अनि विदेश जाऊँ कि नजाऊँ दोधार हुँदाहुँदै गुडिरहेको प्लेन भुइँ छोडेर आकाशतिर उड्न थाल्यो। यो प्लेन त आफ्नो गन्तव्यसम्म यात्रीलाई पुर्याएर फर्किन्छ तर म….। मेरो त अब कहिले कसरी के हालमा फर्किन्छु भगवानलाई पनि थाहा छैन होला।
कठै मेरी आमा आँगनमा उभिएर आकाशतिर हेर्दै आँखाको डिलमा अटाइ नअटाइ छल्किएका आँसु बोकेर हात हल्लाउँदै होलिन्। बा त के रून्थे देख्ने गरेर छोरा मान्छे भएर रून हुँदैन रे हाम्रो समाजमा।
घरभित्रै खाटमा बसेर भुन्भुनाउँदै होलान् नजा भनेको मानेन भन्दै माथि हेर्दै आँसु छल्दै होलान्।
अनि म कति जिद्दी भए त विदेश नगई नसक्ने, छरछिमेकीका छोराछोरी, साथीभाइ सबै विदेश, पढेरमात्रै के गरौं हातमा सर्टिफिकेट बोकेर काँ काँ धाइनँ! काम नै पाइँदैन। सँगै पढेको दीपकले उसको काका ठाउँमा भएकोले पढ्दापढ्दै काम पायो। अनि म डिस्टिंसन ल्याएको मान्छे कलेज टपर भएर मात्रै के गर्नु आफ्नो खुबीले मात्र हुँदो रैनछ।
सबै ठाउँमा चिनेको हुनुपर्छ रे। आफूले चिनेको कोही छैन कसरी जागिर पाउँथें र! मेरो मनले मान्दै मानेन बा के गरौं त! जागिर नपाएर भौंतारिँदाको जोशमै कन्सल्टेन्सी धाएको थिएँ। भिसा पनि लागिहाल्यो! तर यति गाह्रो हुँदो रछ तिम्लाई छोडेर विदेश जान।आँसु त मेरो पनि पो आए छन् त! हाँस्दै हाँस्दै उड्ने हो म त भनेर आमैलाई धाक् लाएको थिएँ।
बाहिर त बादल मात्रै पो देखिन थालेछ। अब म बादलभन्दा पनि माथि रछु। आमै गइन् होला है भित्र कि हेर्दै होलिन्? धत् म पनि ...। आँखा चिम्लिएको रहेछु छेउमा बस्नु भाको बाकै उमेरको जस्तो हुनुहुन्थ्यो।
'हैन बाबुको पहिलोचोटि हो कि क्याहो विदेश जान लाग्नु भको?'
'हजुर हो बुवा घर छोडेर कहिल्यै नहिँडेको म धेरै गाह्रो पो हुँदो रहेछ', गलामा लगाएको मफलरले आँसु पुछ्दै भन्छु।
'हो नि बावु नेपाल बसेर पनि केही छैन र मैले पनि पठाको हो छोरोलाई तर अब छोरो फर्किंदैन यी मै बुढो मान्छे भेट्न दौडिएको। के गर्नु माया लाग्दो रछ आफ्नो सन्तानको, उनीहरू उतै बालबच्चा बनार बस्या छन् मिल्दैन फर्किन भन्छन् यतै आउनु बुवा त्यताको बेचेर भन्छन्। आफूलाई आफ्नै देशमा मर्न मन छ। चिनेको छैन कोही जानेको छैन अर्काको देश, अर्काको धर्म म त सक्दिनँ बस्न त। तर के गर्नु भेट्न जानै पर्यो बावु अनि बावु कुन ठाउँ जाने हो?'
'म मेलबर्न जान लाको बुवा।'
'ए लु राम्रो भएछ म पनि त्यहीँ त हो।'
मन थोरै हल्का भएको जस्तो भो….बासँग धेरै कुरा गरियो। कोरोनाको बेलामा बित्नु भएको रहेछ उहाँकी श्रीमती त्यो पनि अक्सिजन समयमा नपाएर कति दु:खको कुरा है फेर्ने सास नपाएर मान्छे मर्ने दिन पनि गुजारेर आइएछ, कति दु:खलाग्दा काला दिनहरू बिताउनु पर्यो। सम्झिँदा पनि कहाली लाग्छ मलाई त! पैसा हुँदा पनि मान्छेले आफन्त बचाउन नसकिने रहेछ अनि म त्यही पैसा कमाउन भनेर परदेशिँदै छु बिडम्वना!
त्याग त गर्नैपर्ने रहेछ कि त आफ्नाहरू कि त सपनाहरू किनकि कुनै एकको सफलताको लागि कुनै एक गुमाउनु नै पर्ने रहेछ तर म बाचा गर्छु बा दसैंमा टीका लगाएर आशिष थाप्दै तिम्रो खुट्टा ढोग्न आउने छु।
बस् तिमी केही वर्ष पर्खन तिम्रो ओठमा अलिकति मुस्कुराहट पक्कै ल्याउनेछु! ठूलो सपना देखेकै छैन बस् आमाले आँखा नदेखेर घुनैसहित पकाएको खान तिम्ले नपरोस्! म छु नि बा पहिलो कमाइले आँमैका आँखा जचाउनुपर्छ। त्यसपछि त तिम्रा फुटेका खुट्टामा पनि मलम लाउनु पर्छ है बा। अब भो मलाई दुखेकै छैन भन्दै खुट्टामा पट्टी बाँधेर सुतेको हेर्न सक्दिनँ बा। त्यसपछि बल्ल ऋण तिरौंला।
म अलिकति कमाएर यता बोलाउँछु घुमेर भेरी आफ्नै देश फिरौंला। छिमेकीलाई पनि त देखाउनु छ। अब त गाउँमा पनि धनीको नाम लिस्टमा तिम्रो पनि नाम लेखाउनु छ। किनकि गरिब भएर त धेरै सहिसक्यौं बा अब धनी बनेर पनि देखाउनु छ। जुन प्रश्नको जवाफ समयले दिन्छ नि त्यो असाध्यै मीठो हुने गर्दछ भन्थ्यौ नि बा हो त्यही समय तिम्रो सामुन्ने ल्याउनु छ। तिम्रा बाध्यतामा परेका ती रहरहरू कति समझदार रहेछन्। यो छोरोले जिद्दी गरिदिँदा पनि चुपचाप बिदा गर्यौ है बा?
न जा पर्दैन जानु भनेर झपारेको भा पनि एकछिन रिसाउँथें होला अनि चुप हुन्थें होला तर तिमीले नजा भन्न पनि सकेनौ अनि बस्न पनि सकिनँ म।