कविता
भत्केको जीर्ण पुल जस्तै
कपटहरूको हुल जस्तै
ढिलासुस्ती र स्वार्थको स्कुल
बन्न पाउँदैनौ निजामती तिमी !!!
तिमीले बन्नुपर्छ सरकार र नागरिक बीचको
गजबको पक्की पुल
तिमी पक्की हुनैपर्छ।
किनकी तिमी स्थिर सरकार हौ
त्यही पुलबाट पुग्नुछ तिमी
सेवा प्रवाहको सरजम बोकेर
टिंकर, सामागाउँ , फालेलुङ सम्म
त्यति मात्र हैन,
पुग्नुछ अझै दिगन्त सम्म
निजी दूरको चिन्ता त्यागेर
पुग्नुछ धेरै सुदूर सम्म
निहार्नुपर्छ तिमीले नागरिकका दु: खहरू
चहार्नुपर्छ अभावका पहाडहरू
जम्मा गर्नुछ परित्यक्त
सीमान्तकृत हाँसोहरू
तार्नुपर्नेछ सेवा प्रवाहको बिलम्बताले ल्याएका
जबरजस्त बेचैनीहरू त्यही पुलबाट
अख्तियारीको परिपालक तिमी
तिमी नै कार्यान्वयनको पुलिन्दा
पोखिन्छन् तिमीमाथि
अनियन्त्रित आक्रोश
गरिन्छन छुद्र निन्दाहरू
बुझ्न सकिँदैन भिडको मनोविज्ञान
लगाउन सक्छन् निजामती निधारमा
दबाबका निर्मम टापहरू
धैर्य होऊ , अडिग होऊ, स्थिर होऊ, अविचलित होऊ
प्रभावमा स्वभाव नबदल्नु है!!
सुदूरको गन्तव्य बोकेर हिँडेको तिमीले
प्रतिकार नि बोक्नुपर्छ
जवाफ पनि त दिनुपर्छ, तर फूलबाट
किनकी तिमी सरकार र
नागरिक बीचको पुल हौ
तिमीले जवाफ फूलबाटै दिनुपर्छ।
कसैको लागि जुम्सो बनेऊ तिमी
कसैले तिमीलाई बेकामे पनि त भने।
बिरालो बाँधेरै श्राद्ध गर्ने
कर्मकाण्डी पनि त भने
बिरालो नपाए कुकुर खोजेरै
बाँध्छ पनि भने।
लाल फित्ताले बाँधेरै राख्छ फाइल
खोल्दै-खोल्दैन भन्छन्
निर्णय गर्दैन आँखा झिम्काउँछ
किन निर्णय नगरेको भन्दा
बोल्दै बोल्दैन भन्छन्।।
हो बदल्नुछ यस्ता भाष्यहरू
निर्माण गर्नुछ अब त सुन्दर भाष्यहरू
बन्द गरिदेऊ
लोभ मिश्रित डरका बहिखाताहरू
कर्मका कविता जति गाए पनि हुन्छ
बिन्ती अब नगाइदिनु है
चाकडीका कान पाक्ने गाथाहरू।।
कर्मी मौरीको प्वाँख उखेलेर
धमिराको गीत नगाओस् निजामती
हुल्लडतन्त्रमा रमाउने
निठल्ला हरूको हल्लाखोरी नबनोस्
मौसमी झल्लाहरूको
पल्ला भारी नबनोस्, निजामती
तिमीलाई ठालुहरूको पैतलामुनि
कहिल्यै देख्न नपरोस् निजामती
निर्धनहरूको टाउको माथि त झनै
देख्न नपरोस् निजामती
अर्को पटक यसै गरी निर्मम भएर
कविता लेख्न नपरोस् निजामती।।।
कसैको निजी मतिले तिम्रो गति ह्रास नहोस् निजामती!!!!
कसैको निजी मतिले तिम्रो गति ह्रास नहोस् निजामती!!!!