केही वर्षअघिको कुरा हो, उनको र मेरो शंकरदेव क्याम्पसमा बिबिएस पहिलो वर्षमा अध्ययन गर्दा चिनजान भएको थियो।
उनी पर्वतकी थिइन् भने म गुल्मीको। क्याम्पस पढ्दा उनी अघिल्लो बेन्चमा बस्ने गर्थिन् भने म उनीभन्दा पछिल्लो बेन्चमा बस्ने गर्थें।
उनी आफ्नो रूपप्रति हिटलरको शैलीमा तानाशाही प्रवृत्तिको स्वभाव देखाउने गर्थिन् तर उनको सुन्दरता भने म्याग्दीको रुप्से झरनाभन्दा कम थिएन।
यसै गर्दागर्दै उनीसँग मेरो चिनजान भयो र हामी फेसबुकमा साथी बन्यौं। मैले उनलाई म्यासेज गर्न थालें तर उनले मेरो म्यासेज सीन गरेर रिप्लाइ भने दिइनन्, उनी मलाई रारा तालभन्दा सुन्दर लाग्थ्यो, मैले फेरि म्यासेज गरें, त्यसपछि उनको म्यासेज आयो तर म्यासेज भने एकोहोरो मात्र थियो जस्तैः– के छ भन्दा 'ठिक छ', खाना खायौं भन्दा 'खाएँ मात्र' एकोहोरो हुँदाहुँदै पनि मैले उनलाई म्यासेज गर्न भने छोडिनँ।
तर उनको स्वभाव भने दक्षिण पश्चिम प्रशान्त महासागरमा आउने सामुन्द्रिक आँधी विलिविलीभन्दा कम थिएन। दिन बित्दै गयो। मैले दैनिक म्यासेज गर्दै गएँ तर उनको म्यासेजमा उल्लेखनीय सुधार भने देखिएन।
घरी क्यासपियन सागरमा डुबुल्की मारेजस्तो गर्थिन् त घरी विश्वको सर्बोच्च शिखर सगरमाथा आरोहण गरेझैं गर्थिन्।
एकदिन भेटेर चिया खाने प्रस्ताव व्यक्त गरें तर उनले उक्त प्रस्तावलाई इन्कार गरिन्। त्यही पनि मैले म्यासेज गरिराखें।
बिहान करिब साढे सात आठ बजेको थियो शंकरदेव क्याम्पसको क्यान्टिनमा चिया खान छिरें। त्यहाँ उनी र उनका साथीहरू पनि चिया खाँदै रहेछन्। म पनि उनीहरू भएनजिकै गएर बसें अनि उनले लोक सेवाको क्लास छ म पढ्न गएँ भोलि भेटौंला भनेर उनी र उनका साथीहरूमार्फत् बिदा भएको मैले देखें र म पनि उनी पढ्ने इन्स्टिच्युट्मा कक्षा लिन पुगें। अठार हजार तिरेर नासुको कक्षा लिएँ। उनको र मेरो कक्षा, समय फरक पर्यो। उनी बिहान पढ्ने गर्थिन भने म बेलुका।
मैले इन्स्टिच्युटका प्रमुखलाई भेटेर बिहान पढ्ने व्यवस्था मिलाइदिन अनुरोध गरें तर बिहानको ग्रुप फुलफिल भएका कारण म बेलुकाको ग्रुपमा परें। हरेक शनिबार सबै ग्रुपको परीक्षा हुने हुँदा उनीसँग हरेक शनिबारमात्र देखभेट हुने गर्दथ्यो।
शनिबार उनीसँग नजिक हुने निहुँमा उनी बस्ने नजिक गएर बस्ने गर्दथें तर उनी नजिक हुन चाहँदैन थिइन्। यसै गर्दै दिनहरू बित्दै गए। उनले वास्ता नगरेपछि मैले राम्रोसँग पढ्ने निर्णय गरें। पास गरेर उनलाई आकर्षित गराउन पर्छ भन्ने निर्णय गरें र पढ्दै गर्दा प्रदेश लोक सेवा आयोग बागमती प्रदेशले विज्ञापन गर्यो। मैले फर्म भर्ने निर्णय गरें अनि परीक्षा दिएँ।
