म आज खुसी छु, अलमलमा छु, डरा’को छु। हिजो झण्डै ५ वर्ष नै भयो होला हामी अघिल्लो चोटि भेटेको। ३ वर्षकी छोरीलाई हात समाउँदै हिँडिरहेकी थिई। मैले पछाडिबाट चिनिहालेँ। त्यो घुम्रिएको कपाल अनि दाहिने हातको पछाडि पट्टिको लामो जन्म दाग, म कत्ति जिस्क्याउँथें उसलाई ग्रहण लागेको मान्छे भन्दै। मैले नबोलाई बस्नै सकिनँ, बोलाएँ।
'तारा, ए तारा।'
मेरो आवाज चिनेर नै होला सायद ‘राकेश तिमी!’ भन्दै घुमी अनि मेरो हात आफैंले तानेर हात मिलाई। छोरीलाई चिनाउँदै मामालाई नमस्ते गर्स्यो छोरी रे! रिस मेरो नाककै टुप्पोमा थ्यो।
केही वर्ष अघिसम्म सैंया सैंया भन्थी आज आएर भैंया बनाई!
ऊ एकल महिला, श्रीमान खै अर्कै लिएर कता गएर बसेको रे! कुरा गर्दै जाँदा थाहा पाएँ। २ घण्टा लबीम मलको 'फूड कोर्ट' मा निकै गफियौं। धेरै कुराहरूको याद आयो, याद गर्यौं, त्यसको कुरा गर्यौं। छिनछिनमा गम्भीर भयौं, जोक मार्यौं, हाँस्यौं।
हो! मैले ५ वर्षभरी मिस गरेको पल यही रै’छ, यसकै खोजीमा होला मैले घर-अफिसबाहेक केही गरिनँ। यही नै थियो कमी भा’को यही नै थियो। साइडमा छोरी ‘मामा यो हेर्स्यो, त्यो हेर्स्यो, मेरो बार्बी हेर्स्यो; मामा कस्तरी हाँसिसेको’ भनेर कान पकाइरा’को रै थिई।
इन्जिनियरिङ कलेजमा ४ वर्षसँगै बिताएको, ऊ आर्टिटेक्ट, म सिभिलl खै क्याटिन जाँदाजाँदा कमन फ्रेन्ड्सहरुले गर्दा लभ परेको। धेरै उतारचढाव भए बीचमा।
आज नि भेट भो हाम्रो, हिजै प्लान बना’को। छोरी देख्नासाथ मैले नदेखेको जस्तो गरेँ। फेरि मामा-मामा भनेर दिक्क बनाउँछे भनेर जब ‘दर्शन अंकल भनी’ तब आश्चर्य लाग्यो। सायद हिजो घरमा उनीहरूको केही राम्रै कुरा भएको होला। एक दिनमा मामाबाट अंकल भएँ।
आज झन् धेरै कुरा भो, छिनछिनमा हात पनि समाइयो पुराना दिनहरूजस्तै। छुट्टिनुअघि एउटा खाम मेरो हातमा थमाई अनि घर पुग्नासाथ खोल्न तर उसको अगाडि चाहिँ नखोल्न भनी।
अहिले खाम मेरै हातमा छ। के छ त्यसभित्र था’ छैन। जान्ने इच्छा छ तर खोल्ने आँट छैन!
खामलाई हातमा लिई म टुलुटुलु हेरिबसेँ, खामले नि मलाई त्यसरी नै हेर्दै होला। खोलेर खुरूखुरू हेरेको भए सब छर्लङ्ग हुन्थ्यो, मुटु हुनु पर्यो नि! मुटु मैले पाँच वर्षअघि नै बेचिसकेको थिएँ, ताराले मेरो पछाडि हाम्रै घरबेटीको कान्छो छोरो तरूणसँग अफयर चलाएर 'हामी अबसँगै हुन सक्दैनौं' भनेपछिबाट।
मुटु त काँपिरा’को थियो नै। अब हातले नि त्यसै गर्न थाल्दैछ। मुख पनि सुक्यो।
‘खै! एक थोपा पानीले मुख भिजाउनु पर्यो।’ बोतलको बिर्को खोल्न खोज्छु, सकिनँ। भुइँमा थचारिएँ उभिएको ठाउँमै। अनेकन कुरा खेल्न थाल्यो यो डराएको मनमा।
‘के सनश्री मेरी छोरी होला त? ताराले फेरि सँगै होऔं भनेर चिठ्ठी लेखेको त हैन? सनश्री? अँ! सनश्री। फुच्चीको नाम सनश्री पो हो त, मैले तारालाई सुनाएको थिएँ कलेजमा, सनश्री नाम मलाई एकदम मनपर्ने नाम हो भनेर। छोरीको नाम सनश्री नै राखी। हैन के भइरा’छ यहाँ?’ सोच्दासोच्दै चक्कर आउन थाल्यो आँखाहरू धमिलिँदै गए। त्यतिकैमा मेरो फोन बज्न थाल्यो। फोनतिर हेर्दै नहेरी छामछुम गर्दै फोन हातमा लिएर म्युट गर्दिएँ। एकछिन आँखा बन्द गरेर लामो लामो सास फेर्न थालें। फोन हेरेँ ताराको मिस्डकल!
