'हेलो, बस चढ्यौ?'
'हजुर भर्खर चढेँ, बिहान चार बजे पुर्याउँछ रे।'
'ए ल ल, म पनि बस चढेँ, अब एकछिनमा निस्किन्छ होला यहाँबाट।'
'हुन्छ राम्रोसँग आउनु।'
'हस्।' फोन राख्छ रेयान्स अनि खल्तीमा रहेको एयरफोनमा गीत लगाएर सुन्न थाल्छ।
'फ्रेस हुने समय जम्मा पाँच मिनेट मात्रै है', पेट्रोल पम्प अगाडि गाडी रोकिएको हुन्छ।
परीक्षाको तयारीले गर्दा निद्रा पुर्याउन नपाएका रेयान्स बसमा निदाएर बस गुडेको पत्तै नपाएर एक्कासि रोकिएपछि झस्किएर ब्युँझन्छ। घडी हेर्छ रातिको ८ः३० बजेको हुन्छ, रियालाई फोन डायल गर्छ, फोन उपलब्ध हुन नसकेपछि मेसेज गर्छ 'कहाँ पुग्यौ? तिम्रो फोन लागेन, राम्रोसँग आउनु ल।'
गाडी अगाडि बढ्न थाल्छ, ऊ फेरि एयरफोन लगाएर निदाउन थाल्छ। संस्थानको परीक्षा दिनलाई काठमाडौं जान थालेको ऊ केहि समयअघि स्नातकोत्तर पढाइ सकेर कामकोे खोजीको सिलसिलामा आवेदन खुलेको भर्न मिल्ने सबैजसो आवेदन भरेर परीक्षाको लागि काठमाडौं धाइरहेका छन्।
हालसम्म छ परीक्षा दिइसकेको छ उसले। कुनै आवेदनमा प्रारम्भिक तहबाट नै बाहिरिएका छन् भने कतै प्रारम्भिक पास गरेर लिखित तथा अन्तर्वार्ताबाट बाहिरिएका छन्। यद्यपि नयाँ खुलेका आवेदनमा भने हार नमानेर फाराम भरिरहेका छन्।
रिया, विद्यारत्न माविमा पहिलोपटक लोक सेवा परीक्षा दिन जाँदा देखिएकी लोक सेवाको योद्धा। परीक्षा हलभित्र छिर्ने घण्टी बजिसकेपछि हतारहतार बाइकबाट ओर्लेर सूचनापाटीतर्फ प्रवेशपत्र बोकेर कोठा नम्बर खोज्नलाई आतिँदै आएकी हुन्छिन्। परीक्षा केन्द्र पुगेर कोठा नम्बर हेरी चौरमा बसेर महत्वपूर्ण भनेर चिन्ह लगाएका पुस्तकको पाना पल्टाउँदै गरेको रेयान्सको नजरमा परेकी हुन्छिन्।
कोठा नम्बर १०९ मा गएर कोठाबाहिर टाँसिएको लिस्ट हेरेर भित्र छिर्छ रेयान्स, तेस्रो बेन्चमा नाम देखेपछि बसेर उत्तर पुस्तिकामा विवरण भर्न थाल्छ। हस्याङफस्याङ गर्दै आत्तिएर कोठामा छिरेकी उनी चौंथो बेन्चमा आएर उत्तरपुस्तिकामा विवरण भर्न थाल्छिन्। रेयान्स आफ्नो उत्तरपुस्तिकामा विवरण भर्न छोडेर पछाडि फर्केर हेर्छ, नाम रिया अधिकारी देख्छ। पछाडि फर्केको देखेर रिया रेयान्सतिर हेर्छिन्, केही आत्तिएझैं मानेर रेयान्स अगाडि फर्किन्छ र नाम मनमनै दोहोर्याउँछ। प्रश्नपत्र बाँड्ने घण्टी बज्छ, सुपरभाइजरहरू प्रश्न बाँडेर चिया खान थाल्छन्। परीक्षाहल शान्त हुन्छ, सबै आफ्नै धुनमा लेख्न थाल्छन्।
'सर थप उत्तर पुस्तिका दिनु न', रियाले थप पेपर मागेपछि रेयान्स पुन: एकपटक पछाडि फर्किन्छ। उनी आफ्नै धुनमा लेखिरहेकी हुन्छिन्। रेयान्स पनि अगाडि फर्केर लेख्न थाल्छ। परीक्षा समयभन्दा अगाडि नै पेपर बुझाइसकेका रेयान्स बाहिर आएर गेटमा कसैलाई पर्खेर बसिरहेझैँ बसिरहन्छ। उसको आँखाले प्रतीक्षा गरेको मान्छे सायद अघिल्लो भीडमा गैसकेको बुझेर निस्किन्छ रेयान्स।
