गगनचुम्बी भवनहरू, चिल्ला सडकहरूमा गुडेका रङ्गीचंगी गाडीहरू, तारे होटलहरू, ब्रान्डेड सपिङ कम्प्लेक्सहरू, विज्ञान र प्रविधी संसारभरी बेचेर विश्वका मानिसलाई आफूतिर आकर्षित गर्ने कर्पोरेटका कार्यालयहरू सबै त्यही सहरमा छन्। त्यहाँ एउटा अलौकिक वैभव छ। चिल्ला सडकहरू अनि मानिसका तडकभडकहरूले त्यो वैभवको निरन्तर प्रदर्शनी गर्छन्। हो, त्यही सहरको एक सडक किनारमा एउटा मैलो, कालो फोहोरका धब्बाहरू पोतिएको एउटा टेन्ट टांगिएको छ।
त्यो टेन्टको छेवैमा एउटा मानिस सडकसँगै जोडिएको चालीस तले भवनको बाहिरी पर्खालको भित्तामा अडेस लागेर उभिएको छ।
लामो अजंगको लट्टा परेको कपाल, आँखाभरी कचेरा, लामा कैला दाह्रीले अनुहार छोपेको त्यो मानिस होचो कदको छ।
अनुहारको बनावटको आधारमा ऊ हिस्प्यानिक जस्तो देखिन्छ तर अनुहारको रङ्ग भने कालो छ। लामो ओभरकोट लगाएको त्यो मानिसको एउटा हातबाट चुरोटको धुवाँ उडिरहेको छ।
एकाएक उसका आँखा सेफ वेको सपिङ कार्टभरी सामान लिएर आउँदै गरेकी महिलामा पर्छ। उनको कार्ट अटेसमटेस सामानले भरिएको छ - क्र्याकर, ब्रेड, फ्रोजन पिज्जा, आइस क्रिम फलफूल अनि तरकारी आदि आदि। ऊ ती खाने कुरा तर्फ एकोहोरो हेरिरहन्छ। उसलाई भोक लागेको छ। आज बिहानैदेखि उसको पेटमा एक कप पानीबाहेक केही परेको छैन। तर उसलाई थाहा छैन आजको खानाको जोहो कसरी गर्ने। ती महिला उसको नजिकै आइपुग्छिन् र कार्ट पार्क गरेर सडक किनारमा पार्क गरेको मर्सिडिज ब्रान्डको गाडीको ट्रंकमा समान राख्न थाल्छिन्।
ऊ त्यो दृश्य हेरिरहन्छ। कुनै समय ऊ पनि त्यसरी नै उसकी आमासँग सपिङ जान्थ्यो। उसकी आमाले कार्ट ठेलेकी हुन्थिन्। ऊ आमालाई कार्टबाट सामान निकालेर कारमा राख्न सघाउंथ्यो। त्यो समय फरक थियो -उसकी आमा थिइन्, उसको घर थियो अनि पुरानो टोयोटा ब्रान्डको गाडी थियो। त्यति बेला उनीहरूको घरमा आगो लागेको थिएन।
उसको घरसँगै उनीहरू बस्ने सहरलाई त्यो विनाशकारी आगोको लप्काले निलेको थिएन। त्यति बेला घरबार गुमाएपछि उनीहरू ऊ जन्मेको सानो सहर छोडेर ठूलो सहरमा डेरा बस्न आएका थिएनन्। त्यति बेला उसका बुबा कुलतमा फसेका थिएनन्, त्यति बेला उसका आमा र बाबासँगै थिए, त्यति बेला ऊ फोस्टर केयरमा गएको थिएन, त्यति बेला ऊ एक्लिएको थिएन, त्यति बेला ऊ खराब संगतमा फसेको थिएन, त्यतिबेला उसले जुभेनाएल प्रोबेसनमा बस्नु परेको थिएन, त्यती बेला उसले काम नपाएर दिग्दार हुनु परेको थिएन, त्यति बेला उसले कलेज पढ्न जान नपाएको थिएन, त्यति बेला ऊ घरबारविहीन हुनु परेको थिएन।
