'अनि ब्रेकअप कसरी भयो त?'
'जात मिलेन, परिवारलाई दुखी बनाउन चाहिनँ अनि सहमतिमै च्याप्टर क्लोज!'
'तिमी सम्बन्धमा रहँदा त्यस्तो केही त भएन नि?'
'ह्वाट?'
मेरो आवाज अलि चर्को नै भयो कि नजिकै चारो टिप्दै गरेको चरो भुर्रर उड्यो। सायद हामीले खाँदै गर्दा झरेको चना थियो। हामी पार्कमा बसेर खाजा खाँदै, गफिँदै गरेको आधा घन्टा बढी भैसकेको थियो।
बीस वर्षको उमेरदेखि विवाहको प्रस्तावहरूलाई झेल्न थालेको पनि दस वर्ष भैसकेछ। अब यो टेन्सनलाई क्लोज गरिदिने उद्देश्यले परिवारको अनुरोध स्वीकार गर्दै म राजलाई भेट्न गएको थिएँ।
राजले मलाई रेष्टुरेन्टमै भेटौँ भनेको थियो तर मेरो पार्कमै भेट्ने करलाई नकार्न उसले सकेन।
रेष्टुरेन्टमा विवाह गर्ने उमेर पुगेका केटाकेटी कुरा गर्दैछन् भने सर्भ गर्ने निउँमा कुरा सुन्न खोज्ने वेटर अनि नजिकै टेबुलमा खाँदै गरेका मान्छे पनि आँखा खाना तिर, कान अर्कोतिर गरेको अनुभव मैले धेरैपटक गरेको थिएँ।
म आफ्नो करियर बनाउन व्यस्त भएको त्यो बेला मलाई बिहे गर्नु नै थिएन तर भेट्दैमा के बिग्रिन्छ र भन्ने मेरो परिवारको कुरालाई काट्न नसकेर उहाँहरूको मन राखिदिन उहाँहरुकै अनुरोधमा भेट्न गइदिन्थें। रेष्टुरेन्टमा न मलाई खानु थियो न बोल्नु, चुपचाप एउटा कानले सुन्यो, दुबै कानले उडाइदियो।अन्तिममा सरी भन्यो उठ्यो।
तर यसपालि त्यही दिन दोहोर्याउनु थिएन। अझै केटा छानी बस्न नेपाली समाजअनुसार मेरो उमेर घर्कंदै थियो। यसपालि 'डन' गर्छु भनेर मनमनै 'डन' गरिसकेको थिएँ उसलाई नभेट्दै।
'सीमा तिमी के सोचेकी?,' राजको आवाजले म झस्किएँ।
'मलाई त सुरूमै सोध्नुभयो, के यो बत्तिस तेत्तिस वर्षको उमेरसम्म हजुरको जीवनमा कोही आएन र?'
'सुन सीमा, म तिमीसँग सबै कुरा नढाँटी सेयर गर्नु चाहन्छु। म सोह्र सत्र वर्षदेखि आजको उमेरसम्म आउँदा मेरा सात आठ वटा गर्लफ्रेन्ड परिवर्तन भए। तिनीहरू सबैसँग नजिक भइयो। बिहे अगाडि आफ्नो चरित्र जोगाउन नसक्ने ती केटीहरूसँग विस्तारै म टाढिएँ। आजकल एकल छु', ऊ मुस्कुरायो।
मलाई झनक्क रिस उठ्यो तर उसले इमानदारितापूर्वक सबै कुरा भन्नुलाई नै उसको प्लस पोइन्टको रूपमा लिँदै रिसलाई शान्त गराएँ। आखिर शान्त हुनको विकल्प पनि थिएन। यसपालि हजुरहरूले भनेको मान्छेलाई 'नो भन्दिनँ' भनेर परिवारसँग वचनबद्ध थिएँ।
'राज! भैगो छोड्दिनुस् विगतका कुरा विगत जेजस्तो भए पनि हामीले अगाडि जीवन सुमधुर बनाउन विवाह गर्ने हो,' राजको कुरा नसकिँदै मैले ग्रीन सिग्नल दिएँ। किनकी मेरो परिवार उसको परिवारसँग नाता जोड्न पाउँदा खुसी थियो।
'सीमा जिन्दगी त कस्तो रहस्यमयी पो हुँदो रैछ है, यो जमानामा पनि एरेन्ज म्यारिज गर्छु भनेर त सपनामा पनि सोचेको थिइनँ। जन्म, मृत्यु र विवाह स्वर्गमै तय भएको हुन्छ भन्छन्। साँच्चै हो रैछ', राजले मतिर हेर्दै भने।
हाम्रा अभिभावकले भनेको मितिमै विवाह गर्ने सहमति गरेर पार्कबाट छुट्टियौँ।
म घर पुग्न पाएको छैन हाम्रो विवाहको मिति तय गर्न राजको परिवार पन्डितलाई लिएर हाम्रो घर पुगिसक्नु भएको रैछ।
'ओहो!' मेरो मुखबाट अचम्मको भाव प्रकट निस्किनु स्वाभाविकै थियो।
'हामी खुसीको खबरको पर्खाइमा थियौं। राजले फोन गर्ने बित्तिकै हामी कुदिहाल्यौँ।' राजको आमाले मतिर हेर्दै भन्नुभयो।
