कविता
लाग्दो हो तिमी राजा हौ
म सिपाही
तिमी मन्त्री हौ
म तिम्रो घोडा
त्यसैले त
उठाएर कोर्रा
बर्साइरहेछौ म माथि निरन्तर।
तिमी
सिँढीको शिरमा बसेर
हेरिरहन्छौ गिद्दले झैं
आलो सिकारको खोजीमा
जारी गरिरहन्छौ फरमान।
खुवाइ रहन्छौ जुठो पुरो तिमी अघाएसि
लाग्छ तिमी श्रृष्टिकर्ता हौ
अनि संहार कर्ता
तिमी कालजयी छौ
तिमी अजर हौ
तिमी अमर छौ
कहिल्यै थाक्ने छैन तिम्रो घोडा
रुक्ने छैन तिम्रो सवारी
नुहिने छैनौ हरियो बाँस झैं
रोकिने छैनन् तिम्रा पदचापहरू
अनन्त काल सम्म।
तर एक दिन
थाक्नेछ तिम्रो घोडा
रोकिनेछ तिम्रो सवारी
हराउने छ तिम्रो फरमान
खोलाको गीत झैं
सोध्ने छैन कसैले
तातो चिसो चिया कफी...
खोलिने छ नीलो कोट र रातो टाइको दम्भ
र लपेटिने छ खुला आकाशमा
त्यो बेला सम्म पनि
छिमेकीको ठेला कुदी नै रहनेछ
सँधियारको गुलाब फुलिनै रहनेछ
तिम्रो सास भर्न समेत इन्कार गर्नेछ पिपलले
अनि ढल्नेछौ तिमी डङ्ग्रङ्ग रक्सी भट्टीको अघिल्तिर
गिद्दले सिनो झै
उठाइने छ हरियो बाँसमा
चढाएर चितामा
ऐंया.......... पनि भन्न नपाइ तिमीले
पोल्नेछन् आगोमा
घोची घोची तिम्रै आफन्तले
त्यसैले त
निस्क महाशय आफ्नो दुनियाँबाट
खेल सकिएपछि
बस्नैपर्छ एउटै टोकरीमा कोचिएर
आखिर तिमी पनि
चेसको एउटा गोटी न हौ।।