'अब मलाई अनुकम्पाको कुनै चाह रहेन। तिम्रा स्नेहले मलाई गालेका रैछन्। यो वियोगलाई स्वीकारेर मलाई प्रायश्चितबाट तिमीले मुक्ति दिनुपर्छ।'
कस्तो कठोर, कस्तो निर्मम हुन सकेकी। कति सजिलै मबाट प्रवाहित स्नेहलाई यतिसम्मको लाञ्छना लाउन सकेकी। मलाई यादहरूको बन्दी बनाएर आफू मुक्ति माग्दैछे। कस्तो स्वार्थपूर्ण अनुरोध यो उसको?
मैले मात्र प्रेम गरेँ र यो सम्बन्धमा? यो प्रेम त युगल थियो। मैले उसँग प्रेम सल्लाहले गरेको पनि त हैन। न त मैले मस्तिष्कको चेतन खण्डसँग अन्तर्क्रिया गरेर नै उसँगको प्रेमको निर्णय लिएको हुँ। प्रेम त अवचेतन मनले स्वत:स्फुर्त रूपमा पैदा गरेका भावनाहरूको संगम हो। किन बिर्सेकी उसले यो सब?
बिर्सन त मैले पनि हरबखत हरसम्भव प्रयत्न गरेकै हो। तर छायालाई मेट्न म कहाँ सकूँ र? बिर्सेर जा भन्नेले यादको भकारी पनि त बोकेर लानुपर्यो। मलाई यत्तिकै यादको भारी छाडेर अब बिर्सी भन्छे। कसरी सम्भव छ यो? उसले या त यी यादलाई जलाउन चिताको स्थापना गरोस या त यादको भारी बिसाउने चौतारीको । यी अभिलाषाबाहेक अन्य चाहनाले यो सुनशान हृदयमा वास गर्दैनन अचेल।
'यो बिछोड आवश्यक छ। बिछोडले व्यक्तिलाई बल दिन्छ। तिम्रो साहसको छहारीमा सुस्केरा हाल्दै गर्द म आफैँ दुर्बल भएको पत्तो पाइनछु मैले। म अब एक्लै लड्न चाहन्छु यो चैतको घामसँग, एक्लै सिं खेल्न चाहन्छु यी साउने झरीसँग। यसमा मलाई साथ दिनुपर्छ तिमीले - मभन्दा पर रहेर।'
वाफ रे ! कत्रो मर्मच्छेदी शब्दवाण हानेकी। कलेजीका कलिला टुक्रालाई चिमोटी चिमोटी लुछेर जाने कुरा कसरी गर्न सकेकी बैगुनीले?
निरन्तर विरोधाभास मात्र किन ओकल्न खोजेकी? हात भाँचिदिन्छे, फेरि थपडी बजाइदे भन्छे। पुल भत्काइदिन्छे, खोला तारिदे भन्छे। कसरी सम्भव छ यो? छिनालिएका औंलाले चुट्की बजाउन सक्छन् र?
', म तिम्रो नाम उच्चारण गर्नेसम्म पनि साहस बटुल्न सक्दिनँ। तिम्रो कल्पना मात्रले पनि मलाई भयभीत तुल्याउँछ। हृदयमा पराकम्प आएसरी हुन्छ। यस्तोमा कसरी बुनूँ म तिमीसँग समागमको सपना? भूकम्पले भत्काएको मेरो हृदयमा कसरी स्थापना गरौं तिम्रा लागि आवास?'
हिजो प्रेमको उन्मादमा हामी दुवैको हृदय चाञ्चल्यले स्पन्दित हुन्थे। कस्तो अफसोस! आज त्यही स्पन्दनलाई भूकम्पको अनुकृति बनाइदिई। मलाई पन्छाएर ऊभित्रको भय समाप्त हुने भ्रमले ग्रसित ऊ पलायनवादको कडी समातेर आफ्नै मनलाई छल्न खोजिरहेकी छे। तर कसले भनिदिने उसलाई? कसको सुन्छे र ऊ?
कस्तो क्षणभंगुर हुँदा रैछन् भावनाका उडानहरू। एकै शब्दमा, एकै झट्कामा उत्कर्षबाट खसालेर भुइँमा पछारिदिने। उसले यस्तै गरिदिई।
भर्खर बामे सर्दै हिँड्न सिक्दै थियो मेरो प्रेम। ताते ताते गर्दै डोर्याउँदै यतिसम्म हुर्काइ बढाइ गर्ने उही त थिई। पहिलो पाइला चाल्दै थिएँ म, भुइँमा पछारिएँ। म लड्दा चोट उसलाई पुगेछ। मैले ढिलो बुझेँ। तर हिँडाइ सिक्न लड्नुपर्छ। लड्नुसँग साक्षात्कार गरेर मेलमिलाप नगरेसम्म हिँड्ने आँट भरिँदैन। उसैले भनेकी। आज म एकचोटि लड्दा तर्सिएर ऊ तर्किन खोज्दै छे। कति निर्मम हुन सकेकी?