‘हरे शिव!’
मैले कलब्याक गरें।
‘हेलो! राकेश’
‘हेलो, तारा’
‘सुन न! म त तिम्रो घर बाहिर छु। तल ढोका खोल्न आऊ न!’
ज्वागलको त्यो गल्लीतिर हाम्रो डेरा, पुरानो घर तीन तल्ले! पहिलो वर्ष ऊ पाटनढोकामा दिदीसँग बस्थी। म पहिलेदेखि त्यहीँ ज्वागलमै तरणकै घरमा बस्थेँ। हामी नजिकिन थालेपछि सँगै बस्न निधो गर्यौं। उसको दिदीलाई फकाउन आकाशै खस्लाजस्तो भाको थियो। अन्तिममा विद्यार्थीहरुको साझा हतियार सामूहिक अध्ययन अपनायौं। मेरो डेरासँगै ताराको साथी उस्माको घर थियो, उस्मासँगै बसेर समूह बनाएर पढ्ने बहानाले उसले दिदीको मन जिती। म यो कुराको कलाकार नभए नि लेखक र डाइरेक्टर चाहिँ थिएँ।
मेरो फाइनल इयरसम्म सँगै बस्यौं। ताराको चाहिँ अझ ६ महिना बाँकी नै थियो। रिजल्ट आउनुअघि नै एउटा चिनेको दाइको कन्स्ट्रक्सन कम्पनीमा काम गर्न थालिसकेको थिएँ। कामको सिलसिलामा महिनाको २-३ चोटि मेलम्ची गइरहनु पर्ने। ज्वागल छोडेर मूलपानीको क्वाटरमा बस्न थालिसकेको थिएँ। तारालाई सँगै नलगेको कारण चाहिँ उसको पढाइ। ६ महिना त बाँकी हो भनेर ऊ ज्वागलको पुरानै कोठामा बसेर पढ्थी। फोनमा दिनदिनै जसो कुरा भए पनि भेट्न चाहिँ हप्ताको अथवा २ हप्ताको एकचोटि मात्र।
अन्तिम परीक्षा आउन लागिसकेको थियो– ऊ पढाइमा व्यस्त, म काममा। भेट पातलिँदै गयो, कुरा फोनमा मात्र सीमित भयो।
परीक्षा सकेको दिन निकै उत्साहित थिएँ म। १ महिना अगाडि नै त्यो दिन र भोलिपल्टको छुट्टी मिलाइसकोको थिएँ मैले। भेटेदेखि नै उसको अनुहारमा न त्यो उत्साह थियो, न त्यो हार्दिकता नै। मायाको त कुरै नगरम्।
‘के भो? कस्तो भो परीक्षा? राम्रो भएन?’
‘हैन! परीक्षा त राम्रो भो’
‘अनि किन अँध्यारो मुख?’
‘अम्!’ भनेर उसले लामो सुस्केरा लिई।
किन हो किन उसले ब्रेकअपको कुरा गर्छे कि भनेर मलाई भित्रबाटै लागिसकेको थियो उसको मौनता र सुस्केरा देखेर। सायद मैले खोजेको सम्बन्ध पनि यस्तो थिएन, १-२ महिना अघिदेखि नै मलाई हाम्रो सम्बन्धको अवसानको भविष्यवाणी आँखाअगाडि र सपनामा देखिन थालिसकेको थियो।
खाम हातैमा थियो। मनमा डर र अनौठोपन दुइटै अनुभव भइरहेको थियो। उसैले दे’को खाम उसकै अगाडि त के लानु? डसना उठाएर मुनि कोचिदिएँ।
‘अघि भर्खर त भेटेर आ’को फेरि किन आ’की होला?’ आश्चर्य त थिएँ नै तर भित्रभित्र खुसी र उत्साह नि मिसिएको थियो– फेरि भेट्न पाएँ भनेर। ढोका खोलेँ।
‘कसरी फेरि?’