ऊ एकोहोरो हेरिरहन्छ मानौं ती महिला नै उसकी आमा हुन्। उसलाई सम्झना छैन उसलाई छोडेर उसकी आमा कहाँ गइन्।
उसलाई सम्झना छैन उसका बुबाले उसलाई किन सँगै लगेनन्।
ती महिला उसलाई नदेखे कस्तो गरी सामान हतार हतार गाडीमा लोड गर्छिन्। उसलाई नराम्रोसँग भोक लागेको छ। उसका खुट्टा एकाएक ती महिलातर्फ अघि बढ्छन्।
ऊ नजिक पुग्दा सम्ममा महिलाले लगभग सामान गाडीको ट्रंकमा राखिसकेकी छन्। उनी हतारमा छिन्। ठूलो आपत आइ पर्न लागेजस्तो गरी उनी सामान राखिसक्न हतारिएकी छिन्।
त्यतिकैमा उनको एउटा झोला च्यातिन्छ। कागजको झोलाका फलफूल असरल्ल भुइँमा छरिन्छन्।
‘म्याडम, म सहयोग गर्न सक्छु’ ऊ सहयोगको प्रस्ताव राख्छ तर ती महिलाले ठाडो जवाफ दिन्छिन् ‘पर्दैन।’
उनको ठाडो जवाफले सहयोग गर्न अघि सरेका उसका हात एकाएक पछि सर्छन्।
उनी भ्याइनभ्याई भुइँमा पोखिएका स्याउ र सुन्तला टिपेर ट्रंकतिर फ्याँक्छिन् र केही सडकमै छोडेर बाटो लाग्छिन्।
उनले छोडेका दुई वटा स्याउ बाटोको किनारमा हिलोमा लपेटिएका छन्। ऊ ती स्याउ टिप्छ, ओभरकोटले पुस्छ र एकै स्वासमा खाई सकूँला जस्तो गरी स्याउ टोक्न थाल्छ।
ती महिलाको व्यवहार उसलाई स्वाभाविक लाग्छ। उसलाई थाहा छ उनी कहिलै होमलेस भएकी छैनन्।
केहीबेर ऊ त्यहीँ बस्छ। त्यो कार्ट उसलाई चाहिएको छ किनकी ऊसँग सामान राख्ने पुरानो सुटकेस बाहेक केही छैन।
टेन्टभित्रका सामान ऊ त्यो कार्टमा हाल्छ। अनि टेन्ट खोलेर सामानमाथि टेन्ट राखेर डोरीले दुई तिरबाट बाँध्छ। उसलाई थाहा छ
एक रात भन्दा बढी ऊ शहरको एक सडक किनारमा बस्यो भने सहर प्रहरीले थाहा पाउँछन् र उसलाई धपाउँछन्।
कार्ट पनि पाएको अनि खान पनि पाएकोमा ऊ खुसी छ तर ऊ अघाएको छैन। उसलाई थाहा छैन आज उसले अरू खान पाउने हो या होइन। ऊ सडकको एक कुनाबाट अर्को कुनामा भौंतारिन्छ। रेल स्टेसनभित्र छिर्ने सिँढीको छेवैमा अर्को होमलेस बसेको देख्छ।
उसले एप्पलको लोगो प्रिन्ट गरिएको कार्ड बोर्ड बक्सको टुक्रा बाटोतिर फर्काएर एकोहोरो मानिसहरूतर्फ हेरिरहेको छ। त्यस कार्ड बोर्डमा लेखिएको छ ‘म घरबारविहीन हुँ। भोको छु। तपाईंले मलाई केही पेनी सहयोग गर्नु भयो भने भगवानले तापाईंलाई स्वर्गको ढोका खोलिदिनेछन्।’
त्यही सिँढीको अर्को पट्टी एक मेक्सिकन जस्ती देखिने महिला काखमा एक वर्षको जस्तो देखिने बच्चा बोकेर बसेकी छन्।
उनको छातीमा एउटा कागज टाँसिएको छ जसमा लेखिएको छ ‘घरबारविहीन एकल महिला हुँ, कृपया यो बच्चाको मुख हेरेर सकेको सहयोग गर्नुस्, भगवानको आशीर्वाद पाउनु हुनेछ।’
मानिसहरू हतार हतार हिँडिरहेका छन् ।
