कविता
चिन्ताले सताइरहेको छ आजभोलि
जाऊँ कहाँ जाऊँ ?
प्रश्न आफूले आफैंलाई गर्दै।
फेरि दिँदै हौसला,
पुछ्दै आँखाको आँसु,
मेट्दै केही आलो, केही पाकेका घाउ।
सुम्सुम्याउँदै आफैंलाई
म आज दिइरहेको छु।
मलाई मैले सान्त्वना।
चिन्ताले सताइरहेको छ आजभोलि
बसौं कहाँ बसौं?
न सकिन्छ अब थेग्न आफैंलाई
सकिन्छ न पाल्न आफ्नै परिवार,
आमाको रोदन सुन्दासुन्दै।
बुवाको पैंताला हेर्दाहेर्दै।
दाजुले बगाएको पसिना चहार्दै।
छोराछोरीको भाग्य लेख्न,
केही सपना देख्न,
अब जाऊँ म कहाँ?
उहीँ विदेश?
कोही त भन्देऊ अब म कहाँ जाऊँ?
नाम्लो बोक्दाबोक्दै अब कपाल झर्न थाले।
मल ओसार्दाओसार्दै अब ढाड सोझिन छाडे।
खुट्टा चिरिएर कयौं रगत बगाएर फाले
अब म फेरि पसिना बगाउन विदेश जाऊँ?
बोल्देऊ सिंहदरबार अब म कहाँ जाऊँ?
ए बोल्देऊ सांसद भवन म अब कहाँ जाऊँ?
किन बोल्दैनन् कोही?
कहाँ छ देश?
कहाँ छन् देशका नागरिक?
कहाँ छ सपना?
कहाँ छ भरोसा?
कहाँ छ सारथि?
एक्लै एक्लो भएको छु म आज,
म खोजिरहेछु केही ,
म खोजिरहेछु कोही,
बिन्ती कोही त बोल्देऊ?
न पाइन्छ मल,
न पाइन्छ जल,
भोको पेट बिना चामल,
खै कति दिन चल्न सकूँ?
कोही त बोल्देऊ,
यहाँ दोष कसको?
भाग्यको कि दिएको ?