‘हाहा! तिमी गइसकेपछि दिदीलाई भेटें अनि सानालाई छोडेर आएँ।’
मैले ‘हो र?’ भन्न नपाउँदै सानो आवाज उसको मुखबाट निस्कियो ‘तिम्लाई भेट्न।’ यो भन्दै गर्दा उसको अनुहार रातै भइसकेको थियो, मेरो नि अनुहार त्यस्तै हुनुपर्ने हो। मनमा चाहिँ त्यही कलेज ताकाको उत्साह भरिएर फुरूङ्ग भएको जस्तो भान भइरा’को थियो।
‘के हाम्रो फेरि माया बसेको हो र? हामी फेरि पहिलेकै जस्तै सम्बन्धमा हौं र? एक विवाहित एउटा बच्चाकी आमासँग प्रेम सम्बन्ध गाँस्नु कतिको उचित होला? कानुनी रूपमा त मिल्ला। समाजले के भन्ला फेरि।’
यस्तै-यस्तै धेरै अनुत्तरित प्रश्नहरूको वरिपरि नै हामी फेरि नजिकिन थाल्यौं।
‘पाँच वर्ष वनबास गएको मन बल्ल घर फर्क्यो।’ उसको काखलाई सिरानी बनाई आफ्नो टाउको हालेँ अनि उसको हात समातेर आँखा जुधाएर भनेँ।
उसले नि धेरैपछि यस्तो अनुभव गरेको र साह्रै खुसी भ‘को कुरा सुनाई। यसरी नै २-३ महिना बित्यो। हामी तीन जना सधैंजस्तो नै भेट्न थाल्यौं। अफिसबाट चाँडो फर्केको दिन म आफैं नि छोरीलाई स्कुलमा लिन जाने गर्थेँ। उसको दिदीलाई नि लगभग सब कुरा थाहा भइसकेको थियो। हप्ता दुई हप्तामा रेगुलर चेकअप भनेर तारा अस्पताल जाने दिन पनि म अफिसबाट छिटो निस्केर छोरीलाई लिन स्कुल जान्थेँ।
एक दिन छोरीको परीक्षाको रिजल्ट लिन म नै स्कुल गएको थिएँ। क्लास टिचरले रिपोर्ट राम्रो छ भनेर एउटा खाम थमाउनु भो।
‘खाम! चिठ्ठी! ताराको कुरा ! घर गएर खोल्नु।’ ४-५ महिनाअघिको कुरा बल्ल याद आउन थाल्यो। मैले डसनामुनि कोचेको खामको याद आउन थाल्यो। ताराले त्यो दिन भनेको कुरा सब याद आउन थाल्यो। मलाई कतिखेर घर गएर त्यो खाम खोलुम् जस्तो भइसकेको थियो।
म केही पनि नसोची घर गएँ अनि हतार हतार ओछ्यान पल्टाएँ। फोन बज्यो।
‘हे भगवान्! कति फोन आउँछ!’
मैले मतलब गरिनँ, फोन बजेको बज्यै थियो, म चाहिँ खामको स्टिच हातैले खोल्न कोसिस गर्दै थिएँ। हात कामिरा’कै थ्यो, मन पनि आँतिरा’कै थ्यो।
‘ऐंया! घोच्यो, जहाँ गाह्रो त्यहाँ सारो भनेको यही नै होला’ अन्त्यमा खामको छेउछेउ च्यातेर चिठ्ठी निकालेँ।
चिठ्ठी ताराकै अक्षरमा रै‘छ। तेत्रो महिनापछि चिठ्ठी खोली पढ्न लाग्दा पनि आँट भने रत्तिभर थिएन। टाउकोले सिलिङतर्फ हेरेँ आँखा चिम्लिएँ अनि लामो सास तानेँ, वरिपरि भएको भएभरको साहस शरीरभित्र प्रवेश गरेको जस्तो अनुभव भयो। फेरि फोन बज्न थाल्यो। ताराको दिदीकै रै’छ। मैले म्युटमा हालेँ अनि चिठ्ठी पढ्न थालेँ।
प्रिय राकेश!
