कविता
तिम्रो बच्चा सानो छ
एकदिन मेरो बाबले भन्नु भो
छोरी विदेश नजाऊ
यो विदेशको नशा त्यागिदेऊ
आमाले भन्नु भो
यी किताबहरू बन्द गर
अब पढ्ने काम बन्द गर
पढ्नु भन्दा जरूरी
तिम्रो बच्चा सानो छ
श्रीमानले भन्नु भो
यो घुमफिरको रहर नगर
सिनेमा घरको रहर नगर
तिम्रा रुचिका कुराबारे केही नसोच
योग,संगीत, डान्स क्लास केही नभन
मर्निङ वाक जान बन्द गर
अहिले बच्चा सानो छ
सासुले भन्नु भो
भयो काम छाडिदेऊ
पैले परिवार बनाऊ अनि करियर बनाऊ
ससुराले भन्नु भो
प्रगतिपथको यो घमण्ड छोड
बुहारी बनिनौ आमा त बन
एकदिन हाकिमले भन्नु भो
यो कार्यालय छोड्नुस्
हेर्नुस् यो काम तपाईंको बसमा छैन
तपाईंको बच्चा सानो छ
त्यो सहानुभूति थियो या घृणा?
रमाना हुन कर लाग्यो
नयाँ कार्यालय
दिनभरि थकाइ मार्दा मार्दा थकाइलाई पनि थकाइ लाग्ने खालको
विरक्त चल्यो र सोधेँ
किन यसरी थन्क्याएको मलाई निकम्मा सामान जस्तो?
जवाफ आयो तपाईंलाई ठिकै त छ नि?
अब बच्चा हुर्काउनुस्
तपाईंको बच्चा सानो छ
घर, माइती, अफिस,गाउँ समाज सबै तिर
सुनी रहेछु एउटै कुरा
कान पाक्न लागि सके
मन भरिन लागि सक्यो
टाउको भारी भै सक्यो
आँखाहरू कति पल्ट रसाए
कति सुन्ने एउटै कुरा?
आजकाल
यो छोटो जिन्दगीको
थोरै समय
मलाई छिट्टै बितोस् जस्तै लाग्छ
दुई तिहाइ आयु बिति जाओस् र बाँकी एक तिहाइको पालो छिट्टै आओस् जस्तै लाग्छ
तपाईंको भन्दा मेरो रहर भिन्न छ
तपाईंलाई जवान रहिरहन रहर लाग्दो हो
मलाई भने छिट्टै बूढो हुन मन लागेको छ
ताकी मैले मेरो सानो बच्चा ठूलो बनाउन सकूँ
र,
मेरा कैयौं रहरका पोका बिछ्याउन सकूँ
अनगिन्ती सम्भावनाका उडान भर्न सकूँ
स्वतन्त्रताका प्वाँखहरू फिँजाउन सकूँ
तर सँग सँगै एउटा डर पनि छ
त्यो उत्तरार्द्वमा आजको यो ऊर्जा रहला नरहला?
यो उमंग, उत्साह, यो जाँगर, यो हौसला बाँचिरहला नरहला?
बर्सौं सम्म उड्न नपाएका मेरा रहरका पखेँटा
उड्न बिर्सेलान् कि नबिर्सेलान्?