खै कुन तिथि र नक्षत्रमा जन्मन पुगें, भाग्यलाई चितामाथि चढाएर दागबत्ती दिएपछि मात्र जन्मेछु झैं हुन्छ। एउटा मासु र हड्डीको थुप्रो लिएर आवरणमा तर पृष्ठभूमिमा कर्मले बारम्बार परीक्षा लिइरहँदा कहिल्यै खुसी भन्ने उत्तिणार्क समेत पुर्याउन नसक्ने मनुष्यका रूपमा।
मैले जीवनमा यति हार देखिसकें कि मलाई अब खुसी नै सामुन्ने आए पनि कहिल्यै खुसी बनाउने छैन।
एउटा सीमा हुन्छ जहाँबाट सहने सीमा भत्किन्छ।
अँध्यारोमा झट्टी हानेर उज्यालो नजिक पुगेका अनेकौं उदाहरण देखेर उज्यालोमै निशाना हान्दा पनि नलाग्ने केवल एक मै हुँ झैं लाग्छ।
कसलाई गुनासो गर्नु? कसलाई भन्नु? भन्ने र सुनिदिने मान्छेले नै थला बसाल्ने गरी छाडेपछि। को रहन्छ बाँकी? रातभर आँसुको धारा बगिरहँदा हेरिरहने भित्तोबाहेक मलाई देख्ने कोही छैन आजभोलि।
मलाई दिएको नाउ बोकेको मान्छे हरदिन सबैले देख्छन् तर मैले मलाई नदेखेको धेरै भइसक्यो।
विश्वासको धरौटी राखेर मायाको गह्रुंगो ऋण लिएर जिन्दगी नै लिलामी भएको मानिसको व्यथा हो यो।
प्रेमलाई जिन्दगी र मृत्युबीचको मसिनो धागो सम्झेर होमिएको व्यक्तिको कथा हो यो। म आफैंलाई म यतिका वर्ष जे बन्न पुगें त्यो म भित्रको अर्को मानिसलाई देखेर अचम्म पर्छु।
खै, कुन दैवी शक्तिको आगमन भयो र म त्यसरी होमिन पुगें छक्क पर्छु। एउटा जिन्दगी हो, एउटा मान्छे छान्ने हो भन्ने अति विशिष्ट नारा बोकेर, बफादार मनुष्य बन्न पुग्दा बल्ल थाहा भयो कि यो समाजमा अटाउन त स्वार्थ र मौका पो हेर्नु पर्दोरहेछ।
उसलाई चिन्न प्रेमको देहवासन हुनुपर्यो, न्युटनको चालको तेस्रो नियम यहाँ लागू भएरै छाड्यो। प्रेमको गहिराइ नै चोटको गहिराइ हो। एउटा विक्षिप्त प्रेमीले प्रेम वियोग पछि जे जति अभिनय गर्दछ, म पनि आजभोलि त्यही निभाउँदैछु।
वास्तविकतालाई भ्रम र भ्रमलाई वास्तविकता बनाइ बाँच्ने रहर भए कुनै दशरथ माझी बनिरहनु पर्दैन; बस् मायामा परे हुन्छ। भ्रमको संसारमा यथार्थको झापड नपरून्जेल रमाउने मौका रहिरहन्छ।
आफ्नो प्रेमिकाको विवाहमा दर्शक बनेर फर्किएको हुन नसकेको बेहुलाको बहुला आवेग हो यो।
सबैथोक मिलेझैं लागेर पनि केही मिल्न नसकेको कथा हो यो।
हेरिरहें ऊ सिङ्गारिएर यज्ञ अघि सिन्दुरले कोरिएको, फिल्मी शैली फिल्ममै सीमित हुँदा रैछन्।
एउटा कुनाबाट आफ्ना केही भारदारहरू लिएर, कालो चस्माको सहारामा आँसुलाई छोप्न प्रयासमा उभिरहें। सिन्दुर भरिएपछि, मतिर पुलुक्क नजर लगाई, अन्तिम हेराइ थियो, म पनि निस्किएँ आँसुलाई अघि अघि लगाएर।
