सुदूरपश्चिमको डडेल्धुराबाट लोक सेवा आयोगको तयारीको लागि निस्किनु आफैंमा रोमाञ्चित हुन्छ।
पहाडबाट सपनाहरूको सहरमा पस्नु अनि मीठा मीठा सपनाहरूको लयलाई वास्तविकतामा उतार्नु नै कति मिठास पल हुन्छ।
भर्खरै बिबिएसको चौथो वर्षको परीक्षा दिएर म काठमाडौं हान्निएँ। कलेज दिनमा पढ्दै जागिर गर्दै गरेको अनुभव त साथमा थियो तर अब सानो तिनो जागिरभन्दा पनि लोक सेवाको तयारी गर्ने र निजामती कर्मचारी हुने ठूलो धोको मनमा पलायो।
अबको २/३ वर्ष नै किन नलागोस् जसरी पनि आयोग त कटाउँछु भन्ने हिम्मत जुटाएर सुदूरबाट स्वप्न नगरीमा पुगें। कीर्तिपुर एक घरमा डेरा पनि बसें। दुई जना साथी थियौं। पढेको पढ्यै गर्ने- हाम्रो लागि संसार नै लोक सेवा थियोभन्दा फरक नपर्ला।
भू-मध्य रेखादेखि केचना केबलसम्म हाम्रो यात्रा हुन्थ्यो।
हाम्रो यात्रा वास्तविकतामा कीर्तिपुरदेखि बानेश्वर हुन्थ्यो त्यो पनि क्लास लिन मात्र हामी निस्किन्थ्यौं। बाँकी समय उही बुर्जखालिफादेखि जापानको हिरोसिमासम्म, मंगल ग्रहदेखि फ्रान्ससम्म हाम्रो यात्रा त काल्पनिकमा कति थिए थिए।
जन्ममितिदेखि कोडिङ डिकोडिङ निरन्तर अभ्यास पागलजस्तै बर्बराइरहने निरन्तर कार्य नै भइसकेको थियो।
काठमाडौं पुगेको पनि ६ महिना बितिसकेछ त्यही बीचमा जोडिइन् - समीक्षा शर्मा!
पढ्नमा अब्बल उनी क्लासमा पहिलो बेन्चमा बस्थिन्। कहिले लाग्थ्यो यी समीक्षासँग साथित्व बढाउन पाए त! कहिले यो मनले सोच्थ्यो कास प्रेमिका बनाउन पाए भने!
सुन्दरता अनि पढाइमा उनको सक्रियता नै गज्जबको थियो। पढ्न यत्रो टाढा गएको मान्छे म कसैको ठूलो फ्यान भएको थिएँ।
मोबाइलमा पिडिएफ हेर्दै थिएँ।
‘तपाईंसित नेपालको इतिहास वाला नोट छ?,’ मतिर हेर्दै उनले भनिन्।
‘हजुर छ’, मैले भनें।
इमेल आइडी दिइन् र मैले नोट सेयर गरिदिएँ।
खै ती अपरिचित महिला मसँग किन बोलिन्! एक मनले सोच्यो म तिनलाई एकोहोरो रूपमा हेरेको थिएँ र कहिले?
हैन त्यसरी कहिले हेरेको पनि हैन! ज्योतिषी रैछिन् कि क्या हो ? कस्तो जानेको त!
उफ! मैले यस्ता कुरा किन सोचिरहन्छु बेला बेला! उही आइरहन्छे कल्पनामा समुन्द्रको गहिराइहरू याद गर्नुपर्ने बेलामा उसका नयनमा किन डुब्दै छु म!
मन फेरि आफैं सशंकित भयो। इेमलबाटै म्यासेज गरें।
‘हेलो मिस यसो महत्वपूर्ण नोटहरू सेयर गर्नुहोस् न मलाई!’
‘ए हवस्!’
