आजभन्दा धेरै वर्ष पहिलेको कुरा हो। नेपालको पश्चिमी पहाडी गाउँमा एउटा मध्यम वर्गीय परिवार बस्थ्यो। त्यही परिवारमा एउटा फरक क्षमता भएको सन्तानको जन्म हुन्छ। ऊ जन्मजात दृष्टिविहीन भएर जन्मिन्छ। सानो छँदा उसको दृष्टिविहीनता पहिचान गर्न धेरै समय लाग्यो।
पहिले उसलाई अरू जस्तै साङ्ग र सवलाङ्गको दर्जा प्राप्त थियो। तर एकदिन जब ऊ आफ्नी हजुरआमासँग बाहिर कतै कार्यक्रममा गयो तब मान्छेहरूको भिडमा उसले आफ्नो छेउमै रहेकी हजुरआमालाई चिन्न सकेन।
हजुरआमाको आवाज नसुन्दा ऊ हजुरआमा भन्दै चिच्यायो तब छेउमै रहेकी हजुरआमाले यसमा केही गडबडी पक्कै छ भनेर एउटा निष्कर्षमा पुग्नुभयो। निर्दोष बालकको यस्तो क्रियाकलाप देखेर सबै आपसमा मुखामुख गर्न थाले।
हजुरआमाले बालकलाई तुरून्तै घर लानु भयो र दिनभर भोगेका कुराहरूको सविस्तार वर्णन गर्नुभयो र ऊ दृष्टिविहीन भएको आफ्नो निष्कर्ष प्रस्तुत गर्नुभयो र तत्कालै उपचार गर्नुपर्ने कुरा सुझाउनुभयो। तर हजुरआमाको कुरा कसैले पत्याएनन्। समय बित्दै गयो बालक हुर्कंदै गयो। त्यसपछि बालकका हर क्रियाकलापको निगरानी गर्न थालियो।
अन्त्यमा सबैले उसको दृष्टिविहीनतालाई कसैले नचाहँदा नचाहँदै बाध्य भएर स्वीकार्नु पर्यो। अन्धविश्वासले जड गाडेको त्यो समाजमा अनगिन्ती कोणहरूबाट उसको दृष्टीविहीनतालाई लिएर बहसहरू छेडिन थाले। कतै टाढा लगेर बेलैमा उपचार गराउन सकेमा दृष्टि फर्कन सक्छ भनेर उसको परिवारलाई धेरैले सल्लाह सुझाव दिए। तर उसको परिवारले यसलाई ठाडै इन्कार गरिदियो।
विचरा अबोध बालकलाई आफू आँखा नदेख्नेछु भनेर थाहा हुने कुरा भएन। त्यतिखेरसम्म उसका दौंतरीहरू पनि उसको त्यो अपाङ्गतासँग परिचित भैसकेका थिएनन्। तसर्थ ऊ समाजमा निर्वाध भएर साथीहरूसँग खेल्न जान्थ्यो। साथीहरूले त झन् अस्वीकार गर्ने कुरै भएन। परिवारले उसको समस्यालाई गम्भीरतापूर्वक लिएन। कसैले उसको बारेमा कुरा गर्दा उसका बाबु कुरा सुनेर त हिँड्थे तर विचार भने पटक्कै गर्दैन थिए।
गाउँले परिवेश न हो आखिर एक ठाउँमा भएका कुरा विस्तारै फैलिहाल्छ। यही क्रममा बालक दृष्टिविहीन भएको कुरा उसका फुपाजूले थाहा पाउनुभयो र उपचार गराउनका निम्ति तत्पर भएर अघि सर्नुभयो। यस कुरालाई बालकको परिवारले ठाडै नकार्यो। तर फुपाजूको अघि बालकको परिवारको केही जोड चलेन र फुपाजूले आफ्नै पैसामा आँखाको ज्योति फर्काउन सकिन्छ कि भनेर उसलाई उपचार गर्न लैजानु भयो।
विभिन्न आँखा उपचार केन्द्रमा बालकको आँखाको परीक्षण गराइयो तर कसैले यही समस्या हो भनेर पहिचान गर्न सकेनन्। सबैले यहाँ सम्भव छैन काठमाडौं लान सकिएमा केही हुन सक्ने भनेर झिनो आशाको दीयो बालिदिने कामसम्म गरिदिए।