धेरै-धेरै माया।
हिजो तिमीलाई भेट्दा सुरूमा एकदम नौलो लागे पनि पछि अत्यन्त खुसी लाग्यो। सनश्रीलाई भेटाउँदा ‘मामा’ भन्न लगा’कोमा मलाई अहिले सही नसक्नु लाज लागेको छ। हिही। त्यो बेला म निकै नर्भस भएको थिएँ। पछि लबिम मलमा त्यो कुरा सम्झेर मलाई हाँसो पनि उठिरा’को थ्यो। सनश्री नाम त तिम्लाई नयाँ नहोला। मैले तिम्रो सम्झना मेरो जिन्दगीबाट कहिल्यै नहटोस् भनेर नै यो नाम हाल्देको हो। तिमीसँग ब्रेकअपपछि निपुणसँगको सम्बन्ध धेरै समय रहेन। निपुणसँगै हुँदा पनि तिमीलाई नसम्झेको मेरो दिन थिएन होला। मैले त्यसपछि तिम्लाई धेरै ‘कन्ट्याक्ट‘ गर्न खोजें, तिम्रो फोन ‘स्वीच अफ’ नै आइरा’को थियो। मैले तिम्रो व्याचको मिल्ने साथीहरू सुमन, देशान्त र अनुज तीनै जनासँग तिम्रोबारे जान्ने कोसिस गरेँ। उनीहरूले आफूले तिम्रोबारे केही थाहा नभएको बताए– बारम्बार सोद्धा पनि। सायद तिमीले नै केही भन्न मनाही गरेका थियौ वा साँच्चिकै उनीहरूलाई थाहा नभएको हो चाहिँ मैले चासो देखाइनँ।
पढाइ सकेर ६ महिना जति काम गरिसकेपछि घरबाट बिहेको प्रेसर आयो। आफ्नो इच्छाविपरीत बिहे गरेँ सुनिलसँग। ऊ असल मान्छे हैन- पिटाइ र गाली मेरो दिनदिनैको रूटिन हुन्थ्यो। ऊसँगको सबभन्दा राम्रो चिज भनेकै मेरी छोरी सनश्री मात्र हो।
बिहेको २ वर्षपछि सुनिलसँग मेरो सम्बन्ध विच्छेद भयो – जुन ऊसँगको मेरो दोस्रो राम्रो कुरा हो। त्यसपछि हामी आमा-छोरीको दिन यस्तै सामान्य तरिकाले चलिरह्यो – हिजो तिम्लाई नभेटुन्जेल। तिमी त अहिलेसम्म सिङ्गल नै रै’छौ। तिम्लाई हिजो भेटेर कुरा गरिसकेपछि मलाई किन हो पुराना दिनहरूको धेरै याद आयो। हामीले सँगै बुनेका सपनाहरू फेरि बकेट लिस्टमा लामबद्ध भएर बसेको अनुभव भयो। तर यो सब मेरो स्वार्थले भरिपूर्ण कुराहरू हो।
मैले यसमा तिम्रो विचार पनि नसोची केही पनि नसोधी सबै आफूलाई लागेको कुरा लेख्दैछु।
सनश्री एकदम मायालु बुनु हो। उसले बुवाको माया कहिल्यै अनुभव गरेकी छैन। मलाई मेरो कति पनि चिन्ता छैन। म पछि सानाको के हुन्छ भनेर म दिनदिनै सोचेर रून्छु। ठीक १ हप्ता अगाडि मलाई प्यानक्रियाजको क्यान्सर भएको कुरा थाहा पाएँ अनि त म झन आत्तिएँ। तिम्लाई भेटेपछि मेरो स्वार्थपन झन् बल्झियो– सनश्रीको लागि।
डाक्टरले ४ देखि ६ महिनाको मात्र समय दे’को छ। बाँकी समय, म तिमीसँग बिताउन चाहन्छु यदि तिम्रो अनुमति छ भने।
उही तिम्रो तारा (ग्रहण कुमारी) !!
पत्र पढ्न सकिँदा आँखाहरू आँसुले भरिसकेका थिए। मुख सुकेर प्याकप्याक भएको थियो। धमिलो आँखामै फोन हेरेँ। १० वटा मिस्ड कल र २ वटा मेसेज रै’छ ताराको दिदीकै।
मेसेज खोलेँ, ‘राकेश, तारा इज नो मोर – 'प्लिज कम एज सून एज पसिबल एट नर्भिक एमर्जेन्सीI'