भदौमासको उखरमाउलो गर्मी, त्यसमाथि तराई। गर्मीले जनजीवन प्रभावित बनाएको थियो। मानिसहरू विशेष काम नपरी बाटोमा हिँड्डुल गर्दैनथे।
भैरहवाको त्यो तातो गर्मी, दिउँसोको एक बजेको थियो, बसका यात्रु जसलाई हेरे पनि नुहाएर बसेको आभास हुन्थ्यो। मानिसको हातमा साना रूमाल कमै देखिन्थो। प्रायः काधँमा गम्छा भिर्थे र त्यही गम्छाले पसिना पुछ्थे।
म पनि गर्मीले रातोपीरो हुँदै पसिना पुछ्दै बसमा बसेको थिएँ। गर्मीले गर्दा यँहा कसैले जग्गा सित्तैमा दिए पनि बस्न सकिन्छ जस्तो लाग्दैनथ्यो, झनै किनेर बस्न त कुरै भएन। यो उखरमाउलो गर्मीले जीउभरी घमौरा आएका थिए। कन्याउनलाई समेत मकैको खोया चाहिएको थियो किनकि हातले सबै ठाउँ पुर्याउन गाह्रो भएको थियो।
बस घ्यारघ्यार गरी बिस्तारै अगाडि बढ्यो। मान्छेहरू सबै पसिना पुछ्दै बसको झ्यालबाट बाहिर हेर्दै थिए। यात्रुहरू आउने क्रम जारी नै थियो। पहिले हामी ५-७ जना थियौं, पछि बिस्तारै भरिन थाल्यो।
बस बिस्तारै अगाडि बढ्यो। हावा आएपछि बल्ल शितल भयो। ड्राइभर टोलसम्म पुगेका के थियौं फेरि यात्रु चढाउन थाल्यो। केही यात्रु चढे। एक जना भने मसँगै मेरो सिटमा बसे।
उखरमाउलो गर्मीमा भएका कारण मेरो ध्यान झ्याल बाहिर नै थियो। मसँगै बस्ने एक जना यात्रुले उहाँको सानो झोला सिट मुनिराख्न खोज्दै हुनुहुँदो रहेछ। त्यसैको लागि मुनि राख्दा केही अप्ठ्यारो हुन्छ कि भनेर सोध्नुभयो।
सिटतिर हेर्दै भनेँ, ‘हुँदैन राख्नुस्’
त्यति भनेको मात्र के भनेको थिएँ उहाँ त मेरो २० वर्ष पहिले सँगै काम गरेको साथी विवेक पो हुनुहुँदो रहेछ। हात मिलायौं, सन्चो बिसन्चोबारे सोध्यौं र अतितका गफ गर्दै रमाउन थाल्यौं।
विवेक र म २०६० सालतिर भारतको गाजियाबादस्थित एक चामल फ्याक्ट्रीमा बोरा बोक्ने काम गर्थ्यौं। त्यतिबेला भर्खर चढेको वैश थियो, जे देखे पनि हाँसो लाग्थ्यो। केही गाउँघरका रमाइला पलका त केही भर्खरभर्खर प्रेममा पर्न लागेका कुरा गर्थ्यौं हामी। कोही केटीसँग हेराहेर मात्र भए पनि कस्तो मन पराएको जस्तो लाग्ने गर्थ्यो, कोही केटीले केही सोधे पनि पक्कै मन पराएर हो कि भन्ने लाग्थ्यो। त्यसबेला यी र यस्तै कुरा विशेष हुन्थे।
कहिले घरमा जाँदा के लैजाने भन्ने कुरा एकदमै मिल्थ्यो। विशेष गरी टेपरेकर्डर, जिन्सका पाइन्ट, चार फोल्डिङ वाला पर्स, यस्तै कुराहरू र युवतीका कुरामा चाहिँ खुबै कुरा मिल्थ्यो। हामीलाई त्यो उमेर हो कि समय हो, घरमा पैसा कमाउनुपर्छ भन्ने पीरका कुरा चाहिँ पटक्कै हुँदैनथ्यो।
‘अनि तपाईं यतिका वर्षसम्म कहाँ हराउनुभयो? के गर्दै हुनुहुन्छ? अनि घर के-कति कामले जान लाग्नुभयो?,’ मैले सबै प्रश्न एकै सासमा सोधेँ।
‘आमा बिरामी भएर घर जान लागेको’
‘गाजियाबाद हुँदा आमा बित्नु भएको भनेको होइन र?’
उहाँले अलि अप्ठ्यारो मान्नुभयो। मनमा खुल्दुली र पीर लागेजस्तो भयो। नसोध्नुपर्ने कुरा कस्तो प्याच्च सोधिएछ। बोल्न नजानेको जस्तो महसुस भयो।
'खासमा कुरा अर्कै हो।' उहाँले बेलिबिस्तार लगाउन थाल्नुभयो।
‘जब गाजियाबादबाट घर फर्केँ। असोजसम्म घरमा सबै ठीक थियो। हाम्रो परिवारमा हाँसो र खुसी दुवै थियो। जब घरमा हजुरबा बित्नुभयो। बुवाका ६ भाइ सबै विवाह बन्धनमा बाँधिएका थिए। सबैको बाल बच्चा भइसकेको थियो।
हजुरबा बितेपछि बुवाहरू बसेर सल्लाह गर्नुभयो, अब सँगै बसेर चल्दैन। बुबाको घिटकिसो पनि रहेन। ज्युँदो रहुन्जेल बुवाले तिमीहरू मिलेर बसेको हेर्ने धोको छ छुट्ने कुरा नगरे है छोरा हो भन्नुभएको भएर त्यही अनुसार नै भयो। बुवाको कुरा काट्ने कुरै भएन।
छुट्ने कुरामा बुवाहरूको एक मत भयो, सबै बुवा बसेर अंश लगाउनु भयो, सबै हाँसीखुसी मन मिलेर छुट्टिनुभयो।
तर हाम्रो घरमा भने ठूलो समस्या पर्यो। हामी तीन भाइ छोरा र बुवा मात्र थियौं, घरमा पकाएर खान दिने आमा, दिदीबहिनी कोही थिएन। साह्रै समस्या भयो। त्यो पहिलो पल थियो जब मलाई आमाको अभाव खड्किएको थियो।
घरमा खाना बनाउने मेसो थिएन। न त बसेर दुःख सुख बिसाउने चौतारी नै थियो। मियो बिनाको दाँही जस्तै भयो, जो जता मन लाग्छ त्यतै जाने। माउ बिनाको चल्ला जस्तै।
हुन त बुवाले केही नगरेको त पटक्कै होइन, तर आमाको जस्तो माया पाउन सकिएन।
एक दिन बारीमा जोत्न गएको थिएँ। गाउँका जेठाबाले बोलाउनुभयो।
सधैं ‘के छ केटा’ भनेर बोलाउने जेठाबाले त्यो दिन ‘के छ बाबु’ भनेर बोलाउनु भयो।
बारीको डिलमा गफ गर्न बोलाउनु भयो। म पनि गोरूलाई कुनातिर घाँस खुवाउन छोडेर कुरा गर्न थालेँ।
जेठाबाले सन्चो बिसन्चो सोधेपछि कुरा घरतिर मोड्नुभयो।
‘हेर बाबु, तेरो घरमा साह्रै समस्या पर्यो। आमाको अभाव खड्कियो। यतिसम्म तिमीहरू जे जसरी बस्यौं बस्यौं। तेरो बाउले पनि तिमीहरूकै मुख हेरेर यत्तिको उमेरसम्म बिहे नगरी बस्यो। भाइहरू पनि साना छन्। घरको जेठो बाठो पनि तैं होस्। घरको जिम्मेवारी तैंमाथि आइपर्यो।
तेरो बिहे गर्ने भनेर तेरो बाउले सोध्न पठाका छन्। के भन्छस्?’
मलाई जीवनमा यति ठूलो चोट, यति पीर र ब्यथा पहिलो पटक महसुस भयो। म एक्कासि भक्कानिएर रोएँ। सोचेँ, घरमा आमा भएको भए छोरोले दिनभरि जोतेको छ भनेर मीठो चोखो नास्ता आउँथ्यो, गोरू भोकाए होलान् भनेर घाँस आउँथ्यो होला बारीमा तरकारी छन् कि भनी टिप्न आउनुहुन्थ्यो होला।
हामी छुट्टिएदेखि रातको खाना खाएर ओछ्यानमा गएपछि आमाको अभाव मैले र परिवारले पहिलो पटक महसुस गरेका छौं। यो ब्यथा न बुवालाई सुनाउन मिल्थ्यो, न त ती साना भाइहरूलाई सुनाएर भक्कानिन नै मिल्थ्यो।
बुवाले पनि माया नगरेको त कहाँ हो र। तर बुवा र आमाको मायामा आकाश धर्तीको फरक हुँदो रैछ। जति कुरा आमासँग भन्न सकिन्छ त्यति कुरा बुवासँग खोल्न नसकिने रहेछ।
यो कुरा बुवाले पनि पक्कै महसुस गर्नुभएको छ होला। तर न बुवाले मनको कुरा खोल्ने, न हामी बुवासँग खुलेर बोल्न सक्ने।
हामी छुटेको तीन दिन मात्र भयो। तर पनि तीन वर्ष जस्तो लाग्या छ। मेरी आमा स्वर्गमा बसेर हेरिरहनुभएको छ भने मलाई टाउको मुसारेर सम्झाउन आउनु न भनेर भक्कानो छोडेर रोएँ। म रोएको देखेर जेठाबा पनि रूनुभयो।
भनिन्छ आँसुले हृदय पखाल्छ, धेरै बेर रोएर होला मनको पीर कसलाई पोखौं पोखौं भएको रहेछ। अलि हल्का महसुस भयो।
'बिहे त गरौंला तर बिहे गरेपछि कमाउन हिँड्नुपर्छ। बच्चा बच्ची हुन्छ। फेरि दुई-चार वर्षपछि उही चाला न हो। बुढी बच्चा पढाउन र पाल्न म कमाउन हिँड्छु। फेरि समस्या जस्ताको त्यस्तै त हो।
बरू अझै पनि केही बिग्रिएको छैन। आमाको माया त सधैंभरी खड्की नै रहन्छ तर अभाव खड्किन नदिने हो भने बुवाको बिहे गर्दिम्।
भाग्यले जुरायो भने हामीलाई माया, ममता दिने र खान लाउन दिने आमा भयो भने बुवालाई पनि सहारा हुन्छ। अर्कातिर हामीलाई पनि मायाममता दिने आमा हुन्छ। त्यसो हुँदा बुवा र हामी दुवैलाई राम्रो हुन्छ जेठाबा। बरू यो कुरा बुबालाई सम्झाइदिनुस्' भनेर भनें।
जेठा बाले पनि सहमति जनाउनुभयो।
‘तँ यति बुद्धिमानी, ज्ञानी र पाको छस् भन्ने मैले सोचेको पनि थिइनँ, तेरा बाले पनि बिहे गर्छु भन्दा छोराहरू टाढिन्छन् भनेर सोचे होलान्। ठीक छ, बुवासँग सल्लाह गरौंला।’
त्यति भनेपछि जेठाबा हिँड्नुभयो।
करिब हप्तादिन पछि बुवाको विवाह भयो। घरमा आमाको आगमन भयो। उहाँ पनि त्यस्तै बुवा बितेर एकल जीवन बिताएर बस्नुभएको रहेछ। हामीलाई कहिल्यै पनि अपमान, घृणा, रूखो बचन र सौतेनी आमाको ब्यवहार गर्नुभएन। सधैंभरी आमाको न्यानो काखमा रूमाल्नुभयो। घरको छानो बनेर हुरी, बतास, घाम, पानीमा पनि ओत लगाउनुभयो।
अहिले बिरामी हुनुभएछ। विवेकलाई भेट्छु भन्नुभएछ त्यही भएर भेट्न जान लाग्या।’
मेरो गहभरी आँसु भरिए। गला अवरूद्ध भयो केही बोल्न सकिनँ।
२० वर्षपछिको भेटपछि अतितका कुरा गर्दा आउँदा मेरो गन्तब्य पनि आइपुगेछ। फोन नम्बर लिने-दिने काम गर्यौं। हप्तादिनमा जसले सम्झे पनि फोन गर्ने वाचासहित बसबाट झरेर हामी बिदा भयौं।