फुपाजूलाई काठमाडौंसम्म लगेर जसरी भएता पनि बालकको ज्योति फर्काउन मन थियो। तर सधैं इच्छा शक्तिमात्र भएर नहुने रहेछ। आकाङ्क्षाका सल्बलाउँदा रहरहरूलाई अनेकौं विवशता र अभावका धुमिल किरणहरूले निस्तेज पारिदिने रहेछन्।
देशमा घटाइएको जनयुद्ध र आर्थिक अभावले गर्दा फुपाजूको सपनामा तुसारापात पर्यो र बालकको आँखा उपचार गराउने रहर केबल रहरमा सीमित भैदियो। बालकको परिवारले उसलाई जन्म त दियो तर पारिवारिक कर्तव्य पूरा गर्न अग्रसर भएन।
फलस्वरूप बिचरो बालकले अब जीवन पर्यन्त दृष्टिविहीनको ट्याग बोकेर हिँड्नु पर्ने दिनको सुरूआत भयो। बालक आफ्नो जीवनको प्रारम्भिक चरणमै भएको हुँदा ऊ जीवन लिलाबारे बेखबर थियो। तर उसलाई लिएर उसको परिवारमा दैनिकजसो कचिङ्गल सिर्जना हुन थाल्यो। परिवारले उसको सुन्दर भविष्यको निर्माण सुनिश्चिततामा नलागेर एउटा गैरजिम्मेवार परिवारको पहिचान झल्काउनमै मस्त रह्यो।
उस्को परिवार झनभन्दा झन कठोर बन्दै गयो। मातृ वात्सल्य प्राप्त गर्नुपर्ने त्यो कल्कलाउँदो उमेरमा उसलाई दृष्टिविहीनहरूलाई पढाउने छात्रावासमा लगेर राखियो। त्यसबखत जिल्लाभित्र त्यस्ता सुविधाहरू उपलब्ध थिएनन्। यद्यपि उसलाई छिमेकी जिल्लाको छात्रावासमा लगेर राखियो। जुनबेला उसको उमेर केबल साढे तीन वर्षको मात्र थियो।
सुरूमा बालकले त्यहाँ निकै शून्यता र रिक्तताको महसुस गरिरह्यो। उसले आफू आँखा नदेख्ने कुरा पनि त्यही गएर थाहा पायो। आफूलाई जन्माउने र स्याहार सुसार गर्नेको आँखाको कसिङ्गर भएको अभागीले अरूको वास्तविक माया पाउने त कुरै भएन। त्यहाँ रहँदा बालकले अथाह समस्याको साक्षी बन्नुपर्यो। मस्त खाने र राम्रो लाउने त्यो सानो उमेरमा उसले आफूमैत्री खानाको मुख देख्नसम्म पाएन। सधैं ठूल्ठूला दाइ-दिदीहरूलाई पकाएको खानेकुरा खानु पर्थ्यो, भनेको समयमा उठ्नुपर्थ्यो र दिइएको निर्देशनको पालना गर्नु पर्दथ्यो।
करिब डेढ वर्ष उक्त होस्टलमा बस्दा उसको आफ्नो प्राकृतिक वृद्धि बाहेक अर कुराहरू केही पनि हासिल गर्न सकेन। केही समयपछि उसको जिल्लामा पनि सोही किसिमको छात्रावास स्थापना भयो। बिदामा लिन जाँदा टाढा हुने भएकाले उसको परिवारले उसलाई आफ्नै जिल्लाको दृष्टिविहीन राख्ने छात्रावासमा पहिलो विद्यार्थिको रूपमा भर्ना गरिदियो।
त्यसबेला उसको उमेर पाँच वर्ष भइसकेको थियो। बालक सानैदेखि खासै धेरै नबोल्ने, कसैसँग झगडा नगर्ने र गम्भीर प्रकृतिको थियो। त्यहाँ रहँदा पनि बालकले हजारौँ चुनौतीसँग जुधिरहनु पर्यो। त्यस विद्यालयमा नाम मात्रको पढाइ थियो। यो कसैको दोस नभएर एउटा दुर्गममा खोलिएको विद्यालयको वास्तविकता बोल्ने एउटा प्रतिनिधि घटना मात्र थियो।