उसको विवाहको कुरा छिनोफानो हुनुअघि मैले छिनोफानो गर्नुपर्ने थियो। विवाह गर्नुपर्ने अनिवार्य प्रस्ताव थियो अन्यथा घरबाट बारम्बार आइरहने प्रस्तावको भारी सधैंभरि नकारिरहन नसक्ने उसको भनाइ थियो।
करारको जागिरमा हल्लिँदै गरिरहेको म, घरपरिवारको कुनै संलग्नता बिना नै म विवाह गर्छु कुन धरातलमा टेकेर भन्नु! म तयार थिइनँ, घर भित्रका आफ्नै परिवेशले गर्दा, उसलाई भन्न पनि सक्ने थिइनँ।
जीवनमा म आफ्ना परिस्थितिलाई बिस्कुनझैं सुकाएर अरूबाट विचराको अनुभूति गर्न चाहन्नँ। मेरो आग्रह थियो, केहि समय पर्खिदेऊ।
उसको पढाइ सकिउन्जेलसम्ममा मेरो सरकारी जागिर हुनेमा आफू आश्वस्त रहेको र त्यसो गर्दा दुवै जना एउटा बिन्दुमा पुग्न सक्ने कुरा बताए। तर उसको बारम्बार एउटै कुरा, विवाह गरेर पनि त पढाइ र जागिर पाउन सकिन्छ। दुनियाँले गरेका छन्। त्यसै पनि जागिरे र विदेशी केटा आइरहँदा मैले तिमीलाई, घरपरिवारलाई मनाउन सक्छु तर तिमीले हुन्छ भन्न पर्यो भन्ने उसका कुरा।
मेरो एउटै कुरा म गर्छु तर तत्काल हैन कम्तीमा एक वर्ष पर्खिदेऊ। कुरो मिल्ने अवस्था मै रहेन। रूँदै फोन कट्यो उताबाट। त्यसपछि फोन नै लाग्न छोड्यो। मेसेज पनि गएन। सबै सम्पर्क माध्यमबाट ब्लक!
आँसु झरिरह्यो। आफैंलाई सोधें- तेरो लागि एक उमेर जसले हरेक कुरामा त्याग गर्यो, तँ उसलाई आफ्नो बनाउनका लागि किन यस्तो गरिरहेको छस्? उसले त, तँसँग सँगै हुने कुरा गरेकी हो। तँ किन परिस्थितिको हवाला दिएर उसलाई नकार्दै छस्? मेरो घर बुझ्ने मान्छे थिई ऊ।
फेरि सोच्छु, घरको ऋणको भारी र त्यसको भरिया भएको म।
जीवनमा एउटा ऋणको हल अर्को ऋण थप्ने हुन सक्दैन। म घरपरिवारमा विवाहको कुरा कम्तीमा यो समयमा राख्ने अवस्थामै पनि थिइनँ। स्थायी जागिर भएको भए पनि कम्तीमा सान्त्वना कै लागि भए पनि, हुन्छ भन्ने आधार हुन्थ्यो।
रात बिना निद्रा यसै कट्यो। शायद जिन्दगी पनि यस्तै होला तपाईं रूनु होस् या हाँस्नुहोस्, जिन्दगी कटाउनका लागि कट्छ जसैगरी।
दुई दिन पछाडि, काम सकेर फर्किंदै गर्दा मेसेन्जरमा एउटा मेसेज आयो। उसको थियो। एउटा कार्ड थियो, अनेकन नामहरू थियो, निम्तो थियो तर त्यहाँ मेरो नाम र घर कतै थिएन। म हिँड्दाहिँड्दा अचेत झैं भएँ। आवेगको चरम सीमाले मलाई भट्टिसम्म डोहोर्यायो, केही पेग लगाएपछि लर्बरिँदै कोठासम्म पुगें। फोन लगाएँ। बिना शब्द घण्टौं बोल्यौं हामी। हाम्रो बोली रोदनमा थियो। यो सबै हुनुका पछिको कारण म नै थिएँ। मेरो प्रतिक्रिया नै उसको विवाहको निर्णय थियो। रूँदारूँदै फोन कट्यो र मेसेजमा जाँदाजाँदै एउटा कुरा पूरा गरिदिन वचन मागी।
