सिजा दरोखोलोको इतिहास, सभ्यता, प्राकृतिक संरचना र देन निकै अलौकिक र मनमोहक छ। दायाँबायाँ पहाड, पहाडका काखमा ढपक्क परेका धुपी सल्लाका रूख, बीचैमा कलकल बग्ने हिमा।
नदी काखमा खेत, अलि भिरालोमा मोती जस्तै कमेरोले लिपेका घर। तिनै घरसँगै भर्याङ जस्तै लस्करकै मिलेका बाडा र जिउँला! कुनै सुन्दर बगैंचामा फूलेका फूलझैं देखिन्थे।
यिनै सुन्दर मानवीय बगैंचाभित्र सिजा दराकै सबैभन्दा ठूलो घर जगजित नेपालीको थियो। उनी मस्टो देवका धामी, सबैले श्रद्धा गरी मास्टर धामी भन्दै बोलाउँथे।
जगजित नेपाली सिजा दराका नामुद हस्ती थिए। ऊ जमानाका बैदार, साह्रो गाह्रोमा गाउँलेहरू उनकै सल्लाहमा चल्थे। चलअचल धन उनीसँग प्रशस्त थियो। लेकमा थलो, गाडमा घट्ट, पाखाभरि आँखाले नभ्याउने स्याउका बगैंचा।
ढुकुरलाई समेत चार उडान बस्नुपर्ने रातारात सिमी फल्ने भुवा (ठूलाठूला पाखा), हिमा नदीसँग टाँसिएका सय मुरी धान फल्ने एकसय पचास भारी खेत उनकै भागमा थिए। गाउँका जिम्वाल प्रधानपञ्च उनकै घरमा पैंचो माग्न आउँथे। अक्सर घरमा पाहुना आउँदा गाउँले जगजितकै भकारी धेरै सम्झिन्थे। अर्को रोचक कुरा के थियो भने सारा गाउँलेले जगजितको विवाहमा कालो कोट लगाएका थिए।
नेपाली परिवार गाउँकै ठूलो परिवार थियो। अर्मपर्ममा उनको बाह्रभारी डाबमा (ठूलो खेत) मेला लाग्थ्यो।
चोपाउँनी (खेतमा पारिवारिक शुभ कार्यक्रममा गरिने रमाइलो) त पैठभन्दा भव्य र रमाइलो हुन्थ्यो। सारा गाउँ उनकै खेतमा झर्थ्यो। जगजितका तीन श्रीमती, चार भाइ छोरा, सात नातिनातिनी र दुई कुकुर भाउसिंह र बाघ थिए। उनी दुई कुकुरलाई आफ्नै परिवारकै सदस्य ठान्थे। अक्सर सिकारमा भाउसिंह र बाघ उनका प्रिय साथी थिए।
सिकार पछ्याउन र पत्ता लगाउन यी दुई निकै माहिर थिए। पोहोर साल जलजला लेकमा जगजित सिकार खेल्न जाँदा भालुले झन्डै सिध्याएको थियो। भाउसिंह र बाघले उनलाई भालुबाट बचाए। भालुलाई यसरी लखेटे कि, भालु आत्तिएर उकालो चढ्न बाध्य भएको थियो रे।
उनै जगजितको कान्छो नाति, छायानाथको जेठो छोरो जय नेपाली सहरमा मास्टर भएको थियो।
हिजोआज सहरको नामुद महाविद्यालयमा पढाउँथ्यो। बाजे जगजित नाति जयले कलेज पढाउन थालेपछि निकै खुसी थिए। सबैलाई सुनाउँथे मेरो ठूलो सपना साकार भएको छ।
नाति जयलाई बारम्बार फोनमा सम्झाउँथे, 'बाबु आफू भलो त जगत भलो, अब तैंले सारा सिजा दरामा शिक्षाको ज्योति फैलाउनुपर्छ। यो कुसंस्कार कुरीतिका विरूद्ध बुलन्द आवाज बोल्ने सामूहिक आवाज निर्माण गर्नुपर्छ। चाँडै तँ आफ्नै गाउँ आउनुपर्छ। यो दरालाई बिउँझाउने तेरो दायित्व हो।'
जय मास्टर हुनुअघि सहरमा प्रगतिशील विचारधारामा आवद्ध थियो। सधैं समता, समानता, सामाजिक स्वतन्त्रता र समाजवादको वकालत गर्थ्यो। सहरमा प्रहरीका धेरै लाठी खाएको थियो। अश्रुग्यासभित्र दिनहुँ रूमलिएको थियो। कयौं रात हिरासतमा बिताएको थियो। स-साना समस्यामा बोल्थ्यो, प्रत्येक आन्दोलनमा उपस्थिति हुन्थ्यो, त्यो पनि अगाडि।