परीक्षा हलबाट निस्केपछि सोझै घर फर्किनलाई गाडी चढ्न लागेका रेयान्सको दिमागमा रियालाई पहिलोपटक देख्दा खिचेको तस्बिर कभर फोटोझैं बसिरहेको हुन्छ। परीक्षा तयारी गर्ने भनेर सामाजिक सञ्जाल नचलाएका रेयान्स मोबाइल डाटा खोलेर फेसबुक राखेपछि सिधै सर्चमा गएर खोज्छ रिया अधिकारी।
उक्त नामको केही फेसबुक प्रोफाइल देखिए पनि कुनै पनि प्रोफाइल उनको दिमागको तस्बिरसँग मिल्दैनन्। बस आफ्नै गतिमा चलिरहेको हुन्छ, एयरफोन लगाएर ऊ निदाउँछ।
खाजा खाने समय भयो जम्मा २० मिनेट मात्रै रोक्छ भनेर सहचालकले कराएको आवाजले उसको निद खुल्छ। दिमागमा रियाको तस्बिर अनि मुखमा उनको नाम झुण्डिरहेको हुन्छ। हत्तपत्त सम्झिन्छ, कतै फेसबुकमा नाम नेपालीमा छ कि, मोबाइल डाटा अन गर्न खोज्छ मोबाइल नेटवर्क समेत चलेको हुँदैन। केही अगाडि बढेपछि मोबाइलमा थ्रिजीको संकेत देखिन्छ। सर्चमा गएर नेपालीमा नाम खोज्छ ऊ।
हल्का नीलो टिसर्ट लगाएको तस्बिर भएको प्रोफाइल उनको दिमागमा भएको तस्बिरसँग केही मिलेझैं लाग्छ। प्रोफाइल खोलेर हेर्छ रेयान्स, आजभन्दा करिब डेढ वर्ष अगाडि अन्तिम पोस्ट राखेको रियाको आइडीमा उसले रिक्वेस्ट पठाउँछ।
गाडीबाट झरेर घर पुग्दा साँझ ९ः३० बजिसकेको हुन्छ, खाना खाइसकेर आराम गर्नुअघि फेसबुक खोल्छ रेयान्स। रिक्वेस्ट जस्ताको तस्तै देखेपछि मेसेजमा गएर हेल्लो लेख्छ। दिनमा गाडीको यात्राले थकाइ लागेको हुँदा निदाइहालेका रेयान्स भोलिपल्ट बिहान उठ्नेबितिकै फेसबुक खोल्छ, रिक्वेस्ट अझै उस्तै देख्छ। अर्को हप्ता अर्को परीक्षा भएको हुँदा अब त्यसैको तयारीमा लाग्न थाल्छ ऊ।
श्री धनेश्वर माविको गेटमा परीक्षा समयभन्दा केही समय अघि नै पुगेका रेयान्स, सिम्वोल नम्बर अनि कोठा हेरिसकेर यताउता आँखा डुलाउन थाल्छ। सूचनापाटीमा कोठा नम्बर हेर्न आउँदै गरेको रियालाई देख्छ। परीक्षा हलभित्र पसेर आफ्नो भन्दा पहिला ऊ रियाको नाम खोज्न थाल्छ, रियाको नामदेखि बायाँतर्फ उसले आफ्नो नाम पनि देख्छ। झट्ट रियासँग आँखा जुधेपछि ऊ फिस्स हाँस्छ, उताबाट प्रतिक्रिया केही आउँदैन। उसलाई झनै बढी कौतुहल लाग्छ।
पछिल्लो पटक गेटमा कुरेर बस्दा भेट नभएकोले यसपटक रेयान्स कोठाभन्दा केही बाहिर बसेको हुन्छ। रिया बाहिर निस्केपछि हल्का उनीतिर बढ्दै रेयान्स बोल्छ 'हेल्लो, म रेयान्स!'
'हाइ, म रिया', केही लजाउँदै रिप्लाइ गर्छिन् उनी।
'अनि परीक्षा कस्तो भयो त?'
'ठिकै भयो, अनि तपाईंको?'
