‘कि बाहिर जाने कि लोक सेवा पढ्ने यो भन्दा अर्को केही विकल्प छैन तेरो’, आमा भन्दै हुनुहुन्थ्यो।
बाहिर जान अर्को सिंगो संसार बुझ्नुपर्छ अनि लोक सेवा पढ्न कोठा नै भरिने किताब पढ्नु पर्छ।
केही त गर्नु थियो दुइटामध्ये। यही कुराबारे यति धेरै सोचें कि त्यति धेरै त मैले दश कक्षामा ट्रिगोनोमेट्रीको हिसाब गर्दा नि सोचेको थिइनँ होला। त्यो हिसाब त नआएनी छोड्न मिल्थ्यो यो त जिन्दगीको हिसाब हो कसरी छोड्न सक्नु!
र अन्त्यमा आएर आफ्नै मातृभूमिमा केही गर्छु भन्ने लाग्यो र लोक सेवा पढ्ने विचार गरें।
कर्मचारी सञ्चय कोषले नि धेरै कर्मचारी मागेको रहेछ भन्ने जानकारी पाउन साथ इन्स्टिच्युटको खोजी गर्न लागें। तर म थोरै पढ्ने बित्तिकै नाम निकाल्ने इन्स्टिच्युटको खोजीमा थिएँ।
त्यो कुरा कल्पनापुरमा मात्र सम्भव थियो, विपनापुरमा धेरैबेर भौंतारिएपछि नयाँ बानेश्वरमा रहेको इन्स्टिच्युटमा छिरें।
पहिलो तल्ला रिसेप्सन रैछ। भित्र छिर्नेबित्तिकै भर्खरकी केटी फूलको माला लगाई मतिर हेरेर हाँसिरहेकी थिई। मेरो हाँसो पनि के कम थ्यो र, म नि हाँसिदिएँ।
किन हाँसेको भन्नेर सोध्नुहुन्छ होला है? यदि मेरो नाम निक्लियो भने त्यो पोस्टरमा रहेकी केटीको जस्तै फोटो राख्न आओस् भनेर। ओहो! सोच्दै कति रमाइलो, त्यही आशा बोकेर म भोलिबाट नै क्लास जाने निधो गरें।
आज क्लास जाने दिन।
नयाँ इन्स्टिच्युट, नयाँ मान्छे, नयाँ ठाँउ, नयाँ कुरा सिक्न होस्, पहिलो दिन त सबै जना एक्साइटेड हुन्छन् तर म यो कुरामा अलि कति पनि एक्साइटेड थिइनँ।
५:३० बाट क्लास थियो ४:३० देखि नै शरीरमा एकपछि अर्को गरी ढुङ्गा थपिँदै थियो। कसैले खुट्टामा सिक्रीले फुत्किनै नपाउने गरी कसेजस्तै लाग्यो। प्रेसर लो भएर यही बेहोस पो हुन्छु कि जस्तो लाग्यो।
आमाले ‘तेरो जाने बेला भा’छैन अझै’ भनेर कराउने सुन्ने बित्तिकै तर्सेछु र हतार हतार लुगा लगाई तयार भएँ।
विस्तारै आफूले आफैंलाई हौसला दिँदै म गौशाला पुगें र नयाँ बानेश्वरको ट्याम्पु चढें। ५ बजे नै म क्लासमा पुगें, मभन्दा अगाडि नै दुई जना हुनुहुँदो रैछ।
केही नबोली बसें, क्लास भरिँदै थियो। मजस्तै नाम निकाल्नेको अनुहार हेरें, नियालेर हेरिरहें। ५:३० बाट व्यवस्थापन पढाउन एक जना सर आउनु भयो।
कालो चस्मा, कालो कोट, हातमा ब्याग, हँसिलो अनुहार र साह्रै नै मिठो थियो उहाँको हाँसो। पढाउने शैली नि छुट्टै थियो, कति खेर २ घन्टा बितेछ पत्तै भएन।
घर जाने बेला उहाँले आफ्नो नाम भन्नुभयो, कापीको पछाडिको पानामा सरको नाम लेखें।
कति खेर घर पुगौं र सरलाई फेसबुकमा हेरौं भैसकेको थियो। घरको वाइफाइ गेटसम्म चल्थ्यो, गेटमै बसी, फेसबुक खोलें र सरको प्रोफाइल हेरिहालें।
प्रोफाइलमा मैले क्लासमा देख्याभन्दा राम्रो फोटो थियो तर सरको मात्र फोटो थिएन त्यहाँ। न्यानो अंगालोमा बेरिनु भएको म्यामको फोटो नि थियो अनि सँगै थियो सानो छोरो। मन अमिलो भएर आयो, हेर लोक सेवा पढ्न आउनै ढिलो गरेछु जस्तो लाग्यो!
