कविता
म भिन्न छु
तिमी भन्दा भिन्न
तिमी गुलाबमा फूल मात्र देख्छौ
म काँडाको अस्तित्वलाई पनि स्वीकार्छु।
तिमी हिराको कुरा गर्छौ
म कोइला देख्छु।
त्यसैले,
सक्दैनौ मलाई चिन्न
हो, म भिन्न छु
तिमी भन्दा भिन्न।
तिमीलाई जमिन चाहिन्छ
धन चाहिन्छ, ज्ञान चाहिन्छ
म पूरै ब्रह्माण्डको खोजीमा छु
तिमीलाई बुद्धि चाहिन्छ
मन चाहिन्छ
म मन भन्दा पर आत्माको खोजीमा छु
तिम्रो यात्रा भौतिक शरीर सम्मको हो
मेरो यात्रा हो अभिछिन्न
हो म भिन्न छु
तिमी भन्दा भिन्न।
तिमी संसारलाई पूर्ण देख्छौ
म शून्यतामा जिउँछु
तिमी ढुंगालाई देउता मान्छौ
म देउतालाई ढुंगा मान्छु
तिमी ईश्वरलाई पूजा गर्छौ
म ईश्वरलाई पुज्ने बनाउन दौडिरहेको छु
तिम्रो इरादा स्वर्ग हुन्छ
मेरो इरादा हो नर्क
त्यसैले सक्दैनौ मलाई जान्न
हो म भिन्न छु
तिमी भन्दा भिन्न।
तिमी जन्मलाई पूजा गर्छौ
म मृत्युलाई पूजा गर्छु
तिमी जन्मोत्सव मनाउँछौ
म मृत्युलाई महोत्सव बनाउँछु
तिमी जिउनुमा सार्थकता देख्छौ
म मृत्यूलाई सार्थक बनाउने यात्रामा छु
यस्तै छ मेरो जीवन किताबको पन्ना
हो म भिन्न छु
तिमी भन्दा भिन्न।
तिमी दृश्यलाई हेरेर मोहित हुन्छौ
म द्रष्टा बन्ने यात्रामा छु
तिमी कोइलीको आवाज सुनेर लोभिन्छौ
म अनहदनादको यात्रामा छु
मलाई कुनै बाहिरको दृश्य, आवाजले छुन्न
हो म भिन्न छु
तिमी भन्दा भिन्न।
हो भिन्नता नै
मेरो परिचय हो
अस्तित्व हो
जीवन अनि सुन्दर मृत्यु हो।।