'मेरो तयारी खासै नपुगेर होला, सोचेजस्तो भएन।'
'अनि तपाईंले याद गर्नुभयो हामी गत हप्ता संस्थानको परीक्षामा विधारत्न स्कुलमा तपाईं र मेरो बेन्च अगाडिपछाडि थियो। अनुहार त याद थिएन, तर तपाईं मेरो अगाडि पर्नुभएझैं लाग्छ।
अनि यहाँ परीक्षा दिन कहाँबाट आउनुभयो त? म चाहिँ पोखरादेखि आएको।'
'म बुटवल', रिया उत्तर दिन्छिन्।
'ए ए एकपटक पुगेको छु बुटवल, अनि तपाईं पोखरा आउनुभएको छ? तीन वर्ष अगाडि कलेजको टुरमा दुई दिन गएको छु।'
उनीहरू कुरा गर्दागर्दै कलेज बाहिर पुगिसकेका हुन्छन्।
'अनि अब अर्को हप्ता निगमको परीक्षा दिने कि नाइँ त?'
'भरेको त छु, तयारी त्यताको त्यति छैन' रिया जवाफ दिन्छिन्।
'म पनि परीक्षासम्म हाजिर गरौं कि भन्ने छ, तयारी खास छैन मेरो पनि।'
'हवस्, म पारि गएर चढ्नुपर्छ बानेश्वरको गाडी।'
'ए ल ल हुन्छ, अनि सुन्नु त', रेयान्सतर्फ फर्किन्छि रिया।
'भन्नु न मैले फेसबुकमा रिक्वेस्ट अनि मेसेन्जरमा मेसेज पठाएको थिएँ।'
'ए हो र? म सामाजिक सन्जाल खास चलाउँदिनँ, हेरेर असेप्ट गर्छु।'
'हवस् बाई, शुभयात्रा' भनेर रेयान्स पनि आफ्नो बाटो लाग्छन्।
राति अबेर घर पुगेका रेयान्स बिहान उठेर मेसेज लेख्छ, 'हेल्लो, गुड मर्निङ।'
उता रियाले भने पुरानो मेसेज पनि हेरेकी थिइनन्। रेयान्स खाना खाँदै गर्दा मेसेन्जरमा मेसेज आएको आवाज बज्छ।
'हाई, सरी मैले मेसेज बल्ल हेरेँ।'
'अनि राम्रोसँग पुग्नुभयो?' रेयान्स लेख्छ।
'हजुर पुगेँ, अनि तपाईं नि?' रियाको मेसेज आउँछ।
'म पनि राम्रोसँग पुगेँ, अब अर्को हप्ताको तयारी गर्ने होला।'
'हुन्छ शुभदिन' भनेर रियाको मेसेन्जर अफलाइन देखाउँछ।
बिस्तारै उनीहरूबीच खाजा खाना सोध्ने साथसाथै पढाइको छलफल चल्दै गफ सुरू हुन्छ।
'म गाडी चढेँ ल, अर्को परीक्षा दिनलाई काठमाडौं जान थालेको' रेयान्स मेसेज लेख्छ। केही समयमा उताबाट रिप्लाई आउँछ।
'हुन्छ राम्रोसँग आउनु मेरो गाडी अबको आधा घन्टामा छुट्छ।'
'गुड मर्निङ, आज परीक्षा जानुअघि केही समय पहिला भेटौं, चियासँगै खाऔँ अनि पढाइको छलफल पनि हुन्छ।'
उताबाट रियाको मेसेज आउँछ, 'साथीसँग छु, मिलेसम्म आउँछु।'
११ बजेको परीक्षा ९ बजे नै परीक्षा केन्द्र पुगेर अगाडिको चिया पसलमा बसेर रियालाई मेसेज गर्छ, 'कहाँ पुग्नुभयो? म त परीक्षा केन्द्र आइपुगेँ, अगाडिको चिया पसलमा छु।'
'हुन्छ, म साथीसँग आउँदै छु, केही समयपछि पुग्छु।'
उनीसँग कुरा गर्न थालेपछिको पहिलो भेट। सेतो टिसर्टमा केही पर बसबाट ओर्लिएकी रियालाई देखेर चिया पसलबाट हात हल्लाउँछ रेयान्स।
गत हप्ता कुरा भएपछिको उनी पहिलाभन्दा धेरै राम्री लाग्छ रेयान्सलाई। केही समयमा परीक्षा हल छिर्नुपर्ने भएकोले छलफलमा लाग्छन् उनीहरू।
यसपटक भने कोठा छुटिएको थियो उनीहरूको, तथापि परीक्षा सकिएपछि भेट्ने सल्लाहमा आ–आफ्नो कोठामा लाग्छन् उनीहरू।
'परीक्षा कस्तो भयो?' समयभन्दा आधा घन्टा अगाडि निस्केका रेयान्स भर्खर हलबाट निस्केकी रियाको पर्खाइमा हुन्छ।
'ठिकै भयो, अनि तपाईंको?'