राजको बुवाआमा मेरो बुवाआमा र पात्रो पल्टाउँदै मिति तय गर्न थाल्नुभयो। म आफ्नो कोठामा ल्यापटपमा काममा बसेँ। मानौं उहाँहरू कुनै ठूलै खोज गरिरहनु भएको छ।
'सीमा! तेरो विवाह मंसिर ८ गते तय गरियो,' आमा बैठक कोठाबाटै कराउनु भयो।
'हुँदैन। विवाह १७/१८ गते मात्र तय गर्नुपर्छ,' टाइप गर्दै गरेको टेक्स्ट पनि सेभ नगरी बैठक कोठातिर दौडिएँ।
'किन र के हुन्छ ८ गते? किन १८ गते नै?', राजको बुवाले आश्चर्य भावले मतिर हेर्दै भन्नुभयो।
'अममम १६ गते मेरो मिल्ने साथी अमेरिकाबाट आउँछ। उसको टिकट सार्न मिल्दैन र मेरो विवाहमा म उसलाई छुटाउन पनि चाहन्नँ,' एकछिन अक्मकिएर सोचेपछि बल्ल मैले उहाँको उत्तर दिएँ।
'आजकाल केटाकेटी साथी भनेपछि हुरूक्क। गुरू जी १८ गते साइत छ कि हेरिदिनुस् त?', बुवाले मेरो इच्छालाई समर्थन गर्नुभयो।
'हुन्न, १८ गते त सीमाको महिनावारीको पालो छ। फेरि उसको जहिले ठीक समयमा महिनावारी हुन्छ', आमाले अलि ठूलै स्वर गरेर भन्नुभयो।
'ठीकै छ नि त महिनावारी त औषधी खाएर पनि पर सार्न सकिन्छ। आफ्नो मिल्ने साथीलाई आफ्नो बिहेमा सहभागी गराउने सीमाको इच्छा किन मार्नु', बुवाले यो वाक्य बोलिरहँदा म जति खुसी सायदै कोही भए होला। मेरो मनकै कुरा बोलिदिनुभयो। सायद बल्ल बल्ल बिहे गर्न मानेकी छोरी भएर होला उहाँले मेरो कुरा मानिदिनुभएको।
'१८ गते साइत थियो कि थिएन तर गुरूजीले पनि १८ गते पनि ठीकै छ', भन्नुभयो। सायद मेरो जिद्दीपनको अनुमान उहाँले पनि गर्नुभयो।
राजको बुवाआमा पनि खुसी हुँदै १८ गते जन्ती लिएर आउने भन्दै बाटो लाग्नुभयो।
हाम्रो घरमा बिहेको धुमधाम तयारी सुरू भयो।
मंसिर १५ गते साँझ खाना खाइवरी ल्यापटप बसेर काम गर्दै थिएँ, आमा मेरो कोठामा आउनुभयो।
'सीमा तेरो बेष्ट फ्रेन्ड आयो त विदेशबाट?'
'अहँ! आएन आमा, उसको अफिसले बिदा दिएन रे टिकट नै क्यान्सिल गरिसक्यो।'
'बेकार मैले भनेको नमानेर महिनावारी पर सार्ने औषधी खानुपर्ने भयो। भोलिदेखि विवाहको दिनसम्म लगातार यो औषधि खानु,' आमाले मेरो कोठामा औषधी राखेर जानुभयो।
मैले राति नै कागजमा पोको पारेर औषधी डस्टबिनमा फालेर सुतेँ।
१७ गते साँझ नै म कन्सिएस हुनुपर्ने अवस्था आयो। १८ गते बिहेको दिनभर अरूको ध्यान मतिरै थियो। म पनि झनै ध्यानपूर्वक गतिविधि गरिरहेको थिएँ। मलाई मतलब थिएन ऐनाको म दुलही हुँदा कस्ती देखिएँ भनेर हेर्न।
बिहेको दिन साँझ राजको घरमा दुलही भित्राउने रिति सकिएपछि मलाई आराम गर्दै गर्नुस् भनेर दुई जना नानीहरू एट्याच बाथरूम भएको सजाइएको कोठामा छोडेर गए। राज कोठामा आउनुपूर्व नै मैले आफ्नो शारीरिक सरसफाइ राम्रोसँग गरिसकेको थिएँ।
बिहान विछ्यौनाको अवस्था नियाल्दै राजले भने- तिमीजस्तो चरित्रवान जीवन साथी पाएर म असाध्यै खुसी छु।
पुरूष चरित्रवान हुनु पर्दैन? के चरित्र महिलाले मात्र जोगाउन पर्ने हो? चरित्रहीन पुरूषले चरित्रवान महिलाको चाहना गर्न मिल्दैन। हरेक क्षेत्रमा आफू असल भएपछि मात्र असल समाजको परिकल्पना गर्नुपर्छ।
'कता हराएकी सीमा?', राजको आवाजले झस्किएँ।
'किन टेन्सन मानेकी म छु नि। आजदेखि हाम्रो जिन्दगीको नयाँ अध्याय सुरू भयो,' राजले मलाई मायाले अंगालोमा बेरे।
हाम्रो अगाडिको जिन्दगी खुसीपूर्वक बित्ने कुरामा म ढुक्क भएँ। मेरो चरित्र, माइतको इज्जत सबै जोगियो!