एक महिना निरन्तर क्लास नि लिएँ, क्लास लिएको ५ महिनापछि चैत १८ गते सञ्चय कोषको रुटिन निक्लियो। अगाडि पढ्ने चलन कमैले पालना गर्छन्, रुटिन निक्लेको रातबाटै पढ्न सुरू गरें।
१८ गते सानेपाको कुलेश्वर मा.विमा जाँच दिन गएँ। २ बजेदेखि जाँच सुरू हुन्थ्यो, म १:३० मै क्लासमा पुगें।
इन्भिजिलेटरले ठूलो अक्षरले लोक सेवा लेखेको कापी दिनुभयो। पहिलोचोटि देखेको थिएँ लोक सेवाको कापी, नाम निक्लियोस् है भन्दै कापीलाई कसैले नदेख्ने गरी तीनचोटि ढाेगें।
मलाई अचम्मको कुरा त के लाग्यो भने कापीले किल्प लगाकी थिइन्।
आफ्नो नाम, थर, मास्टर आइडी, ठेगाना, भरें र नआएको अगाडि हुनुभएको दिदीलाई सोधें र सबै भरें।
अब भित्रका पानाहरू भर्न पर्ने थियो, न कसैलाई सोधी भर्न नै मिल्थ्यो।
३ घन्टा बिताउनु थियो, आजमात्र हो र भोलि नि बिताउनु थियो, झन् पीर परेर आयो। त्यही पीर भुलाउन डेस्कमा अनेक कोरेर बसेकी थिएँ, घण्टी ट्रिङङङ बज्यो। प्रश्न पत्र सबैको डेस्कमा आयो सबैले प्रश्नपत्र हेरे। मैले नि आँखै नझिम्काइ हेरें, पत्रलाई खण्ड (क) को १ कै आएन अरू प्रश्न हेरें र लेख्न सक्छु जस्तो लाग्यो र लेख्न थालें।
२ घन्टामा आफूलाई आउने सबै लेखें अब १ घन्टा बाँकी नै थियो, चारैतिर हेरें सबै हस्याङ्गफस्याङ्ग गर्दै लेखिरहेका थिए। आफूलाई आउने केही थिएन, झ्याल बाहिर हेरें पानी परिरहेको थियो, ठाउँ पनि एकदमै राम्रो थियो, खोलामा पानी आफ्नै गतिमा बगिरहेको थियो, हरियाली ठाउँमा साना बच्चाहरू रूमाल लुकाइखेलिरहेका थिए, एकछिन त म एक्जाम हलमा छु भन्ने नै बिर्सेछु।
फेरि कापीलाई हेरें, र अगाडि मजाले मुख मिठाइ मिठाइ अन्डा र चना खाइरहनु भएको सरलाई हेरें। पेट घुर्र गरेर करायो, मलाई नै हेरिरहेको प्रश्न पत्र हेरें, र फेरि लेख्न सुरू गरे।
५ बजेको घण्टी बज्यो लामो समयसम्म बजिरह्यो। ब्यागमा पेन, स्केल, र प्रश्न पत्र हालें र घरतिर लागें।
आज दोस्रो पेपरको एक्जाम थियो, हिजोको भन्दा आज झनै गाह्रो थियो।
आज घरबाट १२:३० मा निक्लें र कालिमाटी जाने गाडी चढें । गाडीमा अलिकति पढ्यो भनेनि एक्जाममा पास भैइन्छ भन्ने सोचेर किताब निकाल्न ब्याग खोलें, प्रवेश पत्र हेरें, सबैतिर हेरें। लाऽऽऽ ।
हिजोको प्रश्नपत्र निकालेर खाटमा राखेकी थिएँ, त्यतिखेर प्रवेश पत्र नि खाटमै छोडेछु। हतार हतार गाडीबाट ओर्लिएँ र कुद्दै घर पुगेर प्रवेश पत्र ब्यागमा हालें। १ बजिसकेको थियो, २ बजे त हो, पुग्छु जस्तो लाग्यो र फेरि गाडी चढें।
२ बजे क्लासमा पुगें, आज सिट नि चेन्ज भाको रहेछ।