'मेरो यसपटक पनि तयारी पुगेन।'
फर्किनलाई दुबैलाई हतार भएको हुँदा आ–आफ्नो बाटो लाग्छन्।
'हामी आफ्नो करियरतर्फ नलागेर यसरी कुरा गरिरहेर हुँदैन, तयारी गर्नु नाम निकाल्नु।' रिया बेलाबेला यसो भन्थिन्।
'अब सरकारी जागिर किन चाहियो र? तिमीलाइ पाइहालेँ।'
'अनि मेरो बाबाआमा मान्नुभएन भने?'
'त्यो पनि सवाल हुन्छ? म मनाइहाल्छु उहाँहरूलाई।'
केही समयको गफगाफपछि उनीहरू एकअर्कालाई मन पराउन थालिसकेका हुन्छन्।
'अब हामी अलि समय कुरा नगरौं है, यता घरमा दाइले हामी कुरा गरेको थाहा पाउनुभएछ, बाबाआमाले बिहे गर्ने तयारी गर्न थाल्नुभएको छ।'
'ए हो र? म बाबाआमा लिएर तिम्रो हात माग्न आऊँ त?' रेयान्स भन्छ।
मेसेन्जर अफलाइन हुन्छ, केही घन्टा बितिसक्दा पनि रिप्लाइ नआएपछि फोन डायल गर्छ रेयान्स, मोबाइल स्विच अफ हुन्छ।
हरेक दिन कल मेसेज गर्दा पनि सम्पर्क हुँदैन। रेयान्सलाई बुटवल घर भन्ने थाहा भएको भए पनि अन्य धेरैकुरा थाहा नभएकोले अझै गाह्रो हुन्छ। दुई हप्तापछिको नागरिक उड्ययनको परीक्षा दिन जाँदा पनि रिया परीक्षा दिन आएको देख्दैन। बेलाबेला फेसबुक चेक गर्दा पनि कुनै अपडेट हुँदैन, मेसेन्जरमा बेलाबेला मेसेज पनि हेरिएको हुँदैन।
सात महिना अगाडि परीक्षा दिएको संस्थानको नतिजा प्रकाशन हुन्छ, रेयान्स हतारहतार नाम खोज्न थाल्छ, नाम हुँदैन, रियाको नाम खोज्छ, लिखितमा रियाको नाम निस्केको हुन्छ। आफ्नो नाम ननिस्केको भए पनि कतै रियासँग भेट भैहाल्छ कि भनेर रियाको अन्तर्वार्ताको समय मिलाएर ऊ पनि काठमाडौं पुग्छ।
संस्थान बाहिर गेटमा गएर रियाको बाटो पर्खेर बसेका रेयान्स धेरैबेर बस्दा पनि आउँदिनन् उनी। दुईजना भर्खर संस्थानबाट निस्केर उनी भएको चिया पसलमा छिर्छन्।
'तपाईंहरू अन्तर्वार्ता दिएर निस्किनुभएको हो?'
उनीहरूमध्ये एकले दिएर निस्केको रहेछ। उनलाई सोध्छ, 'रिया अधिकारी अन्तर्वार्ता दिन आउनुभयो कि नाइँ केही थाहा भयो हजुरलाई?'
'खै म उहाँलाई चिन्दिनँ, हाम्रो समूहमा एक जना रिया नामको मान्छे अन्तर्वार्तामा आउनुभएन, भर्खर भर्खर बिहे भएर अस्ट्रेलिया गएको भनेर वेटिङ रूममा हल्ला सुनेथेँ, उहाँ नै होला कि!'
ऊ एक्कासि छाँगाबाट खसेझैँ हुन्छ। चारैतिर अँध्यारो देख्छ, सबै शून्य लाग्छ उसलाई। घर फर्किनलाई गह्रौं पाइला चाल्दै गाडी चढेको ऊ घर आएपछि मेसेन्जर खोल्छ। माथि एक्टिभ फाइभ आवर अगो देखाउँछ, तथापि उसको मेसेज भने हेरिएको हुन्न।
दुई दिनपछि फेसबुकमा कसैले रियालाई ट्याग गरेर फोटो राखेको पोस्ट देख्छ, 'विथ माई बेटरहाफ।'
सानो मन बनाउँदै रेयान्स लेख्छ- ह्याप्पी म्यारिड लाइफ रिया, ह्याभ वन्डरफुल कन्जुगल लाइफ अहेड!!'