कविता
टेक्ने सानो ठाउँ देऊ मलाई,
हिँड्ने बाटो म आफैं कोर्छु
परिधि, घेरा
आफैं बनाउँछु
म आफैं तोड्छु
आफ्नो लक्ष्य आफैं तय गर्छु
एक दिन सपनाका उडान
त्यो पनि म आफैं भर्छु
थाक्छु, अल्झिन्छु, लड्छु,
अनि आफैं उठ्छु
अरूको गल्तीबाट
किन सिक्नु मैले?
कोसिस गर्छु अनि
आफ्ना हर गल्तीबाट
आफैं पाठ सिक्छु
गन्तव्यका तगारो
काँडा पन्छाएर
एक एक पाइला
म एक्लै अघि सर्छु
आफैंले कोरेको
नयाँ बाटोमा
बालकजस्तै गरी
विस्तारै विस्तारै
लड्दै, सम्हालिँदै हिँड्छु
एक दिन दौडिएर
सायद आकाश पनि छुन्छु
पलाउनै लागेको पखेँटा नकाटे,
सपनाका उडान
त्यो पनि म आफैं भर्छु
अप्ठ्यारामा आफू हुनुको आभाष देऊ
हार्दा मैले आफैंसँग
साथ छु, तिम्रो विश्वास देऊ
हरेक हिमाल
त्यो पनि म एक्लै चढ्छु
हरेक जंघार
त्यसलाई म आफैं छिचोल्छु
तिमी बस
मेरो मियो बनिदेऊ
उद्रिएको साहस टाल्ने
सियो बनिदेऊ
स्वयमभित्र साहस
म आफैं छर्छु
आँट अनि हौसला दिनु पर्दैन
बस आफू हुनुको आभाष दिइरहनु
थाक्छु, अल्झिन्छु, लड्छु,
अनि आफैं उठ्छु
कठिन यात्रा
म आफैं तय गर्छु
सपनाका उडान
म आफैं भर्छु।