कविता
जीवनका उर्वर समय
निरन्तर शिक्षण र सिकाइमा खर्चिंदै गर्दा
उत्सुकता, आशंका र सम्भावनाको त्रिवेणीमा
आफ्नो पहिचान नपहिल्याउँदै
उमेरले नेटो काटी सकेछ
भविष्य अनिश्चितता तर्फ तेर्सिएको
उसले पत्तै पाएन।
एकादुई कामचोरहरूको घानमा परेर
आरोप, प्रत्यारोप, बद्नामी र सत्तोसरापमा
निरीह जिन्दगी जिउन अभ्यस्त ऊ
निरन्तर आफ्नो कर्तव्यमा तल्लीन हुँदै गर्दा
संघीय शिक्षा ऐनको नाममा फेरि एक पटक
रछ्यानमा फालिन लागेको मेसै पाएन।
अचेल ऊ सोच्छ,
कर्तव्यको निरन्तर यात्रामा हिँड्दै गर्दा
धन, दौलत र सम्पत्ति आर्जन गरिएन
शिक्षणजस्तो पवित्र पेसामा बसेर
ऐसआराम र विलासी आकांक्षा भरिएन
कर्तव्य र दायित्वको भारीले थिचिरहँदा
बुढ्यौलीसँगै अभाव र असुरक्षा बढ्ला भनेर
कहिले अन्दाजा नै गरिएन।
ऊ सम्झन्छ र सम्झिरहन्छ
दूरदराजमा अभाव र समस्यामाझ
शिक्षा दिइरहेका इमानदार शिक्षकहरूलाई गाली गर्ने
अर्ति, उपदेशमात्र दिने र दोषी करार गर्ने
सहरीया 'शिक्षाविद्' हरूलाई,
शिक्षक र शिक्षा सम्बन्धी असल अभ्यास र प्रयासलाई नदेख्ने
तर, ससाना गल्ती कमजोरीलाई
नकारात्मक शब्दजालमा ऐलान गर्ने 'पत्रकार' हरूलाई,
गुणस्तरीय शिक्षाको एकमात्र अवयव
केवल शिक्षकहरू मात्र हुन् भन्ने
सरकार अनि शिक्षाका 'हाकिम' हरूलाई,
बिना लगानी पनि शिक्षामा क्रान्तिकारी रूपान्तरण खोज्ने
राजनीतिक दल र तिनका 'नेता' हरूलाई
अनि, शिक्षकको हितकै खातिर भनेर बनेका/बनाइएका
सरकारको विरोध गर्ने तर शिक्षाको रोडम्याप दिन नसक्ने
शिक्षक संघ/संगठन र तिनका नेताहरूलाई।
उसलाई थाहा छ, राम्ररी थाहा छः
आत्म सम्मान र पेसागत सुरक्षाका लागि भनेर
अब फेरि एकपटक अन्तिम र 'निर्णायक' आन्दोलनको आह्वान गरिन्छ
सडकमा ओरालिन्छ शिक्षकहरूलाई
सुकिसकेको आशको त्यान्द्रो बौरिन्छ भन्ने
उसलाई खासै विश्वास त छैन
तर पनि 'केही भै हाल्छ कि' भनेर ऊ होमिन्छ आन्दोलनमा
अनि आन्दोलनले गन्तव्य भेट्टाउनै लाग्दा
वार्ता समिति गठन गरिन्छः
आन्दोलनरत पक्ष र सरकार पक्षबीच ............?? बुँदे सम्झौता गरिन्छ,
सम्झौतासँगै आन्दोलन तुहिन्छ/तुहाइन्छ
र, फेरि यही स्थापित व्यथितिको सिकार बनाइन्छ/बन्छ
ऊ अर्थात् निरीह शिक्षक।