टायर मसालको मुस्लोमा, मूल्य वृद्धि, पक्ष-विपक्ष सबैका समर्थनमा आवाज भएर उभिएको थियो। विद्यार्थी राजनीतिमा अब्बल लडाकु थियो जय।
जयको चाहना राजनीति थियो। कयौं सपना थिए उसका। तर परिस्थितिले सबै भताभुंग भयो। उसले थुप्रै हन्डर नखाएको होइन। धेरैलाई हारगुहार गरेकै थियो। धेरै टाउके दलितसामु आफ्ना पीडा दुःख सुनाएको थियो। जागिर मिलाइदिन दिनहुँ अनुरोध गरेको थियो। उसलाई लाग्थ्यो यिनै टाउकेले सहारा देलान्, समग्र समुदायलाई दलदलबाट निकाल्ने काम गर्लान्।
दुर्भाग्यवश उसले तिनै व्यक्तिवादीलाई आफ्ना मान्छे ठानेको थियो। तर बिडम्बना, ऊ कसैको आफ्नो थिएन। र, त कसैले उसलाई ठाउँ दिएनन्। नातावाद र कृपावादमा रूमलिएको समाजमा दलित कहाँ छुत हुन सक्थ्यो र?
एकदिन राष्ट्रिय अखबारले कालिकोटमा दलितको हत्या भएको खबर छापे। गाग्री छोएको निहुँमा बालिकामाथि निर्घात कुटपिट भएकाले मृत्यु भएको समाचार आयो। अर्को दिन अन्तरजातीय विवाह गरेका कारण दलित युवाको बर्बर तरिकाले हत्या भएको समाचार पनि थपियो।
जय आफ्ना कमरेडकहाँ गयो।
समाचारलाई व्याख्या गर्यो, आन्दोलनको निम्ति माहोल बनाउन आग्रह गर्यो।
'अहिले हुँदैन, अलि समस्या हुन्छ, सामाजिक भाइचारा भाँडिन्छ' भन्ने उत्तर पायो। दुई जना कमरेड नरेश र सुमनले भने समर्थन जनाए।
साथीहरूको रवैया र माहोलबाट जय झस्कियो। साथका लागि जोडिएको संगठनबाट आहत पाउँदा ऊ छाँगाबाट खसेझैं भएको थियो। अघिपछि दुई रूपैयाँ तेलमा बढ्दा तात्ने कमरेड जातको आधारमा मारिँदा पन्छिन खोज्दै थिए। सदियौंदेखिको कुसंस्कार, जातीय विभेदविरूद्ध बोल्न डराएका थिए।
त्यस दिनदेखि जय निराश देखिन्थ्यो। बेलाबेलामा पार्टीको दस्तावेज हेर्थ्यो। विधान पल्टाउँदै कमरेडका कुरा सम्झिन्थ्यो। लामालामा सुस्केरा हाल्थ्यो। त्यसदिन यता संगठनको कार्यक्रममा अब कहिल्यै नजाने जयले निधो गर्यो। सुमन र नरेशले धेरै सम्झाए तर उसले मानेन।
ऊ भन्थ्यो, 'यो संगठन वस्तुका लागि रहेछ, मूल्यको रहेछ। यहाँ विचार र मुद्दामा जात हेरिने रहेछ। म कसरी जाऊँ यार त्यहाँ? फगत चर्चा र फाइदाका लागि गर्ने राजनीति मेरो होइन। मेरो सपना, लडाइँ छ। मैले जात देखेको छु, आघात सहेको छु। त्यसका लागि साथ मिलोस् भनेर जोडिएको हुँ। विचार बुझेर केही हुन्छ भन्ने आशले म मिलेको थिए तर आज देखियो, सबै बुझियो।'
सुनेको थियो, आफ्नै कमरेडको मुखबाट- 'दमाई ठूलो बन्न खोज्दै छ! जात अनुसार बसे हुन्छ! ठूलै भाग खोज्दा गाह्रो पर्ला भनिदिनु।' यस्ता अलंकार आफ्नैबाट पाएको थियो। ऊ सधैं बेवास्ता गर्थ्यो। मलाई यिनीहरूको साथ चाहिन्छ भन्थ्यो। कालिकोट घटनाले उसका आँखा खोलिदियो।