त्यस ठाउँमा बालकले आफ्नो उत्तर बाल्य अवस्था बितायो। तर प्रगति भने ज्यूँका त्यूँ थियो। छात्रावास भएको हुनाले उसले राम्रो खान पाएन र लाउन पनि पाएन। त्यहाँ उसको उर्वर समयको मात्र नाश भयो। ऊ धेरै नबोल्ने शान्त स्वभावको भएको हुँदा धेरैको कुटाइ खान्थ्यो, धम्कीको सामना गर्नुपर्थ्यो, बिना गल्तीको दोषको भारी बोक्नु पर्थ्यो र सदा रुनुपर्थ्यो। यहाँ उसले धेरैको समर्थन र माया पाउन कति याचना गर्यो तर ऊ बोल्न नसक्ने, पढाइ राम्रो नभएको, सानो र सोझो भएकै कारणले उसको यात्रा सफल हुन सकेन।
आँखा नदेख्ने भएकै कारण उसले आफ्नो परिवारबाट तिरस्कृत हुनुपर्यो, साथीहरू पनि भएनन्, गाउँले पनि दाहिना भइदिएनन् र उसको मर्कालाई कसैले पनि बुझिदिएनन्। छात्रावासबाट घर आएको बेला उसलाई गाउँ घुम्न जान पूर्ण रूपमा प्रतिबन्ध थियो।
उसका बाबु उसकै कारण आफूलाई समाजमा मुख देखाउन गाह्रो भएको पश्चगामी विचार राख्थे। बेलाबेला बालकलाई तैंले गर्दा मेरो भएको इच्जत पनि गयो भन्दै उसलाई हकार्ने काम गर्थे। ऊ कतै घुम्न गइहालेमा बेलुकी घर आएसी कुटाइ खानु दैनिक अभ्यास जस्तै भइसकेको थियो।
छात्रावासमा राम्रो खान र लाउन त पाएन नै घरमा पनि उसले खान त पाउथ्यो तर नयाँ लाउन र कतै जान आकाशको फल आँखा तरी मर भने सरह थियो। गाउँलेहरूले पनि उसको भविष्यलाई लिएर भए नभएका टीकाटिप्पणी गर्ने गर्दथे त्यस कुराले उसको बाबुको आत्मसम्मानमा ठेस पुगेको भन्दै बालकलाई निर्मम यातना दिने गर्दथे। चाडपर्व आउँदा आफन्तहरूले छिट्टै मर्नु भनेर आशीर्वाद दिने गर्थे।
बिना कसुर यस्ता अप्रत्यासित घटनाहरूसँग जुध्नुपर्दा बालक निकै आजित र हैरानी खपेर बसिरहेको थियो। ऊ चाहेर पनि विद्रोह गर्न सक्दैन थियो। किनभने सिङ्गाे गाउँ र आफन्तहरू उसको विपक्षमा थिए।
उसको जाने ठाउँ कतै थिएन, कठिन भौगोलिक अवस्थाका कारण एक्लै गाउँ बाहिर जान नसक्ने भएकाले ऊ आफ्नो मनमा दन्किएको क्रोधरूपी ज्वालामुखीलाई मनभित्रै बाध्यतावस दबाउन विवश थियो।
सारा परिवारजन, आफन्त, इष्टमित्र, गाउँलेहररू र चिनेजानेकाहरू उसलाई धर्तीको बोझका रूपमा चित्रित गर्थे। दृष्टिविहीन हुनु उसको कुनै दोष थियो न त कुनै रहर या न त कुनै अपराध तर साराले यसैलाई प्रमुख मुद्दा बनाएर एउटा अवोध बालकलाई दपेड्ने काम गरिरहेका थिए।
अरूले त हेपे हेपे स्वयं उसकी जन्म दिने आमाले समेत उसलाई एउटा कसिङ्गरका रूपमा लिनुभएको थियो। यसले बालकलाई ज्यादै विक्षिप्त बनायो। जब कसैले आफ्नी जन्म दिने आमाबाट कुनै वात्सल्य प्राप्त गर्दैन भने यो मतलबी समाजबाट के आश गर्न सकिन्छ होला र भन्दै बालक एकान्तमा बसेर धेरै रुने गर्थ्यो।