परीक्षा दिएको पाँच छ महिनापछि गोरखापत्रमा मेरो तीनपुस्ते छापिएको पाए। घरपरिवार ,साथीहरू, इष्टमित्र सबैले बधाई ज्ञापन गरें तर उनले भने न त म्यासेज गरिन् न त फोन।
अन्तर्वार्ता नजिकिँदै गयो र अन्तर्वार्ताको लागि हेटौंडा गएँ। भोलि अन्तर्वार्ता थियो आज बेलुका उनको अन्तर्वार्ताको लागि शुभकामना भन्ने म्यासेज पाएँ। अन्तर्वार्ता समग्रमा राम्रो भयो, बेलुका काठमाडौं फर्कने बेला फोन गरें तर रिसिभ भएन।
मंसिर २० गते रिजल्ट प्रकाशित भयो। मलाई काभ्रे जिल्लाको तेमाल गाउँपालिकामा पोस्टिङ भएको सूचना लोक सेवा आयोग बागमती प्रदेशले दियो। पहिलोपटक सरकारी सेवामा प्रवेश गर्दा म दंग थिएँ, धेरैले बधाई ज्ञापन गरे र उनले पनि हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना भन्ने म्यासेज गरेर अफलाइन भइन्।
कुरा गर्न खोजिरहें तर कुरा हुन भने सकेन। कुरा भए पनि एकोहोरो मात्र, उनी एकदम शालीन र भद्र स्वभावकी थिइन्। मलाई उनको यही स्वभावले नजिक–नजिक हुन मन लाग्थ्यो। जब सेवामा प्रवेश गरें तब उनको म्यासेज पहिलेको तुलनामा बढ्दै गयो, हामी नजिक हुँदै गयौं।
एकदिन शनिबारको दिन थियो। भेटेर चिया खाने प्रस्ताव गरें र काठमाडौंको भृकुटीमण्डपमा भेट्ने निर्णय गरियो। चियाको चुस्कीसँगै गफमा चार घन्टा बितेको पत्तै भएन।
उनी काठमाडौंमा दाइ भाउजुसँग बस्ने गर्थिन्। दाइ आउने बेला भयो म जान्छु भनेर हामी त्यहाँबाट बिदा भयौं।
भेटपश्चात् हाम्रो तीन चार महिना लगातार कुरा भयो। उनी र म माया पिरतिमा परेको अनुभव भयो। हामी हरेक बेलुका फोनमा कुरा गर्ने गर्थ्यौं, मीठा मीठा कुरा हुने गर्थे। भिडिओ कल गर्दा एक दुई समेत बजाउने गर्थ्यौं। जसरी टाइटानिक जहाज एटलान्टिक महासागरमा डुबेको थियो त्यसैगरी म उनको मायामा डुबेको थिएँ। त्यसै क्रममा उनी पाँच/छ दिन जति अनलाइन आइनन्। फोन पनि अफ भयो।
मैले उनको प्रतीक्षा गरिरहें तर प्रतीक्षाको फल भने मीठो पाइनँ। दैनिक फोन गरिरहें तर नेपाल टेलिकमले माफ गर्नुहोला तपाईंले डायल गर्नुभएको मोबाइलको स्वीच अफ गरिएको छ भन्नु सिवाय अरू केही भएन।
उनको म्यासेज र फोन कुर्दाकुर्दै दिन बित्दै गए, न त फोन नै आयो न त म्यासेज नै। करिब पाँच महिनासम्म उनकै फोन र म्यासेजको प्रतीक्षामा बित्यो।
एकदिन फुर्सदको समयमा टिकट हेरिरहेको थिएँ। भिडिओ हेर्दै जाँदा उनको भिडिओ देखें। टिकटकमा साथी रहेछु अनि म्यासेज गरें, हेल्लो तिमी कता हराएको? फोन अफ किन? म्यासेज किन रिप्लाइ नगरेको ? भनेर म्यासेज छोडें।
