कविता
यो अन्तिम भेट हुनेछ
तिम्रो अनि मेरो
यो भेटपछि
तिमीले मलाई भुल्नु पर्नेछ
मैले पनि तिमीलाई बिर्सिनु पर्नेछ
सदाका लागि एकले
अर्कालाई बिर्सिनु अघि
स्मृतिका पानाहरूमा
एक अर्कालाई थुनेर राख्नु अघि
सधैंका लागि अपरिचित,
अन्जान अनि
अनभिज्ञ बनिदिनु अघि
बाटामा देख्दा पनि
नदेखे झैं गर्नु पर्ने
बाध्यतामा पर्नु अघि
कुमै ठोक्किँदा पनि
अस्तित्वै नमानेर
अघि बढ्ने स्थितिमा पुग्नु अघि
आऊ आज अन्तिम पटक
त्यो पहिलो प्रेम अनि
पहिलो भेटलाई ब्युँताइदिऊँ
तिमी र मैले
पहिलो पटक
एक अर्कालाई देख्दा
हाम्रो ओठमा आएको
प्रेमिल मुस्कान
आँखामा देखिएको मादकता
मनमा उठेका तरंगका छालहरू
विचारमा आएका सुनामी
शरीरमा फुटेका ज्वालामुखी
सबैलाई ब्युँझाइदिऊँ
ब्युँताएर सधैंका लागि
निभाइदिऊँ
रुँदा रुँदै हाँसिदिऊँ
हाँस्दा हाँस्दै रोइदिऊँ
यो अन्तिम भेटलाई
पहिलो भेटजस्तै
अमर बनाइदिऊँ
पहिलो पटक भेट्दै गरेका
नवीन प्रेमी जोडी बनेर
कहिल्यै नमेटिने यादहरू बनाइदिऊँ
कहिल्यै धमिलो नहुने सम्झनाहरू बुनिदिऊँ
यो भेटबाट तिमी आफ्नो
जीवनभरलाई पुग्ने गरी
मेरो स्मृति लैजानु
म पनि तिमीलाई
मन, मुटु, आँखा अनि
मस्तिष्कभरी खाँदेर
कहिले नमेटिने तिम्रो तस्वीर
तिम्रो छाप लिएर जानेछु
तनभरि अनि मनभरि
तिमीलाई सजाएर
भविष्यमा छुट्टिनु पर्दाका गुनासोहरू
समेत फितलो हुने गरी
तड्पिनु पर्दाका पीडाहरू पनि
फिक्का हुने गरी
यो अन्तिम भेटलाई
अविस्मरणीय बनाइदिऊँ
स्मृतिमा अमर बनाइदिऊँ
पहिलो भेटजस्तै