पढ्न मन नभए पनि जसरी नि पढ्नै पर्ने लोक सेवाको पढाइ। विदेश जाने रहर छैन अनि देशमा नै केही गर्ने हुटहुटीले रातभर सताउँछ त के गर्नु? त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा एमस्सी फिजिक्स सकेको म एउटा जेहेन्दार विद्यार्थी जसोतसो लतारिएरै तयार भएँ शाखा अधिकृत, प्रशासनको परीक्षा दिनलाई।
अघिल्लो रात निदाउन सकिनँ। ऐंठन भइराख्यो। मनले अनेक सोच्यो। ‘के के नै ट्यालेन्ट भनेर फिजिक्स पढियो अहिले उही सामान्य ज्ञान घोकेर बस्नुपरिराछ। अनेक नातागोता छन्, चिनेजानेका छन्। लहरोपहरो ताने झैं सबैले सोध्छन्। के गर्देछस् सहरा? भन्छन्। लोक सेवाको नाममा टाउको जोतेको पनि वर्षौं बितिसक्यो। बिहानै पाँच बजे उठेर पढेको भित्ता साक्षी छ। सँगैका प्लस टु गरेर विदेशिएकाहरूले घर ठडाइसके। आफ्नो भने इज्जतले शिर पनि ठडिन सक्या छैन। भैगो! यो अन्तिम चोटि दिन्छु। निस्केन भने विदेशतिर हानिन्छु। आखिर जे गर्नु पैसाले गर्दो रैछ।’
जसोतसो निदाएछु। बिहानैको अर्लाम भए पनि आफैं बिउँझिएछु। प्रथम पत्र उर्फ सामान्य ज्ञान, आई क्यु अनि अंग्रेजी। कतै परीक्षा बिग्रिएला भनेर हरेक सुरहरूमा आफूलाई प्रशिक्षण गराइरहेको थिएँ। ११ बजेको परीक्षाका लागि खाना खाइवरि ९ बजे नै घरबाट हिँडें।
प्रथम पत्रमा सकेको अंक ल्याउने र अरू लिखितमा ठिकै गरेर नाम निकाल्ने मेरो इच्छा थियो। म परीक्षाका लागि दुई खुट्टामा अघि अघि हिँडिरहें पनि सोध्न सक्ने भूगोल र इतिहासहरू दिमागको रंगमञ्चमा नाँचिरहन्थे। घरि कोठाको चाबी पो नलाइकन आएँ कि झैं हुन्थ्यो घरि ग्यास मार्न भो भुलें कि झैं हुन्थ्यो।
परीक्षा केन्द्र पुगेपछि म आफ्नो सिट प्लान हेर्नतर्फ लागेँ। मेरो आडैको रोल नम्बरको नाम देखेर एकछिन टक्क अडिएँ। होइन होला भनेर आफूलाई सान्त्वना दिएर परीक्षातर्फ केन्द्रित गर्न खोजेँ। तर मन मान्दै मानेन। रिभिजन गर्न छुट्याएको समय पनि उनकै यादमा बित्यो। नाम अनुसार नै मान्छे पनि उनै परिन् भने के गर्ने होला भनेर म गम खाइरहेको थिएँ।
आधा घण्टा अगाडि नै कक्षाभित्र पसेँ र नाम रोल नं लेख्नतर्फ लागेँ। आफ्नै बेन्चमा परेकी उनैको नाम घरिघरि हेरिराख्थेँ। अंकिता पाठक थियो त्यो नाम जुन नामसँग मेरो विगतको तीतो मीठो आभास जोडिएको छ।
जे नहोस् भनेर सोचेको थिएँ, त्यही भयो। मेरो बेन्चमा नै उनै अंकिता अर्थात् मेरी पूर्वप्रेमिका परिन्। उनी हस्याङ फस्याङ गर्दै आइन्। केही ढिलो भएकाले उनी मतर्फ पनि नहेरी आफ्नो रोल नं लगायत विवरण भर्न थालिन्। मैले अंकिता भनेर बोलाएपछि जब उनी मतिर हेरिन् बोल्ती बन्द भयो। उनी सेवा समूहहरू लेख्दै थिइन् त्यही अडिएर हेरेको हेरेई भइन्। उनको सिउँदोमा सिन्दुर देखेर मन कतै अमिलो भएर आयो। तिमी कहाँ छौ? के गर्दै? कता? किन? जस्ता प्रश्नहरू ओहोरदोहोर भइराखे मनमा तर सोध्न सकिनँ। न उनले नै सोध्न सकिन्। मुखामुख भएर बस्यौं एकछिन त। प्रश्नपत्र बाँड्न जम्मा १५ मिनेट बाँकी थियो।
हाम्रो भेट प्लस टुमा घरबाट कलेज जाँदा आउँदा भएको हो। उनी पढ्नमा निकै ट्यालेन्ट थिइन्। राम्री पनि उस्तै। सरहरू उनलाई 'ब्युटी विथ ब्रेन' भनेर प्रशंसा गर्थे क्लासमा। मसँग हिँड्दा बोल्दा खुलेर बोल्थिन्। नबुझेको कुराहरू सिकाउन खोज्थिन्। म भने अलि लजालु र इन्ट्रोभर्ट थिएँ।
