कविता
कसको माग जायज होला?
किटान गर्देऊ न सरकार
सबैको आफ्नै विचार
कसको तर्क सही
बुझाइ देऊ न सरकार
राजनीतिक कर्मी भन्छन्,
तिमी शिक्षक हौ
शिक्षकको कर्तव्य क्षिक्षण गर्नु हो,
शिक्षण गर्न छोडेर आन्दोलन न गर,
तिम्रो स्थान विद्यालायको कक्षाकोठामा विद्यार्थी भुलाउनु हो
यसरी तिमी सडकमा नआऊ न
सडकमा आउने काम हाम्रो हो!
विद्यार्थीको भविष्य डामाडोल हुन्छ,
आन्दोलन गरे तिम्रो जागिर चैट हुन्छ,
सडकमा बसेर आन्दोलन नगर न।
सडकमा आउनेलाई लाठी चार्ज गर सरकार।
अभिभावक भन्छन्
संस्थागत विद्यालयमा फि तिरेर पढाउन नसकेर
हाम्रा सन्तान सरकारी विद्यालय पठाएका हौ
शिक्षक किन विद्यालयको गेटमै चाबी लगाएर
सडकमा नाची रहेछन्!
हाम्रा नानी बाबुलाई
ज्ञान दिने गुरू पो हुन् त ती
अन्याय भयो पो भन्दै छन् त!
शिक्षकका माग जायज भए हामी पनि सडकमा आउँछौ।
गुरूको चित्त बुझाऊ सरकार
विद्यार्थी भन्छन् होइन हाम्रा गुरूलाई के भएछ?
हिजो त हामी सडकमा जान खोज्दा
यी त ! एमाले, माओवादी, कांग्रेस, राप्रपा अनेक पार्टीका नेता पो हुन् त!
यो त तिमी हामी बस्ने ठाउँ होइन, नेता बस्ने ठाउँ हो,
मेरो विचार अनुसार निर्णय भएन भनी सडकमा बसेका हुन् यिनी,
सत्ता चलाउन कुर्सीमा को जाने होडबाजी गर्दैछन्
तिमी त विद्यार्थी हौ, बालबालिका हौ,
त्यस्ता आन्दोलन हेर्नु हुँदैन, आऊ कक्षा कोठामा बस।
तिम्रो कर्तव्य त राम्रो पढेर, ज्ञान गुनका कुरा सिकेर
असल मान्छे बन्ने हो, भन्ने हाम्रा गुरू
आज आफैं सडकमा छरपस्ट छन् !!
अब हामी के गरौं सडकमा जाऔं ? कि कक्षा कोठामा सरकार?
विभिन्न पेशा कर्मी भन्छन्
तिमी शिक्षक हौ।
चित्त नबुझे राजीनामा देऊ
शिक्षकको स्वाभिमानको धब्जी नउडाऊ
हिजो धनभन्दा विद्या ठूलो भनेर सिकाउने तिमि नै होइनौ र?
हामी त्यही तलबमा अर्को शिक्षक नियुक्ति गर्छौं।
नयाँ नियुक्ति गर्ने अधिकार दे सरकार।
बेरोजगार युवा भन्छन्
यिनी शिक्षक हुन्,
तलब नपचेर सडकमा रमाउँदैछन्
बर्खास्त गरेर हामीलाई नियुक्ति देऊ
हामी त्यही तलबमा पनि पढाइ दिन्छौं सरकार
शिक्षक भन्छन्,
हो, म शिक्षक हुँ!
जिम्मेवारी बोध गरी कक्षा कोठामा गएर
शिक्षण गर्नु मेरो कर्तव्य हो भन्ने त मलाई पनि थाहा छ,
यी कलिला लालाबालालाई सही मार्गदर्शन दिनु मेरो दायित्व हो, त्यो पनि थाहा छ,
गुरू भएर सडक आन्दोलन गर्दै सडकमा उत्रनु हुन्न बुझेको छु
त्यही भएर त म पनि तिम्रो विश्वास गरेर
विद्यार्थीलाई चुपचाप ज्ञान र अर्ति दिँदै थिएँ नि!
बेलुकी त दिन भरिको थकानले मस्त निदाएछु
बिहान बिउँझिदा पो शिक्षा विधेयक देख्दा झसङ्ग भएछु
शिक्षा विधेक शिक्षकका समस्या विपरीत रहेछ त
अब म के गरौं?
एकै छिन सोचें,
मेरो लागि कसले बोलिदेला?
