कविता
उनीहरूले मलाई तुफानी बतास पठाए
झरिरहुन्, लत्रिरहुन् भनेर
अत्यास पठाए
हतास पठाए
म ढल्न नजानेको महाभारत पर्वत भन्ने बुझेपछि
उनीहरूले मलाई आगो पठाए
पहिरो पठाए
आफैं सकिऊन् भनेर आत्महत्या पठाए
म दृढ अविचल सगरमाथा भन्ने बुझेपछि
उनीहरूले मलाई भोक पठाए
विलासी मदिरा पठाए
सुतिरहुन् भनेर रोग पठाए
म नसुत्ने जाग्दो सपना भन्ने बुझेपछि
उनीहरूले मलाई मेरै मातृभाषा पठाए
मेरै सांस्कृतिक पहिरन पठाए
नाचिरहुन् भनेर कण्ठमाला पठाए
म युद्धगाथाको चेतना हुँ भन्ने बुझेपछि
उनीहरूले मलाई दमन पठाए
हेपाइ पठाए
थच्चिऊन् भनेर त्रास पठाए
म शोषणलाई पर्गेल्ने आगो हुँ भन्ने बुझेपछि
उनीहरूले मलाई थकान पठाए
व्यवधान पठाए
अधिनता स्वीकार्न गठजोड पठाए
म चेपेनदीमा दूध चुसाउने आमा हुँ भन्ने बुझेपछि
उनीहरूले मलाई पराजय पठाए
हिरासत पठाए
दण्ड उठाउनुपर्छ भनेर
मेरो बुलाकी उतारिदिए
र मुख थुनिदिए
अनि अनुहारमा लेखिदिए–
आगोको जात हुन्न
तिमी आगोका फूल हौ।