उसँग कसरी कुरा सुरू गरौं मलाई आपत परिरहेको थियो। कोठामा बस्ने साथी ‘निजामती हुने सपना तुहिने भयो केटा’ भनेर जिस्काउथ्यो।
म भने मेरियना-ट्रेन्चको गहिराइ छोडेर उसको प्रेममा चुर्लुम्म डुबिसकेको थिएँ।
समय बित्दै गयो, कोर्सको अवधिको उत्तरार्धतिर पुगिसकेका थियौँ। इन्स्टिच्युटबाट सानो चिया प्रोग्राम राख्ने कुरा भएछ।
मैले त्यो दिन समीक्षासँग फेसबुकमा साथी हुन पाएँ। खासै फेसबुक त चलाइन्न थियो तर उसको तलतल यसोे भनौं उसको नशारूपी याद कम गर्न उसको फेसबुकमा हँसिलो मुहार हेर्न दैनिक कामजस्तै हुन्थ्यो।
कोशी प्रदेशको पाँचौं तहको परीक्षापश्चात म डडेल्धुरा फर्किएँ। कुराहरू बाक्लिन थाल्यो- सायद उनलाई पनि मन परे हुँला! केही समयपछि हाम्रो प्रेमले नयाँ गति लियो। दुवै निजामती कर्मचारी हुने भनेर सपनामा कल्पनाको उडान भर्ने काम गर्थ्यौं!
प्रेमकालीन समय कति छिटो कुद्ने रहेछ! २ वर्ष बितेछ। लोक सेवामा उछारपाटो लागिएन सायद लोक सेवाभन्दा पनि लभसेवातिर मेरो झुकाव बढेको थियो कि म आजभोलि अनुमान गर्छु।
असफलले छाएको व्यक्ति सफल हुन धेरै संघर्ष गर्नुपर्छ तर मेरो संघर्षमा मेरो सफलता भने टाढाजस्तै थियो।
धैरै समय समीक्षा र मेरो कुरा कहानी हुन्न थियो। पढ्नुलाइ पहिलो प्राथमिकता र फोन सम्पर्कमा कम नै वार्तालाप हुने गर्थ्यो।
एकदिन समीक्षाकै फेसबुकबाट म्यासेज आयो ‘प्रिय साथी हामी एक हुन सक्दैनौं। जीवनमा सोचेकोजस्तै नहुँदो रहेछ। मेरो बिहे हुँदैछ। मलाई बिर्सिदिनू!’
प्रेमभन्दा ठूलो केही हुँदैन भन्ने सुनेको थिएँ। तर त्यो बलेा मैले महसुस गरें। प्रेम भन्नु नै जीवनको सार रहेछ।
ओहो!
जीवनमा अन्धकारको छायाले छाएजस्तै भयो। मेरो सपना क्षणभरमै निमेष भयो। कस्तो दर्दनाक हत्या भएकाे मेरो प्रेमको उफ्!
मनलाई नियन्त्रणमा राख्ने अवस्थामा म थिइनँ। धेरै पटक सम्पर्क गर्न खोजें समीक्षालाई कतै भेटिएन।
उसका साथीहरूबाट थाहा पाएँ समीक्षाको बिहे अधिकृतसँग हुँदै छ रे!
उनका श्रीमान प्रशासकीय अधिकृत रहेछन्। मनमा राखेको मान्छेले अनायासै विछोड हुँदा मन सम्हालिनै गाह्रो पर्दो रहेछ।
उसको तस्बिरलाई हेरें अनि सोचें। मेरो सपना त अधिकृतले उडायो। सपनाको राजकुमारी अधिकृतले उडायो! मन अमिलो भएर आयो।
मोबाइलको ग्यालरीमा समीक्षाका धेरै फोटोहरू थिए। क्रमशः डिलिट गरें। यादहरू पनि डिलिट गर्छु भनेर प्रयत्न गरें, मोबाइल अफ गरें। फेरि उसका यादहरू आउँछन् भनेर जबर्जस्ती उसलाई आँखाबाट ओझेल पारें।