ओहो!
धन्न जुरूक्क उठेर नुहाइहालें
देउताको पूजा त बाँकी नै छ
गेटमा दूधको पोकाले कुरिरहेछ
तातो पानी तात्यो कि तातेन हँ?
चिया र नास्ता पकाउन बाँकी नै छ
छिमेकीको कुकरमा सिठ्ठी लागिसक्यो
यता दालको पोको खोज्न बाँकी नै छ।
नानी बाबुलाई उठाउनै गाह्रो
स्कुल बसको हर्न बज्ने बेला भो
लुगा लाइदिन बाँकी नै छ
भात आजकल स्कुलले नै खुवाउँछ
तलब बुझाउन बाँकी नै छ
मेरो चस्मा कता परेछ?
मेरो माला कता परेछ?
मेरो पर्स कता परेछ?
सबैको सामान खोज्नै बाँकी छ
तरकारी बसालेर झरेको थिएँ
मसला त हाल्न बाँकी नै छ
तातो पानी त सेलाइसकेछ
चियामा तर परिसकेछ
घडीको सुइँ घुम्न छोड्दैन
मोबाइलको घण्टी बज्न छोड्दैन
कति काम गरेको नानी एकछिन त आराम पनि गर
पख्नु न आमा एकछिनमा गर्छु मैले सास फेर्नै बाँकी छ
अफिसको मिटिङ चाँडै छ रे
भात सेलाउन बाँकी नै छ
हतारमा निस्कँदा समाजले देख्ला!
सिन्दुर पोते भिर्नै बाँकी छ
बाटोमै फेर्छु आनन्दको सास
जिन्दगीको त्रास बाँकी नै छ!