करिब तीन घन्टापछि उनको म्यासेज आयो। रोएको स्टिकर पठाउँदै 'मलाई अब म्यासेज र फोन गर्ने काम नगर्नुहोला, हामीबीच जे जे भयो भयो आई एम रियल्ली सरी' भन्ने म्यासेज छोडेर उनी अफलाई भइन्।
म अचम्म परेर किन र? के भयो ? प्रश्न गरें।
उनले दुई दिनपछि मेरो प्रश्नको उत्तर दिँदै भनिन् 'तपाईंसँग बोलेको दाइले थाहा पाउनु भयो, मोबाइल दाइसँग छ र मलाई रूमबाट बाहिर निस्कन समेत दिनुभएन, अनि म कतैबाट सम्पर्कमा आउन सकिनँ' भन्ने म्यासेज आइसकेपछि मैले पुन: टिकटकमा म्यासेज गरें। फेसबुक सर्च गरेर हेरें, उनलाई मैले देखिनँ।
उनका दाइले कोत पर्वमा जंगबहादुर राणाले राज्यलक्ष्मीलाई जस्तै हामीबीच भएका कुराकानी सबै हेरेर मलाई भाइबर र फेसबुकमा पहिले नै अघोषित नाकाबन्दी अर्थात् ब्लक गरिसकेका रहेछन्।
मैले टिकटकमा म्यासेज गरेर एकपटक भेट्ने प्रस्ताव गरें तर हाम्रो भेट भएन।
उनका दाइ जंगबहादुर राणा स्वभावका थिए, नेपाल सरकारको शाखा अधिकृतबाट भर्खरै उपसचिव भएका थिए भने भाउजू शाखा अधिकृत थिइन्।
मैले उनलाई म्यासेजमा हामी भागेर बिहे गरौं भन्ने प्रस्ताव राखें तर उनले मलाई तपाईं र मेरो सम्बन्धको बारेमा मैले दाइलाई धेरै भन्ने कोसिस गरें तर दाइले सुन्न मान्नु भएन र यही माघ २० गते मेरो बिहे गर्दिने निर्णय गर्नुभएको छ भन्ने म्यासेज छोडेर बिदा भइन्।
म यता मारियाना ट्रेन्चको गहिराइमा खसेजस्तो भएँ।
मैले उनलाई आफ्नो बनाउने धेरै प्रयत्न गरें तर सकिनँ। अन्ततः माघ २० गते दाइले आफ्नो साथीको साथी अर्थात् नेपाल सरकारको शाखा अधिकृतमार्फत् उनको सिउँदो रंगाएको फोटो 'ह्याप्पी म्यारिड लाइफ बहिनी ज्वाइँ' भन्दै पोस्ट गरेको पाएँ।
उनको फेसबुकबाट म पहिले नै ब्लक थिएँ, बिहेको एक हप्तापछि पुन: टिकटकमा म्यासेज गरेर 'दाम्पत्य जीवनको शुभकामना, सधैं हाँसी खुसी रहनू', भनेर टिकटकबाट बिदा भएँ।
दिनहरू बित्दै गए तर उनका याद तथा सम्झनाहरू भने कहिल्यै गएनन्। मैले टियुमा मास्टर गर्ने निर्णय गरें। बिहान– बिहान दैनिक क्लास जान्थें, एकदिन अकस्मात टियुको ठूलो घडीको तलपट्टि उनीसँग भेट भयो। म झसङ्ग भएँ। सपना जस्तो लाग्यो तर म विपनामा नै रहेछु।
'कसरी यहाँ ?' भनेर मैले प्रश्न गरें।
'मास्टर पढ्दै छु, सेकेन्ड सेमेस्टर अनि तिमी किन?' भन्ने प्रश्नमा तिम्रा सम्झनाहरूलाई थाती राख्दै म पनि मास्टर पढ्ने निर्णय गरें भनें।
उनले 'तिमीले अझै बिहे गरेका छैनौ?' भनेर प्रश्न गरिन्।
मैले हाँस्दै जवाफ दिएँ- तिमीलाई पाइनँ र तिमीसँग क्यासपियन तालजस्तो गहिराइमा डुबेका तिम्रा ती यादहरू अझै जीवित छन्, कसरी बिहे गरूँ?
करिब चार पाँच मिनेट कुरापश्चात उनी र म त्यहाँबाट छुट्यौं।