कविता
आमाले कयौं पटक बोलाएपछि
बल्ल भान्सा छिर्थें।
अनि भन्थें-अझै कति तातो हो भात?
मेरा बाले,
जवानीमा कहिल्यै खाएनन् तातो भात
आफैं बा बनेपछि बल्ल थाहा पाएँ
भातकै तातो सहन पनि हातमा छाला हुनुपर्छ।
न देखे कहिल्यै पाठशाला,
न त फुर्सद नै रह्यो घुमिहिँड्न।
तर पनि,
मेरो आदर्श हुन् शिक्षाको।
स- साना कुरोमा अत्तालिँदा भन्थे
आँसु दबाउने कुरो हो केटा देखाउने होइन।
त सँग मेरै मुखमा पनि आगो लगाउने हिम्मत हुनुपर्छ।
दमले सिकिस्त बनाएपछि
उनलाई लागेछ- अब बाँच्दिनँ
मलाई हत्तपत्त बोलाएर भने-तुरून्तै भात खाइहाल तुरून्तै।
आफू नरहनुको डर थिएन
बरू, एकै छाक भए पनि
सन्तान भोको रहला कि भन्ने उनको डर हुनुपर्छ।
हुन त पहिलो पटक आमाले चिनाएकी हुन् `बा´
उनी मेरो दोस्रो नातेदार हुन्।
त्यसपछि तिनकै काँधमा चढेर
मैले पहिलो पटक देखेको हुँ क्षितिज
काँधमा बोक्दाबोक्दै
टाउको उँभो फर्काएर मलाई हेर्दै
बाले नै भनेका हुन्-
होसियारका साथ चालीस भने पैंताला
आफैं जोगिन्छ खुट्टाको बुढिऔंला
अरूसँग त सिधा सिधा नजर हुनुपर्छ।
आजसम्म पनि बा
मन्दिर गएको देखेकै छैन
जानेलाई पनि रोकेका छैनन्।
सायद भ्याएनन् वा सबैलाई बराबर देखे।
कहिले काहीँ भन्थे-
`वाद´ र `उपवाद´ छोड् केटा
भगवानसँग पनि नझुक्न स्वाभिमान हुनुपर्छ।
चाहे म जति जवान हुँ, जति नै बलवान् हुँ
उनी रहिन्जेल म बालखा नै हुँ।
भरोसाका त कुरै नगर्नुस् महाशय,
उनले ख्वाक्क खोक्दिए मात्र पनि घरको पहरा हुन्छ
बा हुन् नि!
लौरो टेकेरै उभिँदा पनि मेरो सहारा हुन्छ।