जातवादी धरातल मान्छे र मस्तिष्क राम्रोसँग बुझ्न सिकाएको थियो। मुखमा रामराम बगलिमा छुरा आफ्नैबाट महसुस हुनुको पीडा अर्को तनाव थियो। हुन त यो जातले दलितलाई कहिल्यै सुख दिएन। स-साना कुराले मनमा ठूलो चोट पुर्याउँछ। जब विद्यालयमा सामाजिक विषयमा जात पढ्नुपर्छ, छुवाछुत तथा जातीय विभेदको चर्चा गर्नुपर्छ। तब दलित विद्यार्थीको मन मस्तिष्कमा कस्तो पीडा हुन्छ होला! त्यो संगठनले कहिल्यै बुझेन। मानवीय संवेदनामा कहिल्यै मनन गरेन।
समाजको सोच यति निकृष्ट छ कि व्यक्तिको पहिचान उसको थरलाई आधार मानेर निर्धारण गरिदिन्छ। जयकै सवालमा पनि यस्तो नभएको होइन। उसका हजुरबुबा जगजित गाउँमा सबै दृष्टिकोणबाट अब्बल थिए। तर पार्टीले कहिल्यै टिकट दिएन। अगाडि सबै ठिक्क पार्थे, 'तपाईंबाहेक अरू को योग्य छ' भन्थे। तर भित्रभित्रै जातको राजनीति गर्थे।
जगजित थाकिसकेका थिए तर पनि नातिलाई भन्थे, 'मैले त सकिनँ तर तैले सक्नुपर्छ। तैंले नसके समाज उस्तै हुन्छ।'
बाजेका कुराले जय प्रभावित नभएको होइन। उसको स्वभाव र उद्देश्य पनि बाजे जगजितले देखेको सपना जस्तै थियो। फलतः ऊ विद्यार्थी राजनीतिमा होमिएको थियो। विडम्बना आज पटकथा अर्कै छ, कथाले नयाँ मोड लिएको थियो। बाजे जगजित भन्ने गर्थे, 'नाति यो थर जातदेखि कहिल्यै नडराएस्। बरू सक्छस् भने घृणा गरेस्। जातलाई जितेस्। मानवताको रक्षक भएस्।'
यो जात थर बडा सस्तो र बेकुफिया हो। मानिस बिनाकारण तर्सिन्छ, झर्किन्छ, रूप स्वभाव बदलिन्छ जातकै कारण। जय थाहा पाउन्जेल ठिकै हुन्थ्यो। सबै समान जस्तो देखिन्छ जब नेपाली पछाडि आउँथ्यो। त्यसपछि जातवादी मनोविज्ञानले कुसंस्कारी रूप देखाउन थाल्थ्यो। आखिर नेपाली शब्दले सारा राष्ट्रको प्रतिनिधित्व गर्थ्यो।
जातमा रमाएको जात प्रेमी कुल, गोत्र, पुर्खा सबै खोतल्न थाल्छ। जातवादी भाष्यलाई कसरी हुन्छ विनिर्माण गर्छु भनी जय कस्सिएको धेरै भयो। उसको हजुरबुबाको चाहना पनि त्यही थियो।
जगजितले 'नाति कति कमाउँछस्, घर पठा' कहिल्यै भनेनन्। बरू उसलाई सम्झाउँथे, 'मान्छे बनाउने उद्देश्य राख्नु'।
बाजेको सपना र ढाडसले जय विभेदविरूद्ध सधैं जाइलाग्थ्यो।
कालिकोट घटनाविरूद्ध विरोध स्वरूप ऊ एक्लै मसालसहित माइतीघर मण्डलमा गयो। सधैं भरिभराउ हुने माइतीघर त्यसदिन रित्तै थियो। ऊ बेस्सरी चिच्यायो, रोयो, मण्डल वरिपरि मसालसहित एक फन्को लगायो। उसलाई देख्नेबित्तिकै छेउका पाँच प्रहरीले च्याप्पै समातेर भ्यानमा हाले।
प्रहरीले केरकार गरेपछि उसलाई छोड्यो। हिरासतको बसाइ उसको लागि नयाँ थिएन। तर पहिलोपटक ऊ एक्लै थुनिएको थियो। अघिपछिका आन्दोलनमा साथीहरूसँग हुन्थ्यो।
यो समाजले उसको थरलाई कहिल्यै समेटेन। जतिसक्दो पन्छाएर विभेद गर्यो। त्यसदिनको एक्लोपन यो समाजले जात व्यवस्था विरोधीलाई दिएको उपहार थियो।
कोठा फर्किएपछि उसको मनमा अनेक प्रश्न आए ...।