कविता
साना साना खुसीहरूमा पनि
संसारै जिते जस्तो भावातित मुहार
कसैले देख्छ कि भन्दै
‘बा’ ले नेपाल जाँदा
उनैलाई मात्र ल्याइदिएको
रातो मजेत्रोको सप्को भित्र
मुस्कुराउने मन
सधैं झैं,
मिर्मिरेमा
पल्लोघरकी माइलीसँगै
डोकोमा गाग्री माथि
कान्छी छोरी राखेर
बाह्र हाते रातै पटुकीमा
सानो हत्तर च्यापेर
छन् छन् चुराको संगीतमा
ओरालो झर्दै गर्दा
आँसुले पैताला भिजेको चालै पाइनन्।।
गोधुलीले पछ्यौउरी फिजाउँदै गर्दा
गाउँका ‘बा’हरूको भेलाले
तीन वटी कन्या पछि
आँटेको विशेष
धार्मिक अनुष्ठान
कूल दीपकको आशामा
वंश धान्ने विश्वासमा
हिजो मात्रै सात पुगेकी छोरीको कन्यादान
सोच्नै सकिनन् स्रृष्टीले
सुन्नै सकिनन् सिर्जनाले
सहनै सकेन अस्तित्वले
रक्तिम वर्षा भो जगतैभरि
डगमगायो सागर पनि
महाकालीको रूपमा
सदाको मिर्मिरेमा जस्तै
दुर्गा, देवी र लक्ष्मीलाई मुटुमा टाँसेर
विद्रोहको विगुल बजाउँदै
बढिरहिन् एक्लै अनन्तसम्म
अधिकारका लागि,
परिवर्तनका लागि, समानताका लागि
आत्मसम्मानका लागि
नेपथ्यमा रोइरहेथ्यो सहनाई
पछ्याउँदै थिए कलिला मुनाहरू
निचोरिएर राता पछ्यौरीहरू
बन्दै थियो रातो समुन्द्र।।