बौलाएका केही बादलहरूले
घामलाई एकपलका लागि
ओझेलमा पारेछन्।
कतै! त्यस भित्रको घाम त अस्ताएन
लाग्यो होला शुभचिन्तकहरूलाई
सुस्त स्वरमा म भित्रको घाम बोल्यो
म रापिएकै कहाँ थिएँ र?
हो, मैले जानेको त
घाम अस्ताउन
पहिले झुल्कनुपर्छ
फेरि रापिनुपर्छ
अनि, आफ्नै राप गुमाउनु पनि पर्छ।
म भित्र झुल्किएको एक घामले
मलाई अहंकारका
ती रापहरूबाट
टाढै राखिदिएको छ,
मैले मेरा रापहरूबाट अरूलाई
खरानी बनाउन पनि पर्दैन
र ती खरानीहरूलाई
यो देहभर घस्न पनि।
मैले उनीहरूको सोचलाई
म भित्रको घाम सँग
कहिल्यै मिसाउन चाहिनँ
थाहा छ, उनीहरू
त्यही जयद्रथ नै त हुन्
धर्म युद्धका कथा भित्रका,
मध्याह्नको घामलाई
विवेक शून्य सोचले
अस्ताएको सन्ध्या बनाएर,
आफ्नै मृत्युको निमन्त्रणा
आफैंलाई बारम्बार दिइरहने।
उनीहरू आफैं रापिन्छन्
आफ्नै अहंकारको राज्यभोग गर्छन्
अनि अन्यमा त्यही अहंकारको तापले
खरानी जस्तै काला बन्दछन्।