'मेरो विवाहमा तिमी अनिवार्य सरिक भइदिन' भनी वचन मागी।
जिन्दगीले मसँग खेल खेलायो, मलाई धज्जी उडायो। नाङ्गिन बाध्य बनायो।
'आफ्नो त बनाउन सकेनौ, मेरो लागि यदि कतै माया भए आइदेऊ। आफैंलाई दोष्छु, भाग्य यस्तै रैछ भनि चित्त बुझाउनेछु।' उसको मेसेज।
आफ्नो कथा सबैलाई ठूलो लाग्छ, आफ्नो व्यथा सबैलाई पहाड लाग्छ। म सही नै त छु झैं लाग्छ सबैलाई। सबैलाई लाग्छ किन मलाई यो व्यक्तिले यति गर्दा पनि बुझिदिँदैन। सबैलाई आफू सत्यको पहरेदारझैं लाग्छ। मृत्यु मात्र एक सत्य हो मेरा लागि। बाँकी कुरा सबै सन्दर्भमा आधारित छन्।
सन्दर्भ अनुसार, परिवेश अनुसार क्रिया प्रतिक्रिया मात्र हुन् रहलपहल कुराहरू।
समयले मलाई मैले हुनै नचाहेको कठघरामा अघि ल्यायो, उसको विवाहको अघिल्लो दिन निस्कें घर, कार्यालयबाट बिदा मागेर। भेट जुरायो भाग्यले, कर्मले रूवाउने बनाएर छाड्यो।
अघिल्लो दिन साँझ घरभन्दा बाहिर भेट भयो, बहाना बनाएर निस्किई ऊ, म कुइनेटोमा पर्खिरहें। बोल्न सकिएन, अँगालोमा कस्सिएर रोयौं। केहीबेरपछि अंगालोबाट टाढा हुँदै, हेर्दै गई ऊ।
म व्यक्त गर्न सक्दिनँ विवाहको दिनको घटना।
शत्रुलाई पनि यस्तो दिन देख्न नपरोस्। यत्ति भन्छु, जिन्दगी बाँचेर आए। एउटा कथा त्यही सकाएर आएँ। बाँचेर मरें सरह हुनुको अनुभव गर्न पुगे। फेसबुकका भित्तामा देख्दै थिएँ विवाहका तस्वीरहरू छताछुल्ल भएका।
त्यसको एक महिनापछि, मेरो सरकारी जागिर पक्का भयो। पेशागत रूपमा स्थायी त भएँ, सम्बन्धमा रहन सकिनँ। सबैले बधाई दिँदै गर्दा उसको बधाई पनि घुमाउरो शैलीमा आयो। बधाई कम वेदना बढी भएको मेसेज पाहुना बनेर आइदियो। आपत् त त्यतिबेला लाग्यो जब उसकै स्थानीय तहमा कर्मचारी बनेर पुग्नुपर्यो।
भेट नहोस् भन्दा भन्दै फेरि मलाई यो सृष्टिले संसारका दु:ख तँ सहन सक्छस्, एउटा अर्को पनि अनुभव गर् भनेर पठाएझैं लाग्यो। उसँग विवाह नजुराएको भाग्यले, उसको विवाह दर्ता गर्नुपर्ने कर्मले बाध्य बनायो। जोडी बनेर आएकी उसलाई देखेपछि हातले लेख्न सकेन।
प्रेमी र पतिको त्रिकोणमा बसेका हामीले एकअर्कालाई नचिनेझैं गर्यौ। सँगैको सहकर्मीलाई आफू एकछिन बाहिर निस्कनु पर्ने बहानामा रन्थनिएर बाहिर निस्किएँ।