उसको परिवारले उसलाई सदाका निम्ति कतै पन्छाउन सकिन्छ कि भनेर दाउ हेरिरहेको थियो। यतिकैमा ऊ पढ्दै गरेको विद्यालयले पाँच कक्षाभन्दा बढी पढाइ नहुने कुराको जानकारी उसको परिवारलाई गरायो।
त्यसपछि बालकको परिवारमा अर्को चिन्ता सुरू भयो। उक्त चिन्ता उसको भविष्यलाई लिएर थिएन त्यो त उसलाई अब कहाँ कसरी व्यवस्थापन गर्ने भनेर पैदा भएको दुविधा मात्र थियो।
यस चिन्ताबाट मुक्त हुन बुवाले धेरैसँग विचार विमर्श गर्नुभयो अन्त्यमा गाउँकै एउटा राजनीति गर्ने अंकलको पोल्टामा बालकको व्यवस्थापन गर्ने गहन जिम्मेवारी सुम्पिनुभयो।
अंकलका लागि यो मामुली कुरा थियो। चाँडै नै काठमाडौंमा अङ्कलले दृष्टिविहीनलाई अध्ययन गराउने हेतुले स्थापना हुन लागेको एउटा शैक्षिक केन्द्र फेला पार्नुभयो। संयोगले उक्त केन्द्रमा पनि भर्ना हुने त्यो बालक प्रथम थियो।
गाउँबाट काठमाडौं प्रस्थान गर्दाका बखत बालकको मनमा निकै सन्तोष मिलिरहेको थियो, उसको अनुहार खुसीले दंग थियो र मुहारमा बेग्लै किसिमको कान्ति सलबलाई रहेको थियो। ऊ पनि परिवार र गाउँलेहरूको समिपबाट निकै टाढा जान चाहन्थ्यो। किनभने निरन्तरको हेपाइ, दपेटाइ उसमाथिको अन्याय र अत्याचारले ऊ निकै स्तब्ध र भावविह्वल भैसकेको थियो।
सहरमा गएर पढ्न पाउने कुराले ऊ पूर्णिमाको चन्द्रमा जस्तै उज्यालिएको थियो। सहर जाने क्रममा उसले एउटा तितो कुरा सुन्नु पर्यो।
उसकी एक जना दिदी पर्ने भन्दै थिइन्, 'यस्ताले त बाँचेर के गर्नु बरू छिट्टै मरेको भए परिवारलाई पनि हाइ सन्चो हुन्थ्यो अनि यसको आत्माले पनि सुख पाउथ्यो।'
त्यसबेला बालकले मुखभरीको जवाफ दिने विचारर गरेको थियो तर खै के कुराले हो ऊ रोकियो र पछी जीवनमा धेरै प्रगतl गरेर देखाउने प्रण गर्दै सहरतिर पाइला बढायो।
यता सहरमा उसको नयाँ जीवनको प्रारम्भ भयो। सुरूआतमा सहर उसका लागि अपरिचित थियो। नयाँ वातावरण, नयाँ परिवेश र नयाँ ठाउँ यस कुराले ऊ निकै सङ्कटमा पर्यो। तर देश अनुसारको केस भन्ने युक्तिलाई अंगाल्दै ऊ यही वातावरणमा समायोजित भयो।
सुरूका वर्षहरू उसका निमित्त ज्यादै सुन्दर थिए। पढाइमा संघर्ष गर्नुपर्यो तर अरू सबै कुरा उसका लागि सहज र आफूमैत्री थिए। सहर छिरेपछि उसको जीवन हरतरहले रङ्गिन र स्मरणीय रह्यो।
तर समय सदा एकनासको नहुने रहेछ। उसको रंगीन जीवनमा केही अमङ्गलका सूचकहरू देखिन थाले। ऊ अध्ययनरत शैक्षिक केन्द्रका कर्मचारी र विद्यार्थी सहकर्मीसँग उसका मत मतान्तरहरू सतहमा आउन थाले। ऊ पहिला जस्तो कम बोल्ने थिएन अब ऊ धेरै बाठो भैसकेको थियो। आफूलाई गलत लागेका कुरा अरू समक्ष सहजै अभिव्यक्त गर्न सक्ने सामर्थ्य उसले जुटाइसकेको थियो।