म बोलौं कि न बोलौं, मन मिचेर चुपचाप सहेर बसौं त?
विचार गरें, अनि सम्झें,
समाएर हात तिम्रा क क लेख्न सिकाएर
मैले केही भूल पो गरे कि?
पढाएर तिमीलाई असल मान्छे बन्न सघाएर
मैले केही भूल पो गरे कि?
फुस्किएको दौरा र जुत्ताको तुना
बान्न नजान्दा बान्न सिकाएर पो भूल गरें कि
न कि तिमीले आज मेरो चित्त कसरी बुझाउन सकेनौ ?
चाहे तिमी वकिल हौ,
चाहे विषय विषयका विज्ञ हौ,
मन्त्री, प्रधान मन्त्री,
डाक्टर इन्जिनियर, राजनीतिक कर्मी,
निजामती कर्मचारी, शासक प्रशासक,
ड्राइभर, पाइलट, डकर्मी, सिकर्मी ....
कृषक, पुँजिपति अन्य जे पहिचान बनाएका छौ नि!
त्यो सबै मेरै देन होइन र .... !
एकछिन शान्त मनले विचार गर त
तिमीले त्यो दिन क लेख्दा
पुच्छर घुमाउन नजानेर हार मानेर कलम फाल्दा
तिम्रो हात समाएर
मैले पुच्छर घुमाउन नसिकाएको भए,
सिंगो अक्षर उच्चारण गर्न न जान्दा,
अक्षर, आकर, इकार उकार छुट्याइ छुट्याइ बुझाएर
शब्द उचारण गर्न न सिकाएको भए,
तिमी आज वकिल, विषय विषयका विज्ञ,
मन्त्री, प्रधान मन्त्री,
डाक्टर, इन्जिनियर, राजनीतिक कर्मी,
निजामती कर्मचारी, शासक प्रशासक ,
ड्राइभर, पाइलट, डकर्मी, सिकर्मी शासक प्रशासक,
पुँजिपति जस्ता पहिचान बनाउथियौ होला र?
आज यो विधेयक लेख्न सक्ने खुबी बनाउथियौ होला र?
अनि म के गरौं भन त,
हो, म शिक्षक हुँ
मलाई मेरो जिम्मेवारी, मेरो कर्तव्य, दयित्व अधिकार क्षेत्र
सबै थाहा छ
मलाई थाहा नभएको भए तिमी आहिले विधेयक लेख्न सक्ने हुन्थियौ र?
हो, कक्षाकोठामा पाठ्यक्रम अनुसार तयार गरिएका
पाठ्यपुस्तकको विषयसूचीको आधारमा
विद्यार्थी पढाउनु मेरो कर्तव्य हो,
विद्यार्थीलाई सही मार्ग दर्शन दिन
पाठ्यपुस्तक बाहिरका आचारणका कुरा सिकाउनु पनि मेरो कर्तव्य हो,
तर थाहा छ! तिमीलाई? मैले तिमीलाई कसरी पढाएर सक्षम बनाएँ?
सुन आज तिमी पनि
शिक्षकको तलबले घर खर्च नधान्दा,
रातो फाटेको चप्पललाई
कुपिको सलेदो सल्काएर टासेर नयाँ मानेर लगाएर
फाटेको पुरानो सटलाई
सियो र धागोले तुनेर नयाँ नयाँ मानेर लगाएर
बिहान बेलुकाको गर्जो नटर्दा
माली गाई, काली भैंसी, सेती बाख्रो,
कुखुरा परेवा पालेर खर्च जुटाएर घर चलाउँदै
लज्जावती झार र जंगली काँडाले भरिएको पाखो
फोडेर बिरौटो बनाई
धान मकै कोदो फापर उत्पादन गरेर पेट भर्दै
घाँस काट्दा र वारि फाड्दा हसियाँले रेटिएको घाउमा
बनमारा र तिते पाती माडेर रस चुवाएर झुम्रोले बान्दै
बिरामी भएर थलिएका बुवा आमाको उपचारको लागि
स्वास्थ्य चौकी सम्म लैजाने खर्च नहुँदा
बेसार पानी उमालेर खुवाउँदै
सुत्केरीमा पोसिलो खानेकुरा जुटाउन खर्च नपुग्दा,
जुवानो झोल उमालेर पिउँदै र पिलाउँदै,
नवजात शिशु चिसोले कठ्यांग्रिँदा
अगेनीमा आगो फुकेर सेकेर न्यानो बनाउँदै
यति गरेर तिम्रो असल पहिचान बनाउन लागि परेको म!