कसै कसैले एक दुई सिक्का उनको हातमा राखिदिन्छन्। त्यो होमलेसले सोच्यो ‘मैले त यहाँ केही पनि पाउँदिनँ होला, दुई दुई जना पहिलेदेखि नै बसेका रहेछन्।’
ऊ कार्ट ठेल्दै ठेल्दै अघि बढ्यो।
उसका अगाडि ठूला ठूला गगनचुम्बी भवनहरू देखा परे। ऊ बस्ने गरेको सडकभन्दा सफा र शान्त थियो त्यो सडक। मानिसहरूको भिडभाड पनि पातलो थियो।
'अब त मान्छे नै देखिन छोडे कोसँग माग्ने र!’ ऊ मनमनै सोच्न थाल्यो। ऊ सम्झन्छ ए स्ट्रिटमा केही दिनअघि मानिसहरूले खाना बाँडेका थिए। ‘सायद आज पनि हुन सक्छ।’ ऊ त्यही सम्झेर ए स्ट्रिटतिर लाग्छ।
केही ब्लक हिँडेपछि अग्ला घरहरू दृश्यबाट हराए। ऊ हिँडिरहेको छ। सडक केही पुरानो देखिन्छ । सडकका दुवै तर्फका घरहरू एकै किसिमले बनाइएका छन् । सबै घरहरू समान उचाइका छन्। तर ती घरमा कुनै आकर्षण छैन। घरहरू काठका फ्ल्याक ठड्याएर बनाइएका बारले घेरिएका छन्।
ती काठमा फ्ल्याक जोडिएका ठाउँमा बनेका साना साना छिद्रबाट घरहरूको अघिल्लो भाग देख्न सकिन्छ। कुनै घर अगाडि फूलहरू फुलिरहेका छन् भने कुनै घरलाई झारको जंगलले ढाकेको छ।
हिँडदै जाँदा ऊ ए स्ट्रिट नजिकै पुग्छ। सामुन्ने एउटा प्राथमिक स्कुल देखापर्छ। स्कुल छुट्टी भएको छ। बाबु आमाहरू आफ्ना बच्चाको हात समाएर स्कुलबाट बाहिरिँदै छन्। सडक किनाराभरि गाडीहरू पार्क गरिएका छन्। गाडीहरू आउने जाने क्रम जारी छ। त्यहाँ मानिस र गाडीको भिडाम्भिड छ।
ऊ हिँडिरहेको सडक किनारा नजिकै एक जोडी आफ्नो बच्चालाई दुई हातले पिङ खेलाउँदै आइरहेका छन्।
ऊ सम्झन्छ यदि दुर्व्यसनीमा नफसेको भए सायद उसकी प्रेमिकाले उसलाई छोडेर जाने थिइन होला, उसको पनि त्यस्तै बच्चा हुने थियो होला अनि उनीहरू पनि त्यसरी नै बच्चा लिन स्कुल जान सक्थे होला। तर त्यो उसको जीवन होइन। उसले जीवन गोजीमा बोकेको छ। ऊ गोजीमा हात हाल्छ।
जोगीबाट केही घण्टाअघि खान बाँकी रहेको गाँजाको ठुटो निकाल्छ। अनि सल्काएर स्वाट्ट एक सर्को तान्छ। उसको दिमागबाट सबै सम्झनाको ज्वारभाटाहरू हराएर जान्छन्। ऊ फेरि अघि बढ्छ। एकै छिनमा त्यहाँ कोलाहल मच्चिन्छ। मानिसहरू भागभाग गर्न थाल्छन्।
ऊ स्कुलको ठीक अगाडि पुगेको थियो। उसले दुई बच्चा भुइँमा ढलेको देख्यो। एउटा पन्ध्र सोह्र वर्ष जतिको केटो अन्धाधुन्धा बन्दुक पड्काइरहेको थियो। एकाएक पुलिसको साइरन बज्न थाल्यो। त्यो बन्दुक बोकेको केटा उसकै आगाडि आइपुग्यो र अन्धाधुन्दा फायरिङ गर्न थाल्यो। त्यो होमलेस बङ्गरङ्ग भुइँमा ढल्यो। सडक रक्ताम्य भयो। जताततै कोलाहल मच्चियो। प्रहरीका गाडीहरू साइरन बजाउँदै आए र घटनास्थललाई आफ्नो कब्जामा लिए।