कविता
तिमी मेरो आँगनमा
परिवर्तनको नारा बोकेर आयौ,
समृद्धिको सपना बाँड्दै आयौ,
र मैले पनि तिमीलाई साँच्चिकै
परिवर्तको संवाहक सम्झें,
क्रान्तिको नायक सम्झें,
समृद्धिको मिँयो ठानें
स्वतन्त्रतादायक मानें।
अनि बनें तिम्रो अन्धभक्त।
तिमीले इतिहास दर्शाउने शालिकहरू ढाल्न भन्यौ,
ढालें र निरंकुशता ढलेको ठानें,
मन्दिरको गजुर भत्काउन भन्यौ, त्यो पनि गरें
बुर्जुवा नैतिक शिक्षाका पुस्तक जलाउन भन्यौ
त्यो पनि गरें र मनाएँ उत्सव रूढीवादी ढालें भन्दै।
तिमीमा आफ्नो नायक देखें,
तिमीलाई सत्तामा पुर्याउन तातो गोली खाएँ,
परिवार, आफन्त कति गुमाएँ कतिलाई रूवाएँ।
तिमीले सत्ता पनि पायौ,
तिम्रो सत्ता प्राप्तिमा आफ्नो विजय देखें, विजयोत्सव मनाएँ।
अपसोच,
दशकौं बित्यो तिम्रो सत्तारोहणको,
न समृद्धि देख्न पाएँ
न गरिखाने माहोल पाएँ
तै पनि तिमीले गाइरह्यौ,
उनै झुटा आश्वासनरूपि कर्कश गीतहरू
मलाई दिग्भ्रमित गर्न।
तर तिम्रो त्यो भ्रम,
तिमीले विकास भन्दै ठड्याइएका भ्युटावरले चिरिदिए
जब मैले बाइस सय फिटको डाँडामाथि बनेको
सय फिटकोे भ्युटावरबाट नियालें,
रित्ता बस्तीहरू देखें,
उर्वर जमिनहरू बाँझा देखें,
विदेशिन गुन्टा बोक्दै लामबद्ध तन्नेरीहरू देखें।
बेसहारा बुढा बाआमा देखें,
र देखें आमाको पेटबाटै ऋणको बोझ बोकेर जन्मिने शिशुलाई।
क्या! बात तिम्रो परिवर्तन!!!