भोक छ, मुखले आँ गर्न मान्दैन
अनेक पिर छन्, आँखाले आँसु झार्न मान्दैन!
आजकल सबै अटेरी भएका छन्
कसैले केही मान्दैन!
उकुस मुकुस गुम्सिएका छन् शब्दहरू
तर यी औंलाले लेख्नै जान्दैन,
यो मन त मन भइगो नि मैले भनेको मान्दै मान्दैन!!
जिन्दगीको भाग दौडमा छु म
पाइला रोकिन मान्दैन!
जाग्राम नै बस्न थालेको छ आजकल मन
आराम गर्न जान्दैन!!
तिमी मलाई सपना नदेख भन्छौ
तर यी आँखा सुत्नै मान्दैन,
मन त मन भइगो नि मैले भनेको मान्दै मान्दैन !!!
नबिराउनु, नडराउनु, गल्ती छैन भने
आत्मसम्मान छ मेरो शिर झुक्नै मान्दैन !
तिमी जाल झेलमा माहिर
दोष दिनु तिम्रो धर्म, दोषी नमान्नु मेरो
खाएको विष पो लाग्छ हजुर,
नखाएको विष त लाग्दै लाग्दैन !!
यो मन त मन भइगो नि मैले भनेको मान्दै मान्दैन !!!
के मूकदर्शक हौ र तिमी?
किन केही देख्दैनौ?
गफ त ठूल ठूलै हुन्थे तिम्रा
अहिले किन मुखै खोल्दैनौ!!
पोथी बास्न हुन्न भन्ने भालेहरूको बीचमा छु म
चुप बस्नै जान्दैन,
यो मन त मन भइगो नि आजकल मैले भनेको मान्दै मान्दैन!!