कविता
म र मेरो देश,
एक अर्कालाई नियाली रहेछौं,
को कहाँ निर चुक्यौं,
त्यो घुम्ती अनि मोड खोजी रहेछौं।
मैले मेरो देश बुझ्दाबुझ्दै,
खै! केमा अल्झेछ भन्नै सक्दिनँ
कुन दिन बत्ती झ्याप्पै निभ्ला भन्नै सक्दिनँ
नियतिको चक्र चल्याचल्यै छ,
हामी एक आपसमा छल्याछल्यै छौं,
सरकार बोझ माथि,बोझ थप्या थप्यै छ,
हाम्रो निश्चलपनमा मैलो पानी घोल्याघोल्यै छ
राजनीतिको दिशा दर्शन,
दूरदर्शनमा मात्रै सीमित भो
सोचको निश्चितता, कर्मको दिशा,
छैन यहाँ कुनै मार्गको सुनिश्चिता
हरेक पाइलामा दुविधा,
हरेक काममा शंका,
असन्तुष्टि नै असन्तुष्टि पछ्याइँदोरहेछ।
एक पछि अर्कोले घोची नै रहेछन्।
म र मेरो देशलाई,
अर्काले आई बनाई देओस्,
अरूकै देखासिकीमा, देश चलिरहोस् ,
आममानिसको यही छ कामना!
फेरिएकोछ सत्ता र तन्त्र,
अनुसन्धानकर्ताहरूको सकिएको छैन कामना!
देश मेरो प्रयोगशाला नै भो!
खै? केमा अल्झेछु, भन्नै सक्दिनँ,
आश र त्रासको चक्रमा भौंतारिँदै,
उत्तर-दक्षिण निहाल्दै,
अड्न नि सक्दिनँ,अघि बढ्न नि सक्दिनँ!
म त सकी न सकी उडौंला,
नत्र पारि गई चरौंला,
खै! मेरो देश कहिले पो उड्ने हो?
कसले पो उडाइ दिने हो??