तिमीले मेरो अधिकारको लागि न बोल्दिए पछि त
म मेरो र मैले माया गरेर अंगालेको पेसाको
न्यायको लागि सडकमा आएको हो नि।
तिमीले मेरो लागि आन्दोलन नगरिदिए पछि त
मेरो हितमा कानुन नलेखिदिए पछि त
बल्ल म बिउँझिएर सडकमा आएको त हो नि
मेरा विद्यार्थीको चिन्ता तिमी किन लिन्छौं?
म बिहान बेलुका, दसैं तिहार, बिदा सदुपयोग गरेर पनि
मेरा विद्यार्थीको छुटेको कोर्ष पूरा गर्छु
पहिला मलाई न्याय देऊ सरकार
म भन्छु, हो, तिमी शिक्षक हौ।
जसको कर्तव्य जे औंल्याए पनि,
तिम्रो कर्तव्य पढाउनु नै हो,
विद्यार्थीलाई असल नागरिक बनाउन अर्ति उपदेश दिनु नै हो,
त्यसैले तिमी कक्षाकोठा मानै जाऊ
तिम्रै विद्यार्थीसँग रमाऊ
तिमीलाई अन्याय पर्दा चुपचाप सहेर न बस
वर्षमा २ दिन भए पनि जायज माग राखेर आन्दोलन नै गर
तर तिमीले आन्दोलन गर्दै गर्दा
पेशाप्रति न्याय माग्दै गर्दा
कक्षाकोठामा विद्यार्थीसँग रमाउँदै गर्दा
तिमीले ज्ञान छर्ने विद्यालयको कक्षाकोठा,
खेलमैदान, डेस्क बेञ्च, शौचालय , पिउने पानी,
कम्पाउन्ड, बाटो लगायत
अन्य शैक्षिक सामग्री अवस्था
बालमैत्री र अपाङ्गमैत्री भए न भएको,
शिक्षा दिँदै गर्दा
तिमीले आधार मानेर पढाएका पाठ्यपुस्तकमा
समावेश गरिएका विषय सूचीमा
प्रयोगात्मक र व्यावसायिक शिक्षालाई
समय अनुसार परिमार्जन भए नभएको,
संस्थागत विद्यालय झैं
सामुदायिक विद्यालयको शैक्षिक स्थिति सुधारेर
सामुदायिक विद्यालय प्रति
अभिभावक र विद्यार्थीको विश्वास
कायम गर्ने आधार तयार भएको नभएको
ती बालविकास पढ्ने बालबालिकाको दिमागले
थेग्ने किसिमको पाठ्यक्रममा एकरूपता भए नभएको
बालविकास सहजकर्ताको सेवा सुविधा परिश्रम अनुसार भएको नभएको विचार गरेर मजबुद हुने गरी न्याय माग है
शिक्षा विधेयकले शिक्षण पेसालाई
न्याय त गरेको छ छैन? मलाई त थाहा छैन
तर म भन्छु
अरू केही न गरे पनि
त्यो विधेयकमा विद्यालयको कक्षाकोठा,
खेलमैदान, डेस्क बेञ्च, शौचालय , पिउने पानी,
कम्पाउन्ड, बाटो लगायत
अन्य शैक्षिक सामग्री अवस्था
बालमैत्री र अपाङ्गमैत्री,
पाठ्यक्रम अनुसार पाठ्यपुस्तकमा
समावेश गरिएका विषय सूचीमा
प्रयोगात्मक र व्यावसायिक शिक्षालाई
समय अनुसार परिमार्जन गर्न
शिक्षक अग्रसर हुने अवसर
संस्थागत विद्यालय झैं
सामुदायिक विद्यालयको शैक्षिक स्थिति
सुधारेर सामुदायिक विद्यालय प्रति
अभिभावक र विद्यार्थीको विश्वास कायम गर्ने आधार,
ती बालविकास पढ्ने बालबालिकाको दिमागले
थेग्ने किसिमको पाठ्यक्रममा एकरूपता ल्याउने आधार,
बालविकास सहजकर्ताको परिश्रम अनुसारको
सेवा सुविधा पाउने आधार चाहिँ तयार गरौं न सरकार।
साँच्चै कसको माग जायज होला ??
किटान गर्देऊ न सरकार
सबैको आफ्नै विचार
कसको तर्क सही
बुझाइ देऊ न सरकार