कविता
म आज फेरि जन्मिएको छु।
अतितको मेरो लासलाई समयको चितामा सजाएको छु।
हिजो र भोलीबीचको शून्यतामा आफैंले आफैंलाई जन्माएको छु।
बह्माण्डको अरबौं धुलोबीच नयाँ धुलो उत्पन्न भएको छ।
त्यही एक कणको संसारमा आज नयाँ घाम, जुन र तारा उदाएका छन्।
म यही नयाँ संसारमा नयाँ जीवन भएर जन्मिएको छु।
हिजोको म, बिहानीको फूल र शितको थोपासँगै शून्यतामा विलिन भएको छु।
आज नयाँ धर्तीको नयाँ आकाशमा नयाँ जीवन उदाएको छ।
म फेरि नयाँ बिहानीको नया फूलमा नयाँ शित बनी चम्केको छु।
आजको संसार उस्तै लागे पनि उस्तै छैन।
नया संसारमा म किन उही पुरानो रहूँ?
आज नयाँ सास फेरेको छु, नयाँ सहास बटुलेर आफैंलाई कुमालेको चक्रमा आफैंलाई नयाँ बनाएको छु।
पूर्वजन्मको नदी पुनर्जन्मको दोभानमा मिसिने छैन।
हिजोका गोरेटोहरूमा भेटिएको म आजको दोबाटोहरूमा भेटिने छैन।
आज नयाँ नदी बगेको छ नयाँ समुन्द्र भेट्न, नयाँ गोरेटो लम्केको छ नयाँ चौबाटो चुम्न।
यी नदीका बिहारमा, यी गोरेटोका यात्रामा म भेटिए भने नबोलाऊ मलाई।
म तिमीले चिनेको परिचय होइन, म तिमीले सम्झिएको नाम होइन।
मैले आज आफ्नै न्वारन गरेको छु, आफ्नो भूत मेटी आफ्नै भविष्य लेखेको छु।
तिमी हिजोको वर्तमान, आजको भूत, म हिजोको भूत आजको वर्तमान, कसरी एकै पलमा भेटिन्छौं?
मलाई आज फेरि चिन्नुछ भने परिचय गर, हिजोको लासको नामले नबोलाऊ।
मैले आफ्नै लासमा दागबत्ती दिएको छु, नयाँ जीवन बनाएको छु, आफैंले आफैंलाई जन्माएको छु।
हिजोका याद मेटाएर, प्रतिबिम्ब फुटाएर नयाँ दृष्य कोरेको छु।
आफ्नै इतिहास मेटाएर नयाँ कथा लेखेको छु।
नया संसारमा नया सास फेर्दै आज मैले काँचुली फेरेको छु।
तिमी डराउछौ काँचुली देखेर, मुर्छाउँछौ नयाँ स्वरूप देखेर।
तिमी हिजो र आजलाई एउटै देख्ने आँखा हौ, हिजोको म र आजको मलाई एउटै देख्ने भ्रम हौ।
म हिजोको पूर्णविराम, आजको अध्याय हुँ जहाँ आफैंलाई नयाँ पात्र बनाएर जन्माएको छु, हुर्काएको छु।