आफ्नो सिट खोजें, लोक सेवा लेखिएको कापी मलाई अघिदेखि कुरेर बसेको रहेछ, हतार हतार सबै आफैं भरें। कसैलाई नसोधी भर्न सक्ने भएछु खुसी लाग्यो। प्रश्न पत्र हेरें, आज त १ घन्टा बिताउन नि एकदम गाह्रो पर्ला जस्तो भयो।
एउटा मान्छे हस्याङ्गफस्याङ्ग गर्दै क्लासमा छिर्यो, सोचें कि उसले पनि म जस्तै प्रवेश पत्र घरमा भुल्या हुन पर्छ।
मेरो नजिकै आयो र भन्यो- एक्सक्युज मि! एन्ड आइ सेड यस प्लिज! यति त मैले बच्चामै सिकेको अङ्ग्रेजी थियो।
मेरै बेन्चमा पो परेको रहेछ, अब उसलाई देखेसी ३ घन्टा कट्छ जस्तो लागेर आयो।
एकछिन उसलाई हेरिरहें। गहुँ गोरो मान्छे, गोलो अनुहार, सेतो फ्रेमको पावर वाला चस्मा भित्र लामा परेली र निधारको बीच्चमा टीका लगाएको, सुहाउने दारी पालेको मान्छे मेरै साइडमा भन्नाले मेरै बेन्चमा थियो।
मैले नि, उसले जस्तै टीका लगाएर गएकी थिएँ,जाँच राम्रो हुन्छ भन्ने आशाले।
मनमनै ‘सेम पिन्च’ भनें र लेख्न थालें।
ऊ पनि हतार हतार गर्दै लेख्दै थियो, मलाई नि केही नआएनी अलि अलि लेख्दै थिएँ।
नआएको बेला बाहिर हेर्ने बहाना गरेर आफ्नै साइडमा चस्मा मिलाउँदै लेख्दै गरेको उसलाई हेर्थें। मैले उसलाई धेरै हेरेर हो कि, इन्भिजिलेटरले नि मलाई खाउलाजस्तै गरी हेरिरहेको थियो। फेरि आफ्नो कापी हेर्थें र लेख्न खोज्थें।
आज बाहिरको हरियालीभन्दा क्लासकै वातावरण मन पर्न थालेको थियो।
५ बज्यो घन्टी पनि बज्यो टिङ्गङ्गङ्ग। आज हिजो कोभन्दा ठूलो पानी परेको थियो, आफ्ना सबै सामान हालें र भर्याङ ओर्लिंदै थिएँ।
पानी धेरै परेका कारण एकछिन ओत लागिबसें। पछाडिबाट आवाज गुन्जियो, हजुरको कस्तो भयो जाँच?
पछाडि फर्कें उही अनुहार थियो, लर्बराउँदै भनें, ह्ह्हजुर ठीकै भयो, मेरो त।
एकछिन सन्नाटा छायो, मुटु जोडले धड्कियो। मुख सुकेर आयो, अनुहार रातो पिरो भयो, सपना हो कि विपना जस्तो लाग्यो। फेरि उतैबाट प्रश्न आयो।
‘अनि मलाई चाहिँ सोध्नुहुन्न?’
‘हैन हैन सोध्छु नि हजुर को कस्तो भयो? लेख्या लेखै हुनुन्थ्यो राम्रो भयो होला है।’
‘लेख्दैमा राम्रो हुँदैन। उनीहरूले चाहेको, खोजेको लेख्नुपर्छ अनि नाम निक्लिने सम्भावना छ, यो मेरो तेस्रो प्रयास हो।’
‘ए होर, मेरो चाहिँ पहिलो चोटि हो, चिन्ता नगर्नु यो पाली हजुरको पक्का निक्लिन्छ, मैले भनेसी ढुक्क हुनुहोस्’ भनिदिएँ।
‘त्यस्को लागि धन्यवाद, तिम्रो मुखमा दूध र भात’
‘अनि हजुरको बसाइ चाहिँ कहाँ?’
मैले भनें, ‘ गौशाला’।
एकछिन समय नलगाई मैले नि सोधिहालें- हजुर नि?
उताबाट आयो- म चाहिँ अहिले चाबहिल बस्छु।
मैले भनें, ‘उसो भए बसमा साथी हुने भइयो जस्तो छ।’
‘बसमा त साथी हैन बरू फेसबुकमा चाहिँ साथी हुनुपर्ला..जस्तो छ। के हो हजुरको नाम?’
