कविता
भर्खरै भुइँ छोडेको यो जहाज
एयरपोर्टको गेटमा
भर्खर भर्खरै छुटेको
प्रियसीको न्यानो हात
म कुन पंखा हम्काई सुकाउँ यी आँसु
म कस्तो भविष्य सम्झेर हाँसु !
यो नाथे हवाई जहाजको वेग के वेग?
यी.. म अहिलेको अहिलै मेरी आमाको छेवैमा छु
म एकै पटक मेरो घरको भान्छामा छु
साथीभाइको भेलामा छु
मेरो आप्पा बस्ने
सिकुवाको खटियामै छु
मेरी प्रियसीको शितल काखैमा छु
यतिखेर म
यो जहाज बाहेक
सबैतिर छु सबैसँग छु
मेरो मनले वेग जो हानेको छ
यो हवाई जहाजले कहाँ भेट्न सकेको छ !
***
यो साँझको जो समय छ
झिलिमिली काठमाडौं छोडिँदो छ
ऊ... पशुपतिको गजुर सानो हुँदै गैरहेछ
ऊ....पूरै घरहरू बिलाउन खोज्दै छ
ऊ...त्यता हुँदी मेरी पियारीको बसाइ छ
हजारौं फिटको उचाइबाट एउटा मन
थाहै नपाई हाम फालिसकेको छ
र गर्ल्याम्मै अंगाली सकेको छ काठमाडौंलाई
कसरी अटाउन सक्यो खै! त्यत्रो ठूलो सहर
विदेशिन विवश यो मनको अंगालोमा
लागिरहेछ भित्रभित्र कतै
बरू फर्कियोस् यो जहाज जहाँबाट उडेको हो त्यहीँ
बरू जेसुकै गरेर खान्छु
बरू आफन्तहरूलाई सम्झाउँछु
बरू साहुलाई भाका थपी माग्छु
कमसेकम मेरी उनीसँगै हुन्छु
कमसेकम परिवारमाझ रहन्छु
क्याप्टेन साहेब!
क्याप्टेन साहेब !!
घुमाउनुहोस् यो हवाई जहाज
मलाई फर्कनु पर्ने भो उतै
कपासको बोटबाट हावाले कपास थुते झैं
म सूक्ष्म सूक्ष्म हिस्सामा घटिरहेको छु
म पूरै रित्तो हुनु अगावै
भतभती पोलिरहेको छाती ध्वस्त हुनु अगावै
कृपया मलाई फेरि
मेरै देशको एयरपोर्टमै ओराल्दिनुहोस्