विस्तारै विस्तारै हामी धेरै नजिकियौं। उनको सुन्दरताको बारेमा धेरै गफ गर्थे केटाहरू।
'त्यो केटी पाउन पाए त यार! ज्यानै दिन्थेँ' भन्थे। म उनको प्रशंसा सुन्दा मख्ख हुन्थेँ। फेरि कसैले गएर पर्पोज गर्ने हुन् कि? गर्दा उनले एसेप्ट गर्ने हुन् कि? भन्ने साह्रै चिन्ता लाग्थ्यो।
एकदिन हामी दुई घुम्न गोदावरी गयौं। हामी फ्रेन्डबाट ब्वाइफ्रेन्ड गर्लफ्रेन्ड हुन खोजिरहेका थियौं। त्यति हो हामी आधा आधा मै अड्किएका थियौं।
मेरो लजालु स्वभावले गर्दा नै होला उनैले अग्रसरता लिँदै, कानेखुशी शैलीमा मनिरै आएर भनेकी थिइन् 'आई लभ यु'। मैले आश्चर्य जनाउँदै! 'ओ माइ गड! आई लभ यु टु।' भनेको थिएँ।
अचानक प्रश्न बाँड्ने घण्टी बज्यो। म झसङ्ग भएँ। पूरै फ्ल्यासब्याकमा पो पुगेछु। परीक्षा दिन आएको मान्छे हेर त गति भन्दै आफैंलाई गिज्याएँ।
सामान्य ज्ञान तर्फबाट सुरू गरेँ। भिक्टोरिया फल्सदेखि सुपेरियर तालसम्मका कुराले रन्थनिएको मेरो दिमाग उनको उपस्थितिले एकीकृत हुनै सकेन। जंगबहादुरदेखि पृथ्वीनारायणसम्मका इतिहासका प्रश्नहरूमा उनकै नाम मात्र अंकित भएर आउथे अनि म मात्र प्रश्नको पाठक बनि बस्थेँ।
भक्तपुरको पंचपन्न झ्याले दरबारको प्रश्न आउँदा उनीसँग त्यतै डेटिङ गएको याद आउँथ्यो अनि उनलाई पुलुक्क हेर्थें। मोबाइल फोनको आविष्कारक सोध्दा उनीसँग घण्टौं फोनमा कुरा गरेको नोष्टालजियाले पिरोल्थ्यो। ओस्कार जित्ने फिल्म सोध्दा, हातमा हात समाएर सिभिल मलमा फिल्म हेरेको याद आउथ्यो।
खेलकुदका प्रश्नमा उनले ब्याडमिन्टनमा मेडल जित्दा मैले अंगालो मारेको याद आउँथ्यो। जसरी उनको मनमा म त्यति लामो समय अटाउन सकिनँ उसैगरी मैले त्रिभुज पनि गन्नै सकिनँ। दिशा र दूरी पत्ता लाउने प्रश्नमा उनको घरजाने बाटाहरू पूर्व पश्चिम दिशाहरू याद आइराखे।
अंग्रेजीमा म कमजोर थिएँ, उनले पढाउथिन् मलाई फुर्सद हुँदा। तर कसरी माया पिरती वर्तमानबाट भूत भयो र भविष्य अनिश्चित भयो त्यही कुराले दिमाग खोतलिरह्यो। हामी यात्री थियौं, तर यात्रा गर्दागर्दै बीचैमा म कतै स्टेसनमा ओर्लिएँ होला र त ट्रेन छुट्यो। म किनारमै रहेँ होला र त, उनी चढेको डुंगा छुट्यो। घण्टी बज्यो फेरि झस्यांग भएँ म, गर्न बाँकी रहेका १५ वटा प्रश्नहरू छुट्यो। जब गार्डले प्रश्न उत्तर उठाए, उनलाई हेरेँ। अघाईन्जेल हेरेँ अनि लामो सास फेरेँ। आखिर छुट्नु नै त खँदिलो सत्य रहेछ।
हामी सँगै निस्कियौं कक्षाबाट।
'तिमी त कस्तो डुब्लाएछौ, चिन्नै नसकिने भएछौ' भनेर मलाई माया मिश्रित भावमा उनले मौनतका गुजुल्टाहरू फुकाइन्। मैले पनि ‘तिमी त झन् झन् राम्री भाकी रैछ्यौ’ भन्दै टट्टाइरहेका आँखाहरूलाई विश्राम दिन खोजेँ।
उनले जीव विज्ञानमा स्नातकोत्तर गरिसकेकी रैछिन्। कृत्रिम प्रश्न उत्तरहरू गर्दागर्दै हामी पार्किंङमा पुग्यौं। जहाँ उनलाई कुरेर बसिरहेका थिए उनका श्रीमान। अनि त आफूलाई एकदम एक्लो महसुस गरेँ।
'ल म जान्छु',भन्दै बिदा मागेँ। उनको श्रीमानसँग बोल्ने आँट समेत आएन। एकोहोरो हिँडिरहेँ। हाँगाहाँगामा सपनाहरू उमारेर जसोतसो उभिएको म, घर पुगेर खाटमा गर्ल्याम्मै ढलें। मोरीले मेरो परीक्षा बिगारी भन्दै केही मिश्रित गुनासोहरूमा फेरि भोलि उठेर पढ्ने वाचा गर्दै निदाउन खोजेँ। अझ स्पष्ट भनूँ,उनको यादहरूबाट टाढा हुन खोजेँ।