कविता
आज म शिक्षित, सक्षम, स्वतन्त्र जे छु,
त्यसको विजारोपण गर्ने पात्र मेरो बाबा।
सुखमा नमात्तिनु र दु:खमा नआत्तिनु भन्ने,
अमूल्य ज्ञान सिकाउने गुरू मेरो बाबा।।
सम्मान गर्न कहिल्यै नचुक्नू, अपमानित हुँदा कतै नझुक्नू,
भनेर स्वाभिमानको बाटो हिँड्न लगाउने मेरो बाबा।
चिल्लो घसेर कसैको झुटो तारिफ गर्नुभन्दा,
सहीलाई सही र गलतलाई गलत भन्न निर्भीक बनाउने मेरो बाबा।।
मेरो बाबा देख्नेलाई नगन्य लाग्न सक्नुहुन्छ,
किनकि उहाँले मनग्य धन र वाहवाही कमाउनुभएको छैन।
उहाँ त सादा जीवन जिउँदै आफ्नै हिसाबले चल्नुहुन्छ,
कसैलाई खसालेर रमाउन पनि त जान्नुभएको छैन।।
एक असल अभिभावक बनि उहाँले सधैं,
सही मार्गमा डोर्याएर अगाडि बढ्न सिकाउनुभो।
सन्तानमाथि हैकम हैन मेरो बाबाले त,
हामीलाई आफ्नै मर्जिको मालिक बनाउनुभो।।
लोभ-लालच र छल गरी जिन्दगीभरी,
कसले कति गर्यो भनी तौलिनेहरूलाई।
बोलीले हैन कर्मले जवाफ देऊ भन्नुहुन्छ मेरो बाबा,
थोरै प्रगति गर्दैमा आफैंमा खौलिनेहरूलाई।।
हो यस्तो बाबाको छोरी भएर होला,
मैले छोरी हुनुमा कहिल्यै कमजोर मानसिकता बोकिनँ।
ठेस लागे पनि विस्तारै गन्तव्यतर्फ हिँडिरहें,
तर मेरा कर्मका पाइलाहरू कहिले पनि रोकिनँ।।
आमाको ममता अनि संस्कारमा थपिन,
मेरो बाबाको हौसला र हिम्मत आएर।
अति नै हलुंगो बनेको छ जीवनको भारी,
अभिभावकको रूपमा मैले समझदार पिता पाएर।।
गुनासो कतै छैन मलाई अब,
सानोमा नपाएका ती खेलौनाप्रति।
गौरव लाग्छ आज मलाई बाँचुन्जेल काम लाग्ने,
उहाँबाट पाएका अनन्य जीवन ज्ञानप्रति।।
सम्पन्नतामा छोराछोरीलाई सबथोक पुर्याउनेलाई,
सायद थाहा नहोला आत्मनिर्भर सन्तान हुनुको आनन्द।
भौतिक सुविधा भन्दा हाम्रो व्यक्तित्व विकासमा,
अग्रसर हुने बाबाहरू नै लाग्छ सर्वश्रेष्ठ हुनुहुन्छ सबैभन्दा।।
हरेक बाबाहरू स्वस्थ र सकुशल रही सन्तानको,
हौसला अनि हिम्मत बन्नुहोस् भन्ने मेरो चाहना।
सम्पूर्ण भगवानरूपी बाबाहरूलाई नमन गर्दै,
टक्र्याउन चाहन्छु कुशेऔंशीको शुभकामना।।