कविता
उसलाई भेटेको दिन देखि ऊ साथी बनेको थियो,
निकै समय ऊ जाती बनेको थियो,
सहयात्री बनेको थियो,
अनि सहयोद्धा भनेको थियो,
सहकार्य भनेको थियो,
ऊ लामो समय सहकर्मी बनेको थियो!
साथीको पात्र केही वर्ष निभाएपछि
ऊ एकदिन प्रस्ताव लिएर आयो
शत्रु बन्ने!
प्रस्ताव अस्वीकार नगरेपछि
त्यही दिन सुरू भएको थियो
एउटा अध्याय शत्रुताको।
आजभोलि
हाँस्दैन ऊ म हाँसेको बेला,
हिँड्दैन ऊ म हिँडेको बाटो,
सुन्दैन मैले बोलेको शब्द,
छुदैन मैले छोएको वस्तु,
जाँदैन म गएको स्थानमा,
त्यसैले ऊ आज उत्कृष्ट शत्रु भएको छ।
आज बुझें
उत्कृष्ट मित्र मात्रै
उत्कृष्ट शत्रु हुन सक्ने रैछ।