म नि मुसुक्क हाँसें, ‘भैहाल्छ नि मेरो नाम चाहिँ जून कुँवर।’
‘हजुरको के पर्यो कुन्नि?’
‘मेरो समीर दाहाल हो।’
उस्ले मोबाइल डाटा अन गर्यो र मलाई रिक्वेस्ट पठायो।
‘म चाहिँ घरमा गएर एसेप्ट गर्छु नि हुन्छ’ भनें।
‘गर्न चाहिँ गर्नुस्, जहिले गरे नि हुन्छ।’
छुट्टीन मन त थिएन। आफैं भनें, ‘पानी पनि अलि रह्यो अब म जान्छु है, नयाँ मान्छे।’
‘लोक सेवामा नाम निकालेसी मलाई नि गाइड गरिदिनु होला है’ भनें।
‘भैहाल्छ नि। एउटा कुरा सोधम्, यदि हजुरलाई अप्ठ्यारो लाग्दैन भने म पनि उतै जाने हो क्यारे।’
‘हैन, हैन म गाडी मै जान्छु, सोध्नु भएकोमा धन्यवाद। अर्को पालि नाम निकाल्नुस् अनि सेतो प्लेटको गाडीमा चढाैंला नि है’ भनी हाँसें।
‘हाहाहा हस्, राम्रोसँग जानू, हाँस्न नभुल्नू है त।’
मनमा धेरै र ओठमा थोरै मुस्कान बोकेर कुलेश्वर चोकमा पुगें र आफ्नो गाडी कुरें। बल्ल तल्ल चाबहिल गौशाला, रत्नपार्क भन्दै एउटा गाडी आयो।
चाबहिल नाम सुन्ने बित्तिकै उसलाई सम्झिएँ र म उभिएरै घर पुगें, घर पुग्दा ७ बजेको थियो।
एक्जाम हलमा भेटेको मान्छेको झलझली याद आयो, मान्छे मात्र याद आएन, आयो उसको सुरिलो आवाज, आयो उसको हाँसो, हरेक संवाद, हस्याङ्फस्याङ गर्दै आएको त्यो अनुहार, सबै आए एकैचोटि।
सबै कुराहरू दिमागमा अटाे प्ले भैराखेको थियो, घर पुग्दा ७ बजिसकेको थियो।
गेटबाट छिर्ने बित्तिकै वाइ-फाइ अन गरें, पैसा सिध्दिएको कारणले होला नेट चलेन। आफ्नो नेट भाको भए, पैसा तिरिहाल्थें, छिमेकीको, नेट थियो पैसा तिरिदेऊ न भन्न नि कुरै मिलेन। मनमा दिउँसैको कुरा याद आइराथ्यो, चन्चल मनलाई स्थिर राख्न, डायरी खोलें र लोक सेवाको जाँच दिन गाकोदेखि आज नयाँ मान्छेलाई भेटेको बारेमा लेखें।
धेरै नै थाकेको थिएँ, त्यैमाथि नेट पनि थिएन। फेरि एक चोटि उसलाई सम्झिएँ र सुतिहालें।
बिहान उठ्ने बित्तिकै वाइफाइ अन गरें, धन्न नेट चल्ने भएछ। हतार हतार फेसबुक खोली हालें।
अनौठो लागिरहेको थियो, एकैछिन मात्र त भेटेर कुराकानी भएको थियो। किन कोही मान्छे यति प्यारा हुन्छन् होला। के भाको होला मलाई, आफैंले आफ्नै हालको बारेमा अन्जान थिएँ म।
फेसबुक अन भयो, मेसेज, स्टोरी नहेरी फ्रेन्ड रिक्वेस्टमा गएँ।
एक देखाको थियो, त्यो तिमी नै थियौ । मन ढुकढुक गरिरहेको थियो, एसेप्ट गरें रिक्वेस्ट।
उसको प्रोफाइलमा गएँ, दौरा सुरूवाल र कालो कोट लगाको फोटो देखें, लभ रियाक्ट गरिदिएँ।
अनि उसको पोस्ट हेर्न मनलाग्यो, ८ घन्टा आगाडि मात्र एउटा पोस्ट अपलोड गरेको देखें, समीप अधिकारीले उसलाई ट्याग गरेर फोटाे हालेको रहेछ।
बिपनीमा हैन तिमीलाई सपनीमा पक्कै देखौंला
एकदिन त आउछौ हामी त्यो देशमा फेरि भेटौंला।
बैकुण्ठमा बास होस् मेरो प्यारो साथी।