कविता
प्रिय! अाज तिम्राे जन्मदिन
साेच्छु परिस्थितिले हाम्राे बाटो
माेडिदिएर छुट्टाए पनि
राधाकाे प्रिय कृष्ण अनि
कृष्णकी प्रियसी राधा
कृष्णकी प्रियसी राधा अनि
राधाकाे प्रिय कृष्ण
अलग भएर पनि एक हामी
एकअर्कासँग टाढिए पनि
मेरो प्राण! म तिमीबाट कहिल्यै
टाढा हुन सकिनँ
त्यसैले त अाज सबेरै उठी
तिम्राे जन्मदिन भनेर
तिमीलाई मन पर्ने दही
भाँडाभरि निकालेर राखेकी छु
तिमीलाई मन पर्ने वैजयन्ती फूलहरू
समेट्दै गर्दा
काँडाले झसक्क झस्काउँछ मलाई
तिमीबिनाकाे जीवन समेट्न कति गाह्रो!
सुन्छु
तिमीले अामा देवकी
र बाबा वासुदेवलाई कंश मामाबाट
मुक्त गरायाै रे
तर प्रिय तिमीसँगकाे विछाेडमा तड्पिएकाे मेराे मनलाई कहिले मुक्त गराउछाै?
तिमी त सबैकाे मनमा विराजमान भयाै रे
तर प्रिय हरपल साथ जिउने खाएकाे
कसम मसँग कहिले पूरा गर्छाै?
हाम्राे नाम काेरिएकाे रूख झनै बुढाे भएकाे छ
हाम्राे माया पनि झन् गाढा भएझैं लाग्छ
दाेबाटाेमा पर्खिरहन्छु तिमीलाई
तिमी फर्किअाउने झुटाे अाशामा
गाेपिनीहरूकाे मन हर्दै प्रेम चराउने तिमी छैनाै यहाँ
वृन्दावनका ती वनमा घन्टाैंसम्म हराइरहन्छु
लाग्छ तिमी यहीँ मुरली बजाइरहेछाै र म
झुमिरहेछु तिम्रै तालमा
तिम्राे भ्रमित अस्तित्वमै खुसी हुन्छु
तिम्राे यादकाे वर्षादीले
लपक्कै हुनेगर्छु म
पाउँछाै हाेला नि हैन?
मैले पठाएका सम्झनाका बाडुल्कीहरू
एक्कासि शून्य लाग्छ
मेराे मनकाे महाशून्यमा तिमी यतै बिलाएछाै कि?
तिम्राे प्रेम भए पनि
कतै म अाफूलाई अपूराे पाउँछु
मुटुभरिकाे माया खन्याए पनि
जीवनभरिकाे जीवनसंगिनी त बनाएनाै नि
प्रेमकाे रङले रङ्गाए पनि
मेराे सिउँदोलाई त रङ्गाएनाै नि
तिम्राे नाम रुक्मिणीसँग जाेडिँदा
मन चसक्क बिझ्छ
मन बुझाउँछु
अबका हरेक जन्ममा
तिम्राे जीवनसाथी बन्ने कामना राख्दै
उफ्! कुनै गुनासाे छैन तिमीसँग
तर एउटा मात्र डर रहन्छ प्रिय
कतै मेराे नाम तिम्राे नामबाट
छुट्याएर मिल्काइदिए भने
तिम्री प्रियसी राधा
केकाे अाडमा बाँकी जिन्दगी
काट्न सकूँला र खै?