकै मंगलबार घर आउँदैछ। हिजो साँझ गोपाल काकाको टेलिफोनमा आइएसडी आको रे, बाले भनेका,' साधु बुढाको धोती घाँटीमा बेर्दै सविनले भन्यो।
म उसलाई हेरेको हेर्यै भएँ।
'ए दाइ छिटो गर्नुस् न, कुन गमला लिने हो? यहाँ भिड लागिसक्यो, तपाईं त पूरै टोलाउनुभयो,' माटोको गमला, भुड्की ठेलामा बेच्न लिएर आएको भाइको आवाजले म विगतबाट झस्किएँ!