कविता
हिजोको कलकलाउँदो वैंशमा
बुरूक्क हुँदै हिँडेको जोश
आज मुहानको टुप्पोबाट
कुन्नि कसले पानी धमिल्याइदिएछ
अबको वैंशमा पनि रहरहरू मरेका छन्।
मरेका रहरहरूमा घरीघरी आशाहरू भित्र
निवृत्त परिवेशले काउकुती लगाइरहन्छन्
हिजोको वैंश सम्झाउँदै घरीघरी समय
उल्टो हिँडेझैं मरेका रहरहरूमा खेलिरहन्छ
अतृप्त रहरहरूमा आशाहरू घुमिरहन्छन्।
कुन्नि कस्तो प्रकारको रहरमा हो कुन्नि
समयसँगै स्व:स्फूर्त अंकुरित भैरहन्छन्
भिन्नताको खाडलभित्र खुसीको नाममा
आफ्नै अस्तित्वमा अनेकन अर्थहरू
क्रमशः रहरहरूमा घरीघरी खेलिरहन्छ।
रहरहरूमा जीवित जीजिविषाहरू
मानौं मन भिन्नताको आधार हो
मानौं कल्पनाको सागरजस्तै हो
कुन्नि कस्तो प्रकारको रहरमा
कुन्नि कस्तो गाढा जीवन बस्ने हो।
जीवन शैली एउटा स्वतन्त्र रहर हो
इच्छा अनुसार समय बेचिदिन्छ
रहरहरूमा घरीघरी दुःख छ
रहरहरूमा घरीघरी सुख छ
रहरहरूमा खेलिरहन्छ समय
निर्धक्क फूलझैं फुलाइरहन्छ।
रहरहरूको सहरमा बस्ने मनहरू
घरीघरी जीवित परिपन्चमा
अनेकन विकारहरूको प्रदूषण भित्र
निस्सासिरहँदा पनि सुगन्धित छन्
आशा अनि भरोसाका आस्थाहरू
फुलिदिन्छन् जीवनमा ढकमक्क आशाहरू घुमाइरहन्छन् जीवनहरूलाई अवयवहरूमा
यन्त्रवत कहानीमा मस्त जीवनका अध्यायहरू
अनन्तबाट मसानले मध्य गिज्याइरहँदा पनि
मद मस्त छन् नयाँ नयाँ रहरहरूका दिशाहरू।।