कविता
वर्षौंको तपस्यापछि च्याँच्याँ सुन्न लालायित थिए राम दाइ
तर जन्मँदै उसका आँखा खुलेनन्!
अन्धकारको घेराबन्दीमा परिसकेको थियो ऊ
अब उसका आँखाले टिमटिम गरेको तारा देख्दैन!
ती सलक्क परेका औंलाले क ख लेख्दैन! !
पल्लो घरकी छिमेकीले सान्त्वना दिँदै भनिन्
झाँक्री बाकोमा जा र भाकल गरेर बली चढा
मन भारी बनाउँदै, राम दाइ गए कूल देवता माकल्थान!
ज्योति फर्काउन सक्ने भए गर्थे आफ्नै आँखा दान! !
अँ साँच्चि भन त
कहाँ भेटिन्छन् तिम्रो भगवान?
कृष्ण दाइकी कान्छी छोरी एसइई मा ३ चोटि फेल भइन्
आफैंसँग विरक्तिएर कति चोटि आत्महत्या गर्न खोजिन्
अब उनी सायदै मुस्कुराउँछिन् !
निन्द्रामा आजकाल सधैं बर्बराउँछिन्! !
खै उनको मुहारको मुस्कान कहिले फर्किन्छ?
के समयले उनलाई मात्र पर्खिन्छ?
सोध्ने मन छ एउटै प्रश्न
के स्कुलले सिकाउनु पर्दैन जीवन जिउने ज्ञान?
कहाँ भेटिन्छन् आजकल भगवान?
३ वटी छोरी पछि छोराको आशले
शर्मिला काकी फेरि गर्भवती बनिन्!
छोरा पाउनकै लागि गणेशलाई १०८ लड्डु थालभरी गनिन्! !
नर्सले आएर फेरि छोरी भएको खबर जब सुनाइन्
डाँको छोडेर कसैको शोक परेझैं चिच्याइन्
सोध्न मन छ एउटै प्रश्न
४ छोरीहरूले काँध दिएर दागबत्ती दिँदा के उनी स्वर्गमा पुग्दिनन्?
किन छन् सत्य देखि सबै अन्जान?
कहाँ भेटिन्छन् आजकल तिम्रो भगवान?
भर्खरै १८ पार गरेको साइँला दाइको छोरा
मायाको रंगीन दुनियाँमा हराउन थालेछ
सपनाहरू फूल जस्तै ढकमक्क छन!
बसमा छैन आजकल उसको आफ्नै मन!!
जातीय विभेद देखाउँदै प्रेमिकाले छोडेर गइन्!
पढेलेखेका स्वाँठहरूको समाजमा उनी निरीह भइन्!!
अब सोध्ने मन छ एउटै प्रश्न
कसले बनायो जात, धर्म, विभेद अनी झुटो शान?
भनन कहाँ भेटिन्छन् आजकल तिम्रो भगवान?
डाडाँघर माथि भएको बुढो रूख चढ्दा
रूख जस्तै कुप्रो परिसकेका भीमप्रसाद बा लड्नु भएछ
मलाई याद छ,
१८ जनाको ठूलो परिवार थियो
बा गाउँभरि हल्ला गर्नु हुन्थ्यो!
दसैं तिहार चाडवाडमा जम्मा हुँदा
भीमप्रसााद बाकै सन्तान जम्मा भएछन् भन्ने बुझिन्थ्यो!!
आजकल बा चुलोको दुई कुनामा टोलाउँदै बस्नु हुन्छ!
आमा आग्लो धकेल्दै एक्लै भित्र पस्नुहुन्छ!!
आज,
घर धेरै भए, खेतबारी धेरै भए, भन्नलाई सन्तान धेरै भए!
अहिले सबै छ तर चाहना र रहरहरू सबै हराएर गए!!
जे छ आफूसँग त्योसँग खसी छैन मन
खुसी किन्न नसक्ने किन चहियो र त्यस्तो धन?
अब सोध्न मन छ एउटै प्रश्न
के हुँदा शान्त, सुखी र खुसी होला मन?
आखिर कहाँ भेटिन्छ तिम्रो र मेरो भगवान ?