कविता
दुनियाँले अराजक भने भनून्
आफैंलाई अपराधी देखाउने
त्यो बैगुनी
त्यो दोषी चश्मा, फुटाउनुपर्छ केशवराज भन्थे बिपी।
सुम्निमाको उर्वर अनि उदान्त जवानीसँग
तर्किएर हो वा तर्सिएर
फरार सोमदत्तलाई फिर्ता ल्याउनुपर्छ भन्थे बिपी।
चोक–चोकमा आत्मसमर्पण गरेर हैन
मोर्चा–मोर्चामा नरेन्द्र दाइहरूसँग पनि मिलेर
अस्तित्ववादी मैदानमा
तीन घुम्तीका इन्द्रमायाहरूसँग सहकार्य गरौं भन्थे बिपी।
विरोध बिना विकास हुँदैन भन्दै
बाबु, आमा र छोरोमार्फत् विद्रोह जन्माउँदै
नियतीवादमा पिल्सिएका उमाहरूलाई
आत्मनिर्णय नै विज्ञान हो भन्थे बिपी।
श्वेतभैरवीको यौनजन्य विस्फोटन सम्झेर
त्राहिमाम–त्राहिमाम त्यो समाजलाई
होसियारीपूर्वक परिवेश सम्हालौं भन्थे बिपी।
ठूलो हुने मोहले
असल हुन बिर्सिएका ठालुहरूदेखि
हिटलर र यहुदीको संग्राममा
कौरवहरूले मानवता भट्टीमा सडाएको देखेकी
मानसिक आघातकी देवी थियोडोराहरूसम्मलाई पनि
मोदीआइन कै नेतृत्वमा
शान्तिको पुनर्स्थापना गरौं भन्थे बिपी।
आफ्नै इजलासमा आफैंलाई
वादी अनि प्रतिवादी पनि बनाएर
घरी–घरी जेल जर्नल र डायरीमा
पटक–पटक फेरि सुन्दरीजलमा
आफ्नो कथा आफैंले आत्मवृत्तान्तमा सुनाएर
मृत्युशय्याबाट पनि राष्ट्रियता र प्रजातन्त्रको निरन्तर युद्ध लडौं भन्थे बिपी।