भुइँमा मलाई अलपत्र छाडेर निर्भीकताको यात्रामा निस्किन्छु भन्छे। म रोएको हो। म कराएको हो। तर मेरो क्रन्दनप्रति करूणाभाव उजागर भएनन् उसमा। मेरो चित्कारको गुञ्जायससम्म पनि पुगेनन् ऊसम्म। आज यत्ति चिसो कसरी भई ऊ?
'तिम्लाई कस्तो छ?'
अरे वाह! कत्ति सजिलै मायालाई दयामा परिणत गरिदिई। भयो, चाहिएन मलाई यो दयाभाव!
'ठीक छ!'
छिया छिया मुटुबाट खसेको रगतले लतपतिएका यिनै हातले लेखिदिएँ। मैले उसको दयाको गाग्रोमा बिर्को लाउन गर्न सक्ने यति नै थियो। विकल्पमा प्रतिक्रिया नदिई मौन बस्न पनि सक्थेँ तर म ऊजत्तिको निर्मम हुन कहाँ सक्छु र?
कहिलेकाहीँ आफैंलाई देखेर दिक्क लाग्छ। आफ्नै अतितलाई सम्झेर पछुतो हुन्छ। किन मागेँ मैले मेरो प्रेमलाई बचाउने भिख? किन गरेँ मैले निर्दयीबाट करूणाको अपेक्षा? किन परेँ म हीनताबोधमा लपेटिएर निष्ठुरीको शरणमा? के भिखमा पाएको मायाले मलाई सन्तोक हुन्थ्यो ? के त्यो माया शाश्वत हुन्थ्यो ? सायदै हुन्थ्यो।
हैन फेरि सोच्छु, प्रेम गरेको हो नि यार। झिनो भए पनि यो हुर्केको प्रेमलाई जोगाउने अभिलाषा त जीवित नै रहन्छ नि।
वियोगका रेशाले बुनिएको विवशताको पर्दाले विवेकलाई ढपक्क ढाक्दो रहेछ। आफ्नो धर्म, आदर्श अनि सिद्धान्त सब लाचार हुँदा रैछन्। आडम्बर, घमन्ड, अहंकार सब नतमस्तक भएर आत्मसमर्पण गर्दा रहेछन्। जता डोर्याउनु त्यही अभिलाषाले डोर्याउँदो रहेछ। त्यति पनि भएन भने के सार्थकता रह्यो र मैले उस्लाई गरेको प्रेमको?
आजकल हेयकर लाग्छन् मलाई प्रेमका कथाहरू। तुच्छकर लाग्छन् प्रणयभावहरू। प्रेमालापको परिकल्पनामा डुबाएर आफूलाई रोमान्चित गराउने कुनै अभिष्ट जीवित छैनन्। आज पर्यावरण उजाड लाग्छ। अङ्गालिएका जोडी देख्दा वाकवाकी हुन्छ, घिन लागेर आउँछ। हिजो उनैसँग हात समाएर परिक्रमा गरेका उद्यान हिउँदमा उजाडिएका खोरियाझैं कुरूप लाग्छन्। वरिपरि कतै सौन्दर्यको एक अंश पनि देख्दिनँ। जे हेर्छु फिक्का मात्र। जता हेर्छु वैराग्यमात्र। छि!
अचेल म रुदिनँ । कति रुनु? आखिर आँसुले यादहरू बगाएर लान नसक्ने रहेछन्। एउटा बिन्दुमा पुगेपछि आँसुले पनि तिरस्कार गर्दो रहेछ। चित्कारको ध्वनी पनि आफैं पातलो भएर जाँदोरहेछ। समयको सुइँ निरन्तर चल्ने नै त रहेछ। म मात्र कति अड्किरहूँ?
तर यो अबोध मन प्रतीक्षामा लडिबुडी गरिराख्न खोज्छ। माकुराको जालो जतिकै कमजोर किन नहोस्, यो आशाको त्यस्तै त्यान्द्रोमा झुन्डिराख्न खोज्छ। जिद्दी ऊ मात्र छैन। उत्तिकै जिद्दी मेरो यो मन पनि छ। यी दुई जिद्दीहरू मौन युद्धमा लीन छन्। अनि म उभिएको छु त्यस कुरूक्षेत्रको केन्द्रमा। थकित, व्यथित अनि अन्योलपूर्ण मुद्रामा।