कविता
दुर्गन्ध बोकेर बग्ने
घर छेउकै नालीभन्दा
कयौं गुना गनाउने हुन्छ
नियतको दुर्गन्ध।
निरन्तर हावामा मिसिई बहने
ढलको सुवासभन्दा
कहाँ कम छोइने हुन्छ र
रगतका फाल्साहरू बोकेर बहेको हावाको गन्ध
त्योभन्दा पनि गनाउने हुन्छ
बदनियतको दुर्गन्ध।
बग्दा पनि वर्षौंसम्म
नशामा रगत
निस्किरहँदा पनि देशको छातीबाट पसिना
उस्तै छन् बन्धकी परेका कथाहरू
पीडामा नुन छर्किएका व्यथाहरू
तात्विक फरक छैन
चलिरहेको मसान वायुको वेगमा
बस एक थान तस्बिरले भित्तो सजिएको मात्रै हो
नयाँ वर्षको लय समातेर।
जब मिसिन्छ हावामा प्रेत वायु
जब ठोकिन्छ पानीमा तीनपाने रङ
झन् बढी गनाउने हुन्छ
पानीको पाइन
लाग्छ त्योभन्दा पनि खत्तम छ
कब्जियत परेको चेतना स्तर
पक्षघात भएको
मदहोसी नियतको दुर्गन्ध।
धार लगाइराखेर
खँलाती बिग्रिएको
कोइला खरानी भएको आरनमा
ढुसी उम्रिएका चेतनाका बिजहरू
घरी घरी मुना पलाउँदै भाँचिँदै
जरा गड्दागड्दै सुकेर माटो
हाँगा र फलको खोजी गर्नु
ढलभन्दा दुर्गन्धित लाग्छ मलाई
यो नियतैनियतको दुर्गन्ध।
सफा गरेर नाली मात्रै
साफ हुँदो रहेनछ त्यसको प्रवाह
खन्याएर केही ट्यांकी पानी मात्रै
निर्मल हुँदो रहेनछ त्यसको धार
दागरहित हुँदो रहेनछ छातीको भित्री कलेबर
जबसम्म नदी मूलमा
फोहोरको विशाल पहाड छ
जस्तो कि भ्रष्टाचारको पहाड
बेथितिको हिमाल छ
र लाज पनि लजाउने गरी
बहिरहन्छ नियतको दुर्गन्ध बोकेर तातो हावा।
मलाई गर्वले सुनाउन मन छ
नियतलाई नियमले जित्ने समय धेरै टाढा छैन।