तसर्थ, आफूलाई चित्त नबुझेका कुरामा ऊ वादविवादमा उत्रिन थालिसकेको थियो। यस्तो देखेर केन्द्रका कर्मचारी र उसको विरोध गर्ने विद्यार्थीहरू एकजुट भएर उसलाई असफल बनाउन लागि पर्न थाले। विकृति र विसङ्गतीविरूद्ध बोलेकै बाबजुत उसले अनेकौ झुटा प्रपञ्चमा फस्नु पर्यो।
बालकलाई गलाई छाड्ने रणनीति लिएर अनेकौं तानावानाहरू बुनिन थाले। उसले नचाहँदा नचाहँदै यस्ता षड्यन्त्रको सिकार हुनु परिरहेको थियो। केन्द्रभित्र उसका सामानहरू चोरी हुँदा पनि छानबिन गर्ने तदारूकता सञ्चालकले देखाउँदैन थिए। यसैबीच उसलाई उक्त केन्द्रबाट निकाल्ने तानावाना पनि नबुनिएका होइनन्। तर बालकको पढाइप्रतिको काविलता र जुझारूपन देखेर ऊ अध्ययनरत विद्यालय बालकबाट निकै प्रभावित थियो। त्यसैले भोलि किन हटाइस्? भनेर प्रश्न उठ्छ भनेर बालक त्यहाँ बसिरहन पाएको थियो।
यदि स्कुलमात्र उसको विपक्षमा भैदिएको भए सायद बालकले धेरै पहिलाबाटै उक्त केन्द्रबाट आफ्नो झोली उठाउनुपर्ने अवस्था आइसक्ने थियो। तर माध्यमिक शिक्षा परीक्षा सकिएपछि बालकले आफ्नो स्वेच्छाले उक्त केन्द्रबाट बिदा लियो र काठमाडौंको कुनै एक ठाउँमा डेरा लिएर बस्न थाल्यो।
डेरामा बस्दा बालकले अनगिन्ती समस्यासँग जुध्नुपर्यो। तर अब ऊ पहिलाजस्तै साना साना कुरामा अल्झिने स्वभावको थिएन। कसैले भनेका नराम्रा कुराहरूलाई उसले एक कानले सुनेर अर्को कानले उडाउने गर्दथ्यो। सदा दुःखको सन्सर्गमा हुर्केकोले ऊ दुःख सहजै पचाउन सक्थ्यो।
डेरा लिएर बस्ने क्रममा उसले आफ्नो परिवारसँग आर्थिक सहयोग प्रदान गर्न आग्रह गर्यो तर परिवारले कुनै मतलब गरेन। जब कि उसका दाइ र बहिनीले परिवारबाट प्रशस्तै सुविधा पाइरहेका थिए। सहरमा बसेर पढ्न परिवारले उसका दाइ र बहिनीलाई सहयोग गरिरहेको थियो। तर दृष्टिविहीनताकै कारण उसले परिवारको असहयोग पाउनुपर्यो। सहरमा अनेकौं दुःख गरेर ऊ निरन्तर अघि बढिरह्यो। समयको अन्तरालसँगै उसले विभिन्न निकायहरूबाट छात्रवृद्धि प्राप्त गर्यो। उत्कृष्ट नतिजाका साथ कक्षा एघार उत्तिर्ण गरेर कक्षा १२ मा भर्ना पनि भयो।
जीवन हरेक कुराको समिश्रण हो भन्ने कुरा उसले राम्रैसँग बुझेको छ। परिवारको साथ अझै मिलेको छैन। तर उसले आश भने पटक्कै गुमाएको छैन। उसलाई दु:ख पछि सुख अवश्य आउँछ भन्ने कुराले पुनरवलको ऊर्जा सम्प्रेशित गरिरहेको छ।
एउटा दृष्टिविहीन भएर अथाह कुराले थिचिँदा पनि उसले कुनै पीडाको प्रवाह गरेको छैन। आज ऊ खुसी साथ जीवन जिइरहेको छ। जीवनमा सरकारी जागिरे बन्ने उद्देश्य राखेर ऊ निरन्तर आफ्नो अध्ययनलाई अघि बढाइरहेको छ।
(सत्य घटनामा आधारित)