कविता
रंगीन सपनाहरू
सानो झोलामा
ठूलै सपनाहरू बोकी आएको हुँ
सानै आँटले भए पनि जसोतसो पढ्न पठाएका हौ
आफ्नो वर्षौं कृषिमा बिताए पनि
केही सिक छोरा भनेर पठाएका हौ नि है?
जसोतसो पढेकै थिएँ
पढ्दै थिएँ
सिक्दै थिएँ
अझै सिक्ने भन्ने हुटहुटी बढ्दै थियो
पढ्दै सिक्दै आहा झन अवसर थियो
देश उस्तै थियो हामी त्यस्तै थियौं
विदेशको विद्यालय
विदेशको ज्ञान
अझ झन कमाइ पनि
केही पलाउँदै थिए सपनाका हाँगाहरू
सोच्दै थिएँ
केही कमाएर पठाए भने
बाका सपनाले पनि हाँगा हाल्ने थिए
घरको खरको छानोले टिन पाउने थियो
आमाको खुसीका पोथ्राहरू अलिक मोटाउने थिएँ
सोच्दै थिएँ सोच्दा सोच्दै खै के पो पड्कियो बा
घरै पो हल्लियो
कताकता सपनाका बोटमा लागेका कलिला बतिला
सबै भुइँभरी भयो
बा
न मेरो घरले छानो फेर्न पायो
न तिम्रा सपनाले हाँगा
न आमाका सपनाका पोथ्रा मोटाउन पाएँ
मलाई माफ गरिदिनुहोस्
म फर्किन सकिनँ
थाहा छैन मेरो अनुहार चिनिने गरी
फर्किन्छु या नचिनिने गरी
थाहा छैन सन्जालमा म मरेको खबर फैलियता पनि
तिमी सम्म खबर पहिला आउँछ या मेरो लास
मलाई माफ गर्नुस् बा!
मैले धेरै सपना देखाएकोमा
मैले यो गर्छु नि बा भनेकोमा
आमा म आउँछु अनि ....किनिदिन्छु है भनेकोमा
म आउँछु अनि .....लगेर घुमाउँछु भनेकोमा
छोरो आउँछ र खाम्ला भनेर राखेको केही भए नकुर्नू है
पटुकीमा छोरालाई छुट्टाइ दिएको केही छ भने
नराख्नु है
छोरो यता यी ठूला लडाइँमा मरिसक्यो
डुम्म पड्कियो टाउको
बा म थाहा पाउँदिनँ अब
म सकिएको छु यतै
क्यालेन्डरमा चिन्ह लगाएका होलाऊ है
छोरो फर्किने दिन भनेर
मेटिदिनु है त्यही बहानामा म बल्झिरहन्छु सधैंभरी
आमालाई सम्झाउनु
आफूलाई बुझाउनु
सरकारले ल्याइदिएछ भने लास लिन आउनू
बा मलाई माफ गर्नू
अब परदेश कसैलाई नपठाउनू
अब विदेश नपठाउनू
बिना कारण म अस्ताएको छु
जे जसरी हुन्छ आफ्नो मन बुझाउनु
दिदी आमालई सम्झाउनु
उही हमासको सिकार बनेर अस्ताएको छोरो।