कविता
ॠणले रसातल पुर्याउँदा
कानुनको करङ भाच्चिँदै छ
नहुनुपर्ने हुँदैछ
हुनुपर्ने हुँदैछैन
डाक्टरको टाउको फुट्दै छ
शिक्षकको खुट्टा भाच्चिँदै छ
बल्ल पो गणतन्त्रको अनुभूति हुँदैछ!
सत्यको सातो गएको छ
असत्य मइमत्त भएको छ
पौरखी बनेर के गर्छौ यहाँ?
फेल पास भएको छ
पास फेल भएको छ
भाग्य लेख्ने विधाता अर्कै छ
बल्ल पो गणतन्त्रको अनुभूति हुँदैछ!
आदर्श स्खलित भएको छ
आश्वासनको वर्षात हुँदैछ
लुछ सकेजति लुछ
चुस सकेजति चुस
देश नरहे के हुन्छ?
हामी रहे पुग्छ
बल्ल पो गणतन्त्रको अनुभूति हुँदैछ!
बाझिन्देउ पाखाबारीहरू
विदेशीन्देउ नर नारीहरू
अरूलाई पुगोस् नपुगोस्
हामीलाई पुगे हुन्छ
अरू रोएर के हुन्छ
हामी हाँसे पुग्छ
बल्ल पो गणतन्त्रको अनुभूति हुँदैछ!
नियम निस्सासिन्छ
कानुन कुल्चिइन्छ
अरू मरेर के फरक
मेरा बाँच्नु पर्छ
पीडितलाई पिरोल्नु पर्छ
पीडकलाई सलाम ठोक्नु पर्छ
बल्ल पो गणतन्त्रको अनुभूति हुँदैछ!
भोकालाई भकुर्नुपर्छ
नाङ्गालाई झन् नङ्ग्याउनु पर्छ
ऐन त भुइँमान्छे लाई हो
ठूलालाई चैन हुनुपर्छ
न्याय नासिन्छ
सत्य मासिन्छ
बल्ल पो गणतन्त्रको अनुभूति हुँदैछ!
सहिद रोए होलान्
बलिदानी खेर गयो होला
देश नबद्लिए के हुन्छ?
मुठ्ठीभर बदलिए हुन्छ
फरक पर्दैन गाउँघर रित्तिए
हामी भरिलो हुनुपर्छ
बल्ल पो गणतन्त्